कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हुरीपीडित भन्छन्– स्थायी व्यवस्थापन होस्

बारा — शक्तिशाली हुरीबाट घरबारविहीन बनेका बाराका पीडितले आफूहरूलाई स्थायी व्यवस्थापन गर्न सरकारसँग आग्रह गरेका छन्  । उनीहरूले वर्षात्ले थप समस्या हुने भन्दै स्थायी पक्की संरचनाको माग गरेका हुन्  ।

हुरीपीडित भन्छन्– स्थायी व्यवस्थापन होस्

वर्षामा अस्थायी घर (टेन्ट) ले धान्न मुस्किल हुने उनीहरूको भनाइ छ । प्रत्येक वर्षात्का बेला डुबानको समस्या खेप्दै आएको फेटा गाउँपालिका १ भलुहीका राजेन्द्र दासले पक्की संरचना भए मात्र सुरक्षित हुने बताए । ‘पहिले घरमा राखिएको अन्नपात, लत्ताकपडा जेनतेन गरेर जोगाउँथ्यौं,’ उनले भने, ‘मुसलधारे बर्खाबाट जोगिन ओत लाग्ने ठाउँ आफ्नो घर थियो ।’

यसपालि ओत लाग्न घर पनि बचेन । यहाँको बर्खालाई टेन्टले धान्न सक्दैन । कहिलेकाहीँ वर्षा सातासम्म पनि रोकिँदैन । पानीले धेरैको फुसको घर भासिने, ढल्ने गर्थ्यो । ‘घरले धान्न नसक्ने बर्खा र हावाहुरीलाई टेन्टले कसरी धान्छ ? यदि हामी पीडितलाई सरकार सहयोग गर्न चाहन्छ भने छिटोभन्दा छिटो भत्केको घर पुनर्निर्माण गर्न तत्कालै योजना अगाडि बढाओस्,’ राजेन्द्रले भने ।


उनी अहिले हावाहुरीले भत्काएको आफ्नै घरको पिलरले किचिएर ज्यान गुमाएका बुबा हरिनारायणको किरियामा बसेका छन् । सोही दुर्घटनामा परी गम्भीर घाइते भएकी उनकी श्रीमती लालसा देवी उपचारका लागि नेसनल मेडिकल कलेज वीरगन्ज भर्ना भएकी छन् । हावाहुरीले घरमात्रै नभई परिवारै तहसनहस पारिदिएको उनले बताए । बुबाको किरियामा टाढा–टाढा रहेका आफन्तलाई बोलाएर गाउँमा ठूलो भोजभतेर गर्ने चलन छ । अहिले घरमा आएका आफन्त पनि टेन्ट, त्रिपालमा बस्न बाध्य छन् ।

‘आफूलाई बस्ने घर छैन, आफन्तलाई कहाँ राख्ने ?’ उनले भने, ‘आफन्त पनि टेन्टमा बसेर दुःख झेलिरहेका छन् ।’ उनीहरूले पनि बुबाको काम सकेर तत्कालै घर निर्माण सुरु गर्न सुझाव दिएको उनले बताए ।


फेटा–६ पुरैनियाकी नजमा खातुनले पनि चाँडो घर निर्माणका लागि सहयोग गर्न सरकारसँग माग गरिन् । भत्केको घरले किचेर शरीरका विभिन्न भागमा चोट लागेर घाइते भएकी उनले घर नबनेसम्म आफूहरूलाई बस्न समस्या हुने बताइन् । टेन्ट त्रिपालले यहाँको मुसलधारे बर्खालाई धान्न नसक्ने उनको पनि भनाइ छ । उनको परिवारका १० सदस्यमा धेरैजसो कलिला बालबालिका छन् । बर्खाको पानीले भिजेर बालबच्चाहरू बिरामी हुने सम्भावनासमेत बढेको उनले बताइन् । ‘बर्खाको पानीले चारैतिरको फोहोर ल्याएर टेन्टमै थुपारिदिन्छ,’ उनले भनिन्, ‘अहिले घरले किचेर मरेका पशुले गाउँ क्षेत्र दुर्गन्धित छ ।’ बर्खा सुरु भएपछि शौच गर्न, शुद्ध पानी खान, लत्ताकपडा जोगाउन धेरै समस्या हुने उनले बताइन् ।


फेटा गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृत सुशील यादवले चाँडै घर नबने पीडित मात्र होइन, सबै गाउँवासीले महामारीको सामना गर्नुपर्ने बताए । ‘बर्खाले विगतमा मच्चाउँदै आएको वितण्डा हामीले देखेका छौं,’ उनले भने, ‘सबैले अहिले मानव क्षतिमात्र नियाल्ने गरेका छन्, घरसँगै पुरिएका चौपाया, अन्नबालीलाई कसैले देखेको छैन ।’

