कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१३

पाली बचाउमा ४० वर्ष

देवेन्द्र भट्टराई

ललितपुर — बाबु पूर्णबहादुर र आमा वीरमायाका १३ सन्तानमध्येका कान्छा दुण्डबहादुर बज्राचार्यलाई चिनाउने बोलीचालीको प्रिय नाम हो, सानुभाइ । 

पाली बचाउमा ४० वर्ष

ललितपुर, गाबहालको रत्नाकर महाविहारको आडैमा उभिएको एउटा घर आफैंमा सानो संसारझैं छ । ७२ वर्ष लागेका सानुभाइ कतिपयका लागि यो घरमा ‘कुवाको भ्यागुतो’ झैं देखिन्छन् । गाबहालको यो कुवामै उनले गर्नु काम गरेका छन्, बनाउनु नाम बनाएका छन् ।


वंश परम्परामै महायानी बज्राचार्य परिवारका सबैजसो सदस्य नेपालभाषा र संस्कृत भाषासमेतका विज्ञ थिए । बुबा पूर्णबहादुर घरमै ‘सत्संग’ गराउँथे । भारतीय विद्वान् राहुल सांस्कृत्यायनदेखि श्रीलंकाली विद्वान् जीपी मलालाशेकरासम्म र अरू ठूला भन्ते, भिक्षु पनि घरेलु बैठकमै आएर प्रवचन दिइरहन्थे । बौद्ध धर्मको प्रज्ञापारमिता र संस्कृत शिक्षाबारे कक्षा लिइरहेका हुन्थे । औपचारिक पढाइ छाडेर बाबुले घरमै शिक्षक राखिदिएका थिए । अंग्रेजी गुरु थिए, आशाराम शाक्य, गणितमा छत्रराज शाक्य र संस्कृतमा मंगलानन्द राजोपाध्याय ।


स्वअध्ययनकै भरमा सानुभाइले २०२२ सालमा त्रिपद्म विद्यालयबाट एसएलसी गरे । त्यसपछि त्रिचन्द्र हुँदै साइन्स, आर्ट्समा उच्च शिक्षा लिए । कानुनमा पनि स्नातक भए । ‘पढाइ र बुझाइका क्रममा केही वर्षमा पीएचडी गरेर नामअघि डाक्टर लेखाए पनि ज्ञानको सही गुदी भने आलोचना नै हुने रहेछ भन्ने मैले बुझें,’ परिपक्व बोलीमा सानुभाइ भन्दै थिए, ‘अझ बुद्ध र बौद्ध दर्शन भनेको धर्म मात्रै होइन, जीवन दर्शन हो रहेछ भन्ने मैले बुझें । हामीकहाँ रोटी–कपडा–मकानका लागि बौद्ध दर्शन र धर्म पढाइने गरेको रहेछ भन्ने थाहा भयो ।’


यो बुझाइपछि आफ्नै यत्न र सिकाइबाट संस्कृत हुँदै पाली भाषाका जानकार भएर निस्किए, सानुभाइ । जानकार मात्रै होइन, विज्ञ नै बने । ‘संस्कृत भनेको विद्वानको भाषा हो, पाली भनेको आम जनताको भाषा हो,’ आफ्नो बुझाइबारे सानुभाइ भन्छन्, ‘पाली भनेको एकदमै सजिलो भाषा हो, अझ संस्कृत जान्नेले त ३/४ महिनामै यो भाषा सिक्न सक्छ । संस्कृतभन्दा पाली सजिलो छ । संस्कृतमा बहुवचन छ, पालीमा छैन । तर, अधिकांश विद्यार्थी पाली भाषा भनेपछि तर्किएर हिँड्छन् । किन हो, थाहा छैन ।’


बुद्ध वाणीको ग्रन्थ ‘इतिबुत्तक’ लाई पाली भाषाबाट पहिलोपटक नेपालभाषामा अनुवाद गरेपछि उनले पहिलोपटक त्यो काम भिक्षु सुदर्शनलाई देखाएका थिए । भिक्षु सुदर्शन त्यो कामबाट खुसी मात्रै भएनन्, सानुभाइको भाषिक/अनुवाद क्षमताबाट प्रभावित भएरै ‘त्रिपिटक’ अनुवाद गर्नका लागि हौस्याए पनि ।


