कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अझै बनेन पुल

डम्बरसिं राई

खोटाङ — जिल्लास्थित अधिकांश सडकका पुल अलपत्र छन् । निर्माण कम्पनीको बेवास्ताले सगरमाथा लोकमार्गअन्तर्गत साप्सुखोला (तल्लो) सडक पुल अझै पूरा हुन सकेको छैन । सरकारको करिब ७ करोड रुपैयाँ लागतमा सन् २०१५ मा सक्नुपर्ने पुल अझै लथालिंग छन् । देवसायर र कान्छाराम जेभी निर्माण कम्पनीले सन् २०१३ मा निर्माण सम्झौता गरेको थियो । यसको प्राविधिक सहयोग स्विस सरकारले गरेको हो ।

पटक–पटक म्याद थपे पनि पुलको काम अझै धेरै बाँकी छ । सम्बन्धित निर्माण कम्पनीले स्थानीय कर्ण खत्रीलाई पेटी ठेक्कामा दिएपछि काम अघि बढ्न नसकेको स्थानीयको गुनासो छ । खत्रीले भने गत वर्षको बाढीले बन्दै गरेको पुल बगाउँदा समय लागेको बताए । ‘गत वर्षको बाढीका कारण काम ढिलो भयो,’ उनले भने, ‘अब छिट्टै काम सकिन्छ, बाढीका कारण करिब १४ लाखभन्दा बढी हर्जाना बुझाउनुपर्‍यो ।’


सगरमाथा लोकमार्गकै फोक्सिङटारस्थित सुनकोसी पुलको काम अझै सकिएको छैन । गौरी पार्वती कन्स्ट्रक्सनले ०७१ चैतमा चार वर्षभित्र सक्ने गरी सम्झौता गरेको थियो । करिब १८ करोड लागतमा सक्ने उक्त पुलको फाउन्डेसनको काम अधुरै छ । निर्माण कम्पनीका अध्यक्ष रामकुमार थापाले भने डिजाइन स्वीकृत गर्नै ढिलाइ भएकाले काम पनि ढिलो भएको बताए । थापाले अर्को चैत–वैशाखभित्र काम सक्ने जनाए । उक्त पुलको प्राविधिक सहयोग स्विस सरकारले गरेकाले बेलामा प्राविधिक नहुँदा समस्या आएको थापा बताउँछन् ।


‘डिजाइन स्वीकृतिमै समय लाग्यो,’ थापाले भने, ‘त्यसमाथि पनि गहिरो नदी, चट्टान फेला पर्नुका साथै भनेका बेला प्राविधिक उपलब्ध नहुँदा समस्या भएको हो,’ थापाले थपे, ‘तैपनि आउने चैत–वैशाखसम्म काम सकिन्छ ।’ त्यस्तै, उदयपुर र खोटाङ जोड्ने धाप्लाङघाटस्थित पुलको काम पनि अपूरै छ । उक्त पुलको अवधि आगामी असारमा सकिने भए पनि करिब १५ प्रतिशत मात्र काम भएको हो । करिब २२ करोड लागतमा सम्पन्न गर्ने गरी स्वच्छन्द निर्माण सेवा कम्पनीले कामको जिम्मा लिएको थियो । उक्त पुल अब अझै डेढ वर्ष लाग्ने कम्पनी सम्बद्ध जयराम लामिछानेले बताए ।


साकेला गाउँपालिका र दिप्रुङ चुइचुम्मा गाउँपालिकाबीचमा पर्ने तावाखोलास्थित सडक पुलको काम हुनै सकेन । सिद्धिशाही निर्माण कम्पनीले गत वर्ष सम्झौता गरे पनि अझै काम सुरु भएको छैन । यसबारे सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँदासमेत अटेर गरेको साकेला गाउँपालिका अध्यक्ष अर्जुनकुमार खड्काले बताए । अब पनि काम नगरे ठेक्का लिने कम्पनीलाई कारबाही गर्न सरकारलाई अनुरोध गर्ने उनले बताए ।


मध्यपहाडी लोकमार्गअन्तर्गत बाँझेच्यानडाँडा–दिक्तेल खण्डका पुल पनि अलपत्रै छन् । यहाँका आठ पुलमध्ये दुइटाको मात्र निर्माण कार्य सकिएको छ । चार पुलको ठेक्का रमण गोल्डेन गुड जेबी कम्पनीले लिएको थियो । चारमध्ये कालिखोला र लप्से खोलाको काम सकिएको छ । दाम्दे र साप्सुखोलाको भने चैतभित्र सकिने निर्माण कम्पनीका साङगे शेर्पाले बताए । भुल्के खोला पुलको ठेक्का लागे पनि धार्मिक तथा पर्यटकीय भुलभुलेलाई असर पर्ने भएकाले काम रोकिएको हो । भालु, छेपे र मेवा खोलाको पुल भने ठेक्कै लागेको छैन ।फोक्सिङटार, साप्सुलगायत अन्य पुल नबन्दा जिल्लाको विकासले समेत गति नलिएको स्थानीय बताउँछन् । जिल्लामा हुने विकास निर्माणका लागि तराईबाट सामग्री ल्याउन समस्या भएकाले सगरमाथा लोकमार्गमा पर्ने सडक पुल विकासको बाधक बनेको हो । स्थानीयले भने ठेक्का लिएर योजना अलपत्र छाडिएकाले त्यसले पारेको असरसहित असुल गर्नुपर्ने माग राखेका छन् ।


सडक पुलकै कारण जिल्लाको विकासमा असर परेकाले ठेक्का लिएर काम नगर्नेलाई कानुनी कारबाही गर्न पहल गर्ने प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले बताए । यसका लागि गृह मन्त्रालयमा अनुरोध गरिसकेको सांसद भट्टराईले सुनाए । ‘ठेक्का लिएर तोकिएको समयमा काम नगर्नेमाथि कारबाही भएरै छाड्छ,’ उनले भने, ‘जनताको मत पाएर सांसद बनेकाले जनताका पक्षमा काम गरेरै छाडिन्छ ।’ ठेक्का लिएर काम नगर्नेले कुनै हालतमा छुट नपाउने उनले बताए ।


साप्सुखोलाको काम सुरु
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङ र साकेला गाउँपालिका–५ मात्तिमबीचको साप्सुखोला (माथिल्लो) को अलपत्र पुल भने निर्माण सुरु भएको छ । दिक्तेल–खोटाङ बजारखण्डअन्तर्गत पर्ने उक्त पुल निर्माण कम्पनीको लापरबाहीले २ वर्षदेखि अलपत्र थियो । जिल्ला प्राविधिक कार्यालयमार्फत नेपाल सरकारको करिब डेढ करोडमा १८ महिनामा सक्ने गरी हरिहरि–गजुरमुखी जेबी कम्पनीले ०७३ वैशाखमा ठेक्का लिएको थियो । ठेकेदारको लापरबाहीका कारण रोकिएको काम पटक–पटकको ताकेतापछि थालिएको साकेला गाउँपालिका अध्यक्ष खडकाले बताए ।


पुलको पेटी ठेक्का लिएका श्याम पोखरेलको बदमासीले समयमा काम हुन नसकेको र अहिले अर्कै व्यक्तिलाई दिएको उनले सुनाए । खडकाका अनुसार पछिल्लोचोटि साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाका सुरज बस्नेतलाई कामको जिम्मा दिएको छ । यसै आवमा पुल सकिने उनले बताए । ‘मौसमले साथ दिए असारसम्म काम सकिनेछ ।’

प्रकाशित : चैत्र १८, २०७५ १३:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?