स्थानीय सरकारले हावाहुरीले उब्जाएको समस्याभन्दा बढी महामारी झेल्नुपर्ने अवस्था आउन सक्ने उनले जिकिर गरे । बर्खा सुरु भएपछि खेतमै नष्ट भएको गहुँ, मुसुरोलगायतका अन्न कुहिने क्रम सुरु हुन्छ । खेतको आलीमा लुकेर बसेका विषालु सर्प बस्तीतिर आउने र सर्पदंशको घटनाले भयावह स्थिति सिर्जना हुने यादवको भनाइ छ । आउने दिनमा उत्पन्न हुने समस्या समाधानका निम्ति अहिल्यैदेखि स्थायी घर निर्माण सुरु गर्नुपर्नेमा उनको जोड छ ।


'किस्ता' को चिन्ता
परिवारजन, गाँस, बास र कपास खोसिएका हावाहुरी प्रभावित क्षेत्रका स्थानीयलाई लघुवित्त (गाउँमा सञ्चालनमा रहेका साना बैंक) बाट लिएको ऋणको किस्ता कसरी तिर्ने भन्ने चिन्ताले थप सताउन थालेको छ । ‘मर्ने मरेर गइहाले, घरको काम गर्ने सदस्य पनि घाइते छन्, यस्तोमा किस्ता कसरी तिर्ने ?’ फेटा भरबलियाकी प्रमिला देवी प्रश्न गर्छिन्, ‘अहिले त हातमुख जोर्नै समस्या छ, बसोबासको ठेगान छैन ।’

बारा र पर्साका प्रभावित क्षेत्रका अधिकांश महिलाले समूह बनाएर आर्थिक उपार्जनका लागि विभिन्न लघुवित्तसँग ऋण निकालेका थिए । राहत लिएर आएका गाउँपालिकाका कर्मचारी वा सञ्चारकर्मीसँग महिलाले किस्ताका बारेमा जिज्ञासा राख्न थालेका छन् । समयमा किस्ता नबुझाउँदा तिर्नुपर्ने चर्को ब्याजको पीरले उनीहरूलाई सताउन थालेको छ । लघुवित्तले गाउँ/टोलमा समूह बनाएका महिलाको रोहवरमा बिनाधितो ऋण प्रवाह गर्ने गरेका छन् ।

त्यस्तै एक समूहकी प्रमुख प्रमिला देवीका अनुसार ऋण लिएका महिला किस्ता तिर्न सक्ने अवस्था छैन । ‘समयमा नतिरे चर्को जरिवाना थपिनेछ,’ प्रमिला भन्छिन्, ‘काम गर्ने अवस्था नभएकाले कम्तीमा पनि दुई महिनाको किस्ता मिनाहाका लागि सरकारले पहल गरिदिनुपर्छ । नक्र ब्याजको चत्रमा गाउँ नै फस्छ ।’


भरबलियाकै घुनिया देवीका छोराले सेनेटरीको कामका लागि गत वर्ष मोतीसरमा सञ्चालनमा रहेको एक लघुवित्तसँग ३ लाख रुपैयाँ ऋण लिएका थिए । आइतबारको हावाहुरीमा घुनियाको खपडाको घरमा पूर्ण क्षति पुगेको छ । मानवीय क्षति नभए पनि भौतिक क्षतिले घुनियाको परिवारलाई घरबारविहीन बनाएको छ । खाद्यान्न नष्ट भएको छ । हावाहुरीले भाँडाकुँडासमेत उडाएको छ । ‘१२ जनाको परिवार पाल्नै गाह्रो छ, यस्तो बेला किस्ता रकम कसरी जम्मा गर्ने,’ उनले भनिन्, ‘भगवान्ले यस्तो विपत् ल्याए, सहन त पर्‍यो नै ।’


भलुहीका धर्मेन्द्र महतोले घर बनाउने बेला गाउँको एक लघुवित्तबाट ५ लाख रुपैयाँ ऋण लिएका थिए । हावाहुरीले घरकै इँटा उछिट्टिएर उनको टाउको फुट्यो । ३ दिन अस्पतालमा उपचार गराई उनी बुधबार गाउँ फर्किएका छन् । ‘हावाहुरी आएका बेला घरको छतमा रहेका दाइ उछिट्टिएर खेतमा लडे, अझै अस्पतालमै छन्,’ महतोले भने । उनका अनुसार विपत्ति अगाडि प्रत्येक महिना समयमै किस्ता तिरिँदै आएको थियो ।