त्यो २०४० सालको कुरा थियो । सानुभाइकी आमा वीरमायाको निधनको शोक परिवारमा छाएको थियो । बौद्ध धर्म र नेपालभाषाको अपनत्वमा उनिएर सानुभाइले शोककै घडीमा प्रण गरे, ‘आमा, म तपाईंकै भाषामा सम्पूर्ण बुद्धवचन अनुवाद गरिदिन्छु ।’ नभन्दै त्रिपिटकअन्तर्गत सुत्तपिटकको प्रथम निकाय ग्रन्थ ‘दीर्घनिकाय’ आमाको काजकिरियाको ४५ दिने अवधिमै उनले अनुवाद गरिभ्याए । यो कामबाट भिक्षु सुदर्शन दंगदास बनेका थिए ।


पछि एउटा अनूदित कृतिको भूमिकामा लेखिएको थियो, ‘बुद्ध जन्मेको देश नेपालका बासिन्दाहरूले बुद्ध धर्मको अध्ययन गर्न चाहेमा बर्मा, श्रीलंका, थाइल्यान्ड आदि बौद्ध देशमा जानुपर्ने स्थिति थियो । तर, भाइ दुण्डबहादुरको अथक परिश्रमको फलस्वरूप बुद्ध धर्मका मूल एवं प्रामाणिक आधार त्रिपिटकअन्तर्गतका सुत्तपिटकका दीर्घनिकाय, मज्झिमनिकाय, संयुक्तनिकाय र खुद्धकनिकायका इतिवृत्तक तथा विपिटकेतर ग्रन्थ मिलिन्द–प्रश्न आदि ग्रन्थहरू एकपछि अर्को नेपालभाषाका पाठकसमक्ष प्रस्तुत भइरहेको छ ।’


मन–वचन–कर्ममा 'पाली’

सानुभाइका अध्ययनमा, नेपाली भाषाको मूल भनेकै पाली हो । यसमा गहिरिएर अध्ययन हुन सकेकै छैन । पाली भाषामा जेजति शब्दावली छन्, त्यो नेपालीसँग एकदमै निकट छ । ‘नेपाली भाषाको उत्पत्ति थलो भनेर खस राज्य, खस भाषा भनिन्छ । तर, खस भाषा भनेकै पालीको निकटवर्ती हो । खस राजाहरू बौद्ध धर्ममा आफैं प्रतिबद्ध थिए । बुद्धगयाको प्रतीक पञ्चदेवल उबेलाको खस राज्य (दैलेख) मै छ । जुम्लामा बुद्धका मूर्तिहरू यत्रतत्र छन्,’ सानुभाइ भन्छन् । उनका अनुसार शब्दावली हेर्दा ‘घरबास’ पाली हो, यसैबाट घर आएको हो ।


‘जून’ पाली शब्द हो, जुनेली रात वा चन्द्रमा सम्बन्धित शब्द हो । अंक गणनामा ‘एक कम’ भनेको ‘उनन्’ हो । उनन्पचास, उनन्चालिस आदि भनेको एक कम ५०, एक कम ४० हो । यो पालीकै शब्दार्थ हो । सानुभाइका अनुसार, पाली भाषाको प्रचार र प्रभाव श्रीलंका, कम्बोडिया, थाइल्यान्ड, बर्मा, लाओसतिर बढी छ ।


त्यहाँ अध्ययन अध्यापन निकै छ । महायानीहरू भने नेपाल, तिब्बत, जापान, कोरियातिर बढी छन् जहाँ बुद्धिजममा संस्कृतको प्रभाव बढी छ । ‘नेपालका निम्ति पाली एकदमै नयाँ विषय छ । पाली व्याकरण भर्खरै नेपालीमा आएको छ । म बुद्धकालीन पाली कोष र इन्साइक्लोपेडियामाथि काम गर्दैछु । पाली अध्ययन केन्द्र खोल्ने प्रयासमा छु,’, उनी भन्छन् ।


