कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सरकारी चिकित्सकको आन्दाेलन : १ लाखले पाएनन् उपचार

अतुल मिश्र

काठमाडौँ — संसारभर आइतबार स्वास्थ्य दिवस मनाइरहँदा नेपालमा सरकारी चिकित्सकको आन्दोलनका कारण १ लाखभन्दा बढी बिरामी उपचारबाट वञ्चित भए । यसै पनि मुलुकमा १५ हजार चिकित्सक अपुग छन् भने स्वास्थ्य क्षेत्रमा राज्यको लगानी ४ प्रतिशतमात्र छ ।

सरकारी चिकित्सकको आन्दाेलन : १ लाखले पाएनन् उपचार

सरकारी चिकित्सकको आकस्मिक बाहेकका सेवा बहिष्कार आन्दोलनका कारण आइतबार पनि मुलुकभरका सरकारी स्वास्थ्य संस्थामा सेवा प्रभावित भयो । आन्दोलनले देशभर १ लाखभन्दा बढी बिरामी मर्कामा परे पनि सरकारले वार्ताको कुनै पहल गरेको छैन ।


आफूहरूलाई संघअन्तर्गत राखेर प्रदेश र स्थानीय तहमा परिचालन गर्नुपर्ने मुख्य मागसहित चिकित्सकहरू शुक्रबारदेखि अनिश्चितकालीन सेवा बहिष्कारको आन्दोलनमा उत्रिएका हुन् । अध्ययनलगायतका वृत्ति विकास नरोकिनुपर्ने पनि उनीहरूको माग छ । सरकारी चिकित्सक संघ (गोदान) ले देशभर आकस्मिकबाहेकका पूर्वनिर्धारित शल्यक्रिया, विभिन्न विशेषखाले परीक्षणलगायत नभएको जनाएको छ ।


‘बाध्य भएर गरिएको आन्दोलनले आइतबार देशभरका सरकारी स्वास्थ्य निकायमा पुग्ने एक लाखभन्दा बढी व्यक्ति मर्कामा परेको तथ्यांक छ,’ गोदानका अध्यक्ष डा. दीपेन्द्र पाण्डेले भने । उनले आइतबारसम्म पनि सरकारले समस्या समाधानका लागि कुनै सकारात्मक पहल नगरेको बताए ।


सरकारी चिकित्सकहरूले आन्दोलन अवधिभरको तलब भत्ता नलिने निर्णयसमेत गरेको डा. पाण्डेले जनाए । सरकारी चिकित्सकहरूले आइतबारै सरकारी स्वास्थ्य संस्थाअगाडि धर्नासमेत दिएका थिए । देशभर करिब १४ सय सरकारी चिकित्सक छन् । मुलुकमा ८४ वटा जिल्ला अस्पताल, १० वटा अञ्चल अस्पताल, काठमाडौंमा ५ वटा केन्द्रीय अस्पताल, २ क्षेत्रीय र २ वटा उपक्षेत्रीय अस्पताल छन् ।

प्रकाशित : चैत्र २५, २०७५ ०७:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?