‘घाइते भएको अवस्थामा काम गर्न सकिन्न,’ उनले भने, ‘केही पैसा अस्पतालमा पनि खर्च भएको छ । चामल, लत्ताकपडा, भाँडाकुँडा सबै हावाले उडाएकाले किन्नुपर्नेछ ।’ यस्तो परिस्थितिमा सरकारले पहल गरेर प्रभावित क्षेत्रका स्थानीयलाई आर्थिक मद्दत गर्नुपर्नेमा उनले जोड दिए ।


ठाकुरराम बहुमुखी क्याम्पस वीरगन्जका समाजशास्त्रका प्राध्यापक स्थानीय वीरेन्द्रप्रसाद साहले यो समाज न त न्यून वर्गीय, न त मध्यमवर्गीय रहेको टिप्पणी गर्छन् । काम गरी जम्मा गरेको पैसा नै किस्ताका रूपमा स्थानीयले लघुवित्तलाई बुझाउने गरेका थिए । ‘यहाँको समाजको चरित्र कृषि र सिजनल रोजगारका लागि वीरगन्ज आसपासका क्षेत्रमा निर्भर छ,’ साह भन्छन्, विपत्मा घर ढलेका छन्, भकारी नष्ट भएका छन्, खेतको बाली सखाप छन् । यस्तो बेला काम गरेर किस्ता तिर्ने वातावरण नै छैन ।’

आर्थिक उपार्जनका लागि लघुवित्तबाट ऋण लिएर जेनतेन जीवन धानिरहेका समुदायलाई अहिले विपत्ले ठूलो संकटमा पारेको उनको बुझाइ छ । साहले लघुवित्तले जरिवाना नलिने वा सरकारले प्रभावित क्षेत्रका स्थानीयको कम्तीमा दुई किस्ता तिरे आर्थिक सहयोग हुने बताउँछन् ।


सामान्य बन्दै
इस्लामिक कार्यक्रम ‘जमात्’ मा तीन महिनादेखि रौतहट बसेका फेटा–६, पुरैनियाका ७० वर्षीय इजहार मियाँ सोमबार बिहान घर पुगे । भत्केको घर देख्दा होस गुमाए, टोलाउन थाले । भन्न थाले, ‘घरभित्रै छन् मीना, सकिमा र नातिनीहरू ।’ छिमेकीले सम्हाल्दै सान्त्वना दिन थाले । उनको होस आएन । अन्तिममा उनलाई ५ किमि टाढा कलैया उपमहानगरपालिका ११, घोघलडीयास्थित छोरी रविनाको घरमा पुर्‍याइयो । तीन दिनसम्म होसै रहेन । चौथो दिन बिहीबारदेखि केही होसमा आएका छन् । ‘घरमा चार जनाको मृत्युको खबर सहनै सक्नुभएन,’ इजहारका ज्वाइँ रुस्तम अन्सारीले भने, ‘चौथो दिनमा केही सुधार छ ।’

घर आउँदासम्म इजहारकी पत्नी मीना खातुन, बुहारी सकिमा, छोरीपट्टिका नातिनीहरू रुक्सार र समसिदाको शव अस्पताल पुगिसकेको थियो । छोरा हैदर अली घाइते भएका थिए । छोरापट्टिका १२ वर्षीय नाति शनिबार फुपूलाई बोलाउन गएकाले मात्र आइतबारको विनाशकारी हुरीबाट जोगिए ।


सोही ठाउँका ५५ वर्षीय फेजुल हक मियाँ ठकुराईले पत्नी मोस्तकिमा खातुन र बुहारी ग्यासु मियाँ ठकुराई गुमाउँदाको पीडा तीन दिनसम्म थाम्न सकेनन् । चौथो दिनदेखि बल्लतल्ल कुरा गर्न सकेका छन् । विनाशकारी हुरीको त्रास खप्न नसकेका स्थानीय बासिन्दा घटनाको तीन/चार दिनसम्म ढुक्कले बस्न सकेनन् । त्रासै–त्रासमा दिनरात काटे । अब भने अवस्था सामान्य बन्दै गएको छ । परिवारमा सदस्य गुमाउनेहरू विस्तारै होसमा आउँदै छन् । घाइतेहरू अस्पतालबाट फर्किने क्रममा छन् । ‘अचम्मको आँधीले गाउँलेको होस नै गायब गरिदियो,’ उद्धारमा खटिएका स्थानीय समी महम्मद मियाँले भने, ‘विस्तारै त्रास हटदै छ, पीडितहरू भत्केको घर मिलाउन थालेका छन् ।’

प्रकाशित : चैत्र २२, २०७५ ०८:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?