‘थेरमवाद बुद्धिजम्’ हाम्रो देशको होइन भन्ने छ, जबकि यही धर्म दर्शनको ऐतिहासिक दस्तावेज हामीसँग छ । ‘ओल्डेस्ट म्यानुस्क्रिप्ट अफ पाली अर्काइभ’ भनेर भेटिएको सामग्री हाम्रै पुरातत्त्व विभागमा छ । जर्मन विद्वान् सिसिल बन्डलले सन् १८९९ मै एउटा अनुसन्धानबारे भनेका रहेछन्, यो प्राचीन पाली अभिलेख नेपालमै छ ।


‘विनयपिटक’ कृतिको ४ पृष्ठ (८ पाना) आज पनि पुरातत्त्वमा संगृहीत छ । यो पुस्तकको अंश खोज्ने काम ताइवान, चीन, थाइल्यान्ड सबैतिर भइरहेको छ । तर, भेटिएको छैन । ‘चिनियाँ शासक चाङ काई सेक उन्नाइसौं शताब्दीको सुरुवातमा चीनबाट भाग्दा यो ग्रन्थ आफूसँगै लिएर गएको भन्ने अनुमान छ, यसको अंश ताइवानमा छ भन्ने विश्वास छ,’ सानुभाइ आफ्नो सोधअनुसार भन्छन् ।


सानुभाइ पाली भाषाको संसार पहिल्याउन लागिपरेको ४० वर्ष भइसकेको छ । उनी पाली ग्रन्थहरूको अनुवाद आफ्नै साधन स्रोतबाट गरिरहेका छन् । घरको माथिल्लो तलामा ‘वीर–पूर्ण पुस्तक संग्रहालय’ खोलेका छन् जहाँ देश/विदेशबाट ल्याइएका पाली, संस्कृत र नेपालभाषा विशेषका बौद्धमार्गी पुस्तक मात्रै ३५ हजारभन्दा बढी संकलित छन् । हस्तलिखित कृति/सामग्री पनि दर्जनौं छन् ।


‘अरूबाट आर्थिक सहयोग लियो भने आफैं तल परिन्छ । पाली कृति संकलन, अनुवाद, प्रकाशन र वितरणमा मात्रै वर्षको १० लाख रुपैयाँसम्म खर्च गर्ने गरेको छु,’ उनी भन्छन् । यो ‘प्यासन’ का माझ सानुभाइ गुगल ट्रान्सलेसनमा पनि लागेका रहेछन् । पालीबाट सिधै नेपालीमा अनुवाद गर्न सकिन्छ कि भनेर लागेका रहेछन् । तर, पाली–नेपाली शब्दकोश अभावले काम हुन सकिरहेको छैन । पाली भाषाका विज्ञहरू पनि खोजिएको हो । उनले भारत, श्रीलंकामा पनि विज्ञहरू खोजेका हुन् । तर, सबैतिर संस्कृतका विद्वान् मात्रै भेटिए, पालीका भेटिएनन् ।


उनले पाली शब्दकोश निकाल्न १ लाखभन्दा बढी शब्द भेला गरिसके, काम भने टुंगिन पाएको छैन । ‘हाम्रा एकेडेमी, भाषा प्रतिष्ठानहरूले गर्ने वा गर्न चाहने काम यो हुँदै होइन । दुई/तीन घण्टा यताउता गरेर ‘क्रेडिट’ लिन चाहने काममा मात्रै हाम्रा एकेडेमीहरू रमाइरहेका छन्,’ उनी भन्छन् । यतिसम्म कि प्रज्ञा प्रतिष्ठानको बृहत् शब्दकोशमा पाली भाषाका केही शब्द र नेपाली निकटवर्ती अर्थ राखिदिनुस् भनेर बिन्तीभाउ गर्दा पनि प्राज्ञहरूले सुनेको नसुन्यै गरेको कटु भोगाइ उनीसँग रहेछ ।


