कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भेडेटारबाट धरान आउँदै गरेको बस दुर्घटना, ४ को मृत्यु, ३९ जना घाइते

प्रदीप मेन्याङ्बो

धरान — धनकुटाको छनम्बर बुधबारेबाट धरानतिर आइरहेको ना ६ ख २७१३ नम्बरको यात्रुवाहक बस धरान-१३ स्थित जिरोपोइन्ट चोकमा सोमबार दिउँसो दुर्घटना हुँदा ८ महिने बालिकासहित ४ जनाको मृत्यु भएको छ । 

भेडेटारबाट धरान आउँदै गरेको बस दुर्घटना, ४ को मृत्यु, ३९ जना घाइते

३९ जना घाइते भएका छन् । मृत्यु हुनेहरूमा मोरङको केराबारी ४ बस्ने २० वर्षीया यमकुमारी मगर र उनका ८ महिने काखे छोरी देवीका, धनकुटा चौबिसे १ डाँडाबजारका ५६ वर्षीय दलबहादुर मगर र चालक धरान ८ चेम्जोङपथ बस्ने ४३ वर्षीय चक्रबहादुर गुरुङ रहेका छन् । घाइतेहरूको बीपी कोइराला स्वाथ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

बस पल्टिएपछि यात्रुहरू कतिपय उछिटिएर अगाडिको झ्यालबाट निस्केका थिए । कतिपय च्यापिएका थिए । घाइतेहरूलाई तत्कालै स्थानीय समुदाय, प्रहरीले उद्धार गरी अस्पताल पुर्‍याएका थिए ।


प्रहरीले ब्रेक फेल भएर दुर्घटना भएको अनुमान गरेको छ । बसले नियन्त्रण गुमाउँदै आउँदा जिरो पोइन्ट चोकमा रहेको आधा काटिएको रुख, बिजुलीको पोल र सँगै राखिएको फुटबलको कंक्रिट स्तम्भमा बजारिएर पल्टिएको थियो ।


इलाका प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सुमन तिम्सिनाले ब्रेक फेल भएर बस दुर्घटना भएको प्रारम्भिक अनुमान गरेको बताए । उनले भने, 'चालकले बस नियन्त्रण गर्दै यात्रु जोगाउन खोज्दा खोज्दै दुर्घटना भएको देखिन्छ ।'


बसभित्र कति यात्रु थिए भन्ने यकिन भएको छैन । दुर्घटनामा पर्नेहरू अधिकांश धनकुटाको चौबिसे गाउँपालिका, छनम्बर बुधबारे र धरानका छन् । सोमबार धरानको सबै बजार बन्द हुने भएकाले जिरो पोइन्ट चोकमा पनि मानिसको चहल पहल कम भएकाले पैदल यात्रु नपरेको प्रनाउ तिम्सिनाले बताए ।

प्रकाशित : चैत्र २५, २०७५ १४:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?