कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मुगुमा पुगेनन् पाठ्यपुस्तक

राजबहादुर शाही

मुगु — जिल्लामा शैक्षिक सत्र सुरु हुन करिब २ साता मात्र बाँकी रहँदा सामुदायिक विद्यालयको पाठ्यपुस्तक पुग्न सकेको छैन  । नेपालगन्ज र सुर्खेतबाट पुस्तक ढुवानी नहुँदा पुस्तक जिल्लामा आइपुग्न ढिलाइ भएको हो  ।

यहाँका सामुदायिक विद्यालयले वार्षिक परीक्षा सकेर नतिजा प्रकाशन गरिरहेका छन् । फागुन अन्तिम सातादेखि चैत पहिलो साताभित्र पुस्तक नआए जिल्लामा बर्सेनि पुस्तक अभाव हुने गरेको छ । अहिलेसम्म पुस्तक जिल्लामा नपुगेकाले आगामी शैक्षिक सत्रमा पनि विद्यार्थीले किताब नपाउने चिन्ता बढेको छ । हरेक वर्ष समयमै पुस्तक नपाउँदा विद्यार्थी मर्कामा पर्दै आइरहेका छन् । पाठ्यपुस्तक समयमै नपाउँदा पठनपाठनमा समस्या हुने गरेको शिक्षकको भनाइ छ ।


जिल्लामा अझै कसले पुस्तक ल्याउने भन्ने एकिन भएको छैन । कक्षा १ देखि ५ सम्मका पुस्तक नेपालगन्ज र कक्षा ६ देखि १० सम्मका पुस्तक प्रदेश राजधानी सुर्खेतमै थन्किएका छन् । जयलक्ष्मी पुस्तक पसल, केबी स्टेसनरी र क्रिशत्ति स्टेसनरी सेन्टर मिलेर जिल्लामा पुस्तक ढुवानी गर्ने सामान्य छलफल भए पनि टुंगो लाग्न सकेको छैन । छायाँनाथरारा नगरपालिका, सोरु, खत्याड र मुगुमकार्मारोङ गाउँपालिकाले पुस्तक ढुवानीको रकम निकासा नगर्दा निजी कम्पनी अन्योलमा परेका छन् । ‘पुस्तक कसरी ल्याउने ? नगरपालिकाले ढुवानी रकम उपलब्ध गराएको छैन,’ जयलक्ष्मी स्टेसनरीका प्रोप्राइटर जयलक्ष्मी भामले भने, ‘अघिल्लो वर्षकै पुस्तक ढुवानीको रकम नपाउँदा घाटा सहनुपरेको छ ।’ सरकारले शैक्षिक सत्र सुरु हुनुभन्दा १ महिनाअगाडि नै पुस्तक जिल्लामा पुर्‍याइसक्नुपर्ने भन्ने नियम बनाए पनि जिल्लामा विविध कारणले ढिलासुस्ती भइरहेको उनको भनाइ छ । दोस्रो चौमासिकमा पुस्तक ढुवानीको रकम निकासा दिने भए पनि प्राविधिक कारणले लेखा शाखामा रोकिएको नगरपालिकाका शिक्षा अधिकृत ललिजंग मल्लले बताए ।


जिल्लामा १ सय ४१ सामुदायिक विद्यालय छन् । सामुदायिक विद्यालमा माध्यमिक तहसम्म करिब १६ हजार विद्यार्थीका लागि नयाँ पाठ्यपुस्तक ल्याउन आवश्यक रहेको शिक्षा विकास तथा समन्वय एकाइले जनाएको छ । छिटो पाठ्यपुस्तक ढुवानीको पहल भइरहेको एकाइ प्रमुख सूर्य खत्रीले बताए । उनले स्थानीय तहले ढुवानीको रकम निकासा नदिएका कारण समस्या भएको बताए । ‘स्थानीय तहले निकासा छिटो दिए पाठ्यपुस्तक ढुवानीमा सहज हुन्थ्यो,’ उनले भने, ‘निकासाका लागि हामीले स्थानीय तहमा अनुरोध गरेका छौं ।’

प्रकाशित : चैत्र १८, २०७५ १३:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?