कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

धेरैजसो बिरामी खतरामुक्त

अतुल मिश्र

काठमाडौँ — बारा तथा पर्साको शक्तिशाली हुरीमा परेर गम्भीर घाइते भएका २ जनाको अंग नै काट्नुपरेको छ  । त्रिवि शिक्षण अस्पताल ल्याइएका ५९ वर्षीय मोहम्मद मियाँको बायाँ खुट्टा काट्नुपरेको छ भने वीरगन्जको नेसनल मेडिकल कलेजमा उपचाररत ३५ वर्षीय अम्बिका चौरसियाको बायाँ हात नै काट्नुपरेको छ  ।

धेरैजसो बिरामी खतरामुक्त

मियाँको शल्यक्रिया सोमबार राति सुरु भएर मंगलबार बिहान सकिएको थियो । शिक्षण अस्पतालमा उपचारका लागि ९ जना ल्याइएका थिए ।


‘मोहम्मद मियाँको ज्यान जोगाउन खुट्टा काट्नुपर्‍यो, ४ जनालाई शल्यक्रिया वा अन्य उपचार प्रक्रिया अपनाउनुपर्नेबारे हामी छलफलमा छौं, बाँकी ४ जना ठीक छन्,’ शिक्षण अस्पतालका निर्देशक डा. प्रेम खड्काले कान्तिपुरसँग भने । हावाहुरी प्रभावित १ हजार ४४ बिरामी अस्पताल पुगेका छन् । विशेषज्ञ चिकित्सकसहितको टोलीसँग मंगलबार वीरगन्ज पुगेकी स्वास्थ्य सचिव डा. पुष्पा चौधरीले नयाँ बिरामी नथपिएको बताइन् ।

‘कुनै नयाँ रोगी थपिएका छैनन्, स्वास्थ्य उपचारको दृष्टिकोणले स्थिति पूर्ण नियन्त्रणमा छ,’ उनले भनिन्, ‘साधारण चोटपटक/घाइते, अब्जर्भेसनमा राखिएकाहरू अस्पतालबाट डिस्चार्ज भइरहेका छन्, मेजर शल्यक्रिया गर्नुपर्ने, जटिल स्थितिका मात्र भर्ना छन् ।’ हावाहुरी प्रभावित करिब ३ सय ५० बिरामी अझै उपचाररत छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठका अनुसार तीमध्ये जटिल शल्यक्रिया, अंग काट्नुपर्ने, मस्तिष्कमा असर परेको, स्नायु प्रभावित भएको, जटिल अवस्थालगायतका गरी सिकिस्त अवस्थाका बिरामी करिब ६० जना छन् ।

‘अहिले स्नायु शल्य चिकित्साको दृष्टिले हेर्दा स्थिति नियन्क्रणमा छ, धेरैजसो बिरामी खतरामुत्त अवस्थाका छन्,’ केन्द्रबाट वीरगन्ज गएका विशेषज्ञ चिकित्सा टोलीका न्युरो सर्जन डा. नीलम खडकाले भने, ‘केही प्रभावितको शल्यक्रिया भइसकेको छ भने केहीको सामान्य हेड इन्जुरी छ । केहीलाई अब्जर्भेसनमा राख्नुपर्छ, आईसीयूमा भएकाहरूसमेत खतरामुक्त छन् ।’


केन्द्रबाट वीरगन्ज गएका विशेषज्ञ चिकित्सा टोलीका अर्थोपेडिक सर्जन डा. सुवास कर्णका अनुसार हाड जोर्नीसम्बन्धी बिरामीहरूको अवस्था जटिल छैन । जटिल बिरामी काठमाडौं रिफर गरिएको छ । ‘हामीकहाँ हाल एक ४ वर्षीय बच्चामात्र जीवनमरणको दोसाँधमा छन्, हात काट्नुपरेका बिरामीको स्थिति स्थिर छ,’ नेसनल मेडिकल कलेजका डा. कौशल सिंहले भने । उनका अनुसार छाती तथा पेटमा चोटपटक, हाड भाँच्चिएको र आन्द्रा बाहिर निस्केको अवस्थामा ती बच्चालाई अस्पताल ल्याइएको थियो ।


सबैभन्दा बढी हावाहुरी प्रभावित ३ सय ४८ जना कलैया अस्पतालमा पुगेका थिए । ५० शय्याको अस्पतालमा हावाहुरीले ज्यान गुमाएका १८ जनालाई समेत पुर्‍याइएको थियो । तर अस्पतालमा एक जनाको पनि मृत्यु नभएको चिकित्सकहरू दाबी गर्छन् । हाल कलैया अस्पतालमा १६ जना बिरामी भर्ना छन् । ती सबै खतरामुक्त छन् ।

‘हामीकहाँ आउने धेरैजसो सामान्य चोटपटक लागेकाहरू थिए,’ अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. त्रिभुवनचन्द्र झाले भने, ‘गम्भीर अवस्थामा आएका ८ जनालाई तत्काल उपचार दिई वीरगन्ज र २ जनालाई काठमाडौं रिफर गर्नुपर्‍यो ।’

कलैया अस्पतालमा एक जना चोटपटक लागेका व्यक्तिको श्वास नलीमा थुप्रै मात्रामा गुटखा अडकिएको पाइएको थियो । गुटखालाई सक्सन (तानेर) गरेर निकालिएपछि श्वास नलीलाई सफा गरेर भेन्टिलेटरमा राख्न वीरगन्जस्थित नेसनल मेडिकल कलेजसमेत पठाइएको थियो ।


‘एक्कासि आइतबार रातिदेखि टाउकोमा चोट लागेको, हाड भाँच्चिएको, दबिएर/कुल्चिएर श्वासप्रश्वासको समस्या भएकाहरू र धेरै केस जाडोले काम्दै गरेका (हाइपोथर्मिया) आएका थिए,’ डा. झाले भने, ‘८ चिकित्सक, ८ पारामेडिक्स र ११ नर्सलगायतका जनशक्तिले दिनरात उपचार गरे पनि जनशक्तिको समस्यासमेत देखिएको थियो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता श्रेष्ठ हावाहुरी प्रभावित क्षेत्रमा अन्य सामान्य बिरामी ५–७ दिनमा फर्कन सक्छन् । केही बिरामी लामो समय अस्पतालमै बस्नुपर्ने स्थितिसमेत आउन सक्ने उनले बताए ।

यसैले स्वास्थ्य मन्त्रालयले बुधबार प्रभावित क्षेत्रमा फिजियोथेरापी र साइकोसोसल काउन्सेलिङका विज्ञहरूलाई पठाउन लागेको छ । स्वाथ्य मन्त्रालयका अनुसार प्रभावित घाइतेमध्ये थप एक जनाको मंगलबार मृत्यु भएको छ । हालसम्म २८ जनाको मृत्यु भएको छ ।

प्रकाशित : चैत्र २०, २०७५ १०:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?