कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चौपायालाई किनेको पानी

कुम्भराज राई

मानेभन्ज्याङ, ओखलढुंगा — मानेभन्ज्याङ गाउँपालिका-५ का घमन्डबहादुर पुलामीले तीनवटा भैंसी, एउटा सुँगुर र १० बाख्रा पालेका छन् । यी बस्तुलाई ख्वाउने पानी नभएपछि उनले केही समययता लिटरको हिसाबले पानी किनेर ख्वाउने गरेका छन् ।

चौपायालाई किनेको पानी

'फारो गरेर खुवाउँदा दिनको सय लिटरले पुर्‍याउँछु,' पुलामीले भने, 'मान्छेले पिउने त कुरै छाडौँ । बस्तुभाउलाई नि किनेर पानी ख्वाउनुपरेको छ ।' केही दिनअघि मात्र गाउँपालिकाकै एक कर्मचारी शनिवार पारेर दूधकोसी नुहाउन जाँदा बाटामै दुर्घटनामा परिन् । स्कुटर दुर्घटनामा धन्न सामान्य चोट मात्र लाग्यो । गाउँपालिकाको केन्द्र रहेको मानेभन्ज्याङमा पानीको हाहाकार छ ।


नुहाउन, लुगा धुन गाडी चढेर १५ किलोमिटर टाढा दूधकोसी नदी पुग्नुपर्छ । 'पिउनलाई त किन्नुपर्छ, नुहाउने, लुगा धुने त कुरै छोडौँ ।' स्थानीय भावना राईले भनिन्, 'भाडामा बस्ने त प्रायः सबैले सातामा आफ्नै गाउँ गएर लुगा धुने, नुहाउने गर्छन् ।'


पिउने पानी पनि ट्यांकीमा भरेर ट्रयाक्टरमा ल्याइन्छ । केही महिना अघिसम्म एउटा मात्र ट्रयाक्टरले पानी बोक्दा दुई रुपैयाँ लिटरसम्म तिरेर स्थानीयले किन्थे । अहिले दुईवटा ट्रयाक्टर भएपछि १ रुपैयाँ लिटरमै पाइन्छ । स्रोतकै अभावले मानेभन्ज्याङमा पिउने पानी अभाव भएको हो । साबिकको मुहानबाट आउने पानी प्रतिधारा एक दिनमा २० लिटर आउन धौधौ छ ।


गाउँपालिका केन्द्रमा करिब २ सय घरधुरी छन् । एक घर बराबर कम्तीमा सय लिटर पानी चाहिन्छ । धेरैजसो होटल र पसल भएकाले पनि पानी खपत गाउँहरूभन्दा बढी हुने गर्छ । अघिल्ला चुनावमा समेत अधिकांश दलका उम्मेदवारले पानीको व्यवस्था गरिदिने भन्दै भोट मागेका थिए । जनप्रतिनिधि आइसकेपछि यस विषयमा गम्भीर नभएको गुनासो सर्वसाधारणको छ ।


'धारा ल्याउन नसके पनि खडेरीको बेला गाउँपालिकाले कम्तीमा एउटा टयांकर ल्याएर पानी वितरण गर्न सके ठूलो राहत हुने थियो,' होटल व्यवसायी मनकुमार राईले भने, 'पटकपटक सुझाव दिँदा पनि जनप्रतिनिधिबाट सुनुवाइ भएन ।'


सोही वडाका अध्यक्ष तथा गाउँपालिका प्रवक्ता रामकुमार राईले पहिलो चरणमा सम्भावित सबै क्षेत्रमा मुहानको खोजी गरिएको बताए । सोलुखुम्बुसम्म मुहानको खोजी गर्दा समेत उपलब्ध नभएपछि अब वैकल्पिक उपायको खोजीमा रहेको उनले बताए ।


'अबको विकल्प भनेको केन्द्रीय विद्युत् प्रसारण जोडिनेबित्तिकै लिफटङ माध्यमबाट मोलुङ खोलको पानी तान्ने मात्र छ ।' अध्यक्ष राईले भने, 'त्यसका लागि गाउँपालिकाले प्राथमिकता दिएर डीपीआर बनाउने तयारीमा लागेको छ ।


केन्द्रीय विद्युत् आउन पनि केही समय लाग्ने भएर ढिला भएको हो । हामी यस विषयमा गम्भीर छौं । मानेभन्ज्याङ एउटा उदाहरण मात्र हो । जिल्लