कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अर्धजंगली चौपायाले समस्या

गोविन्द पोखरेल

सुनसरी — कोसीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रभित्र हजारौंको संख्यामा अर्धजंगली गाईभैंसी छन् । ती आरक्षभित्रै बस्छन्, त्यहीँ चर्छन् । गाउँ फर्कन्नन् । जंगलमै ब्याउँछन्, बाच्छा, पाडा हुर्काउँछन् । अर्धजंगली चौपायाको संख्या १० हजार पुगेको आरक्षका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए । यस्ता चौपाया आरक्षको पश्चिमीे सिमाना क्षेत्रमा बढी छन् ।

अर्धजंगली चौपायाले समस्या

अर्धजंगली गाईभैंसीका कारण आरक्षमा वन्यजन्तुलाई चाहिने आहारा अभाव हुँदै गइरहेको छ । आरक्ष क्षेत्रमा शाकाहारी जन्तुको संख्या धेरै छ । ४ सय ४१ वटा अर्ना, एक दर्जनभन्दा बढी हात्ती, ५० देखि ६० को हाराहारीमा नीलगाईलगायत छन् । आहारा नपाउँदा जंगली जनावर गाउँ पस्ने गरेका छन् ।

कम क्षेत्रफल, सीमित खाना र धेरै जनावरका कारण खानाका लागि आरक्षमा प्रतिस्पर्धा बढेको आरक्षका प्रमुख संरक्षण अधिकृत एवं वार्डेन रामदेव चौधरीले बताए । अर्धजंगली चौपायाका कारण जंगली जनावरको बासस्थानमा समेत असर पुगेको छ ।

अर्धजंगली गाईभैंसीहरू आरक्ष क्षेत्रमा चरिचरन गर्दा अर्नामा रोग सर्ने तथा आनुवंशिक क्षयीकरण हुने सम्भावना बढेको छ । सरकारले आरक्ष क्षेत्रभित्र रहेका यस्ता चौपायालाई लिलामी गर्ने बाटो खोलिदिए समस्या तत्काल हट्ने चौधरीले बताए ।

यसरी बढे चौपाया
आरक्ष क्षेत्रमा छाडा चौपायाको समस्या स्थापनाकालदेखिकै हो । त्यति बेलैदेखि स्थानीयले बूढा र काम नलाग्ने चौपाया जंगलमा छाडिदिन्थे । तिनले त्यहीँ प्रजनन गरेसँगै संख्या बढ्यो । दुई/तीन पुस्ताले जंगलमै बिताइसकेका छन् । यिनै चौपायालाई अर्धजंगली भनिएको आरक्षका सूचना अधिकारी तिवारीले बताए ।

वन्यजन्तुलाई खाना अभाव हुँदै गएपछि आरक्षले यस्ता चौपाया नियन्त्रणका लागि बन्ध्याकरणको योजना अगाडि बढाएको छ । वार्डेन चौधरीका अनुसार आरक्षभिक्र रहेका अर्धजंगली गोरु/राँगालाई बन्ध्याकरणका लागि माथिल्लो निकायमा कार्यत्रम पेस गरिएको छ । यतिको संख्याका चौपाया आरक्षबाट हटाउन सरकारले नै कानुन बनाउनुपर्ने उनले बताए । हाल नेपालमा गाई/गोरु लिलामी गर्ने कानुन छैन ।

आरक्षले चौपाया छाड्नेलाई जरिवाना तिराउन थालेपछि केही कमी भने आएको छ । लुकिछिपी चरिचरनका लागि आरक्षभित्र चौपाया छाडिने क्रम पनि सोलार फेन्सिङका कारण घटेको छ । कोसीटप्पु वन्यजन्तु आरक्षको ५३ प्रतिशत भाग घाँसे मैदान, १० प्रतिशत जंगल र ३७ प्रतिशत नदी तथा बलौटे क्षेत्र छ ।

प्रकाशित : चैत्र १८, २०७५ १३:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?