'बुद्ध वाज बर्न इन नेपाल’

सानुभाइका अनुसार, भगवान् बुद्धको नाम लिनेहरू यहाँ धेरै छन् । तर बुद्ध सन्देशको मर्ममा पुग्ने भने धेरै कम छन् । यहाँको सिकाइ र बुझाइ नै गलत छ । यतिसम्म कि लुम्बिनीको अशोक स्तम्भमा लेखिएको ‘पाली भाषा’ मा लेखिएको कुराको सही व्याख्या भएको छैन ।


पाली भाषाका ज्ञाता अर्का विद्वान् शुक्रसागर श्रेष्ठले यसबारेमा निकै सरोकार अघि बढाएका थिए । उनको निधनपछि फेरि मौनता छाएको छ । थेरवाद बुद्धिस्ट एकेडेमीमा पाली भाषा पढाइ भए पनि त्यो पनि कामचलाउ मात्रै छ ।


‘थेरवादलाई बुद्ध धर्म, शिक्षा र दर्शनको २४ क्यारेटको सुनझैं मानिन्छ । तर यहाँ जाँच पास गराउने पढाइ मात्रै हुने गरेको छ । बरु गाडीका पछाडि लेख्न थालिएको छ, बुद्ध वाज बर्न इन नेपाल । तर, बुद्ध वाणीकै पाली भाषाको न यहाँ सोधखोज छ, न अनुसन्धान,’ सानुभाइ आवेशमा आएझैं भन्छन् ।


पालि टेक्स्ट सोसाइटीले त्रिपिटकका ४५ ग्रन्थलाई झन्डै एक शताब्दीअघि अंग्रेजीमा ल्याइसकेको छ । सानुभाइले पनि त्रिपिटकका १५ कृतिलाई नेपालभाषामा ल्याइसकेका छन् । बाँकी पनि अरू विद्वानको सहयोगमा अनुवाद भइसकेको अवस्था छ । जातक कथाहरूको संग्रहलाई अनुवादपछि ६ भागमा निकालिसकेका छन् । नेपालमा पाली भाषाका विशेषज्ञ हातका औंलामा गन्न पनि पुग्दैनन् ।


‘म पछि के होला भनेर मलाई थाहा छैन । यहाँ अनेक जातीय, क्षेत्रीय, वर्गीय भाषा लोप भएको भनेर चिन्ता बढेको देखिन्छ । तर हाम्रै भगवान् बुद्धको मातृभाषा पाली लोप भइरहेको बारे कहींकतै सुनुवाइ छैन । यो यथास्थिति सम्झँदा भने निकै दुःख लाग्छ,’ उनी भन्छन् । अरूभन्दा पनि भगवान् बुद्धको जन्मबारे अनेक विवाद उब्जिएका बेला ‘ती शक्तिपुञ्ज फैलिएर जे जहाँ पुगे पनि हामीकहाँ जन्मेका थिए भनेर सुनाउन र बुझाउन सक्ने’ पनि कोही नभइरहेको यथास्थितिबारे उनी निकै चिन्तित देखिन्थे ।


सानुभाइका मन–वचनमा भिक्षु सुदर्शन महास्थवीरको प्रेरणा सधैं रहिरहेको छ । भगवान् बुद्धको मातृभाषा पालीमा रहेका बुद्धवचन र वाणीलाई नेपालीमा उतार्नमा उनी यतिखेर लागिपरेका छन् । उमेरअनुसार, चिनी रोग र मुटु समस्याको औषधिमूलो उनको टेबलमा छँदै छ । ‘पुस्तैनी पेसाका रूपमा सुनचाँदीको पसल घरमै छ, अरू भाइभतिज यसमा लागेका छन् । छोराछोरीको पनि ध्याउन्न अरू नै हुन सक्छ,’ सानुभाइ भन्छन्, ‘म भने मरिन्जेल पनि पाली भाषामै लागिरहन्छु ।’

प्रकाशित : चैत्र २३, २०७५ ०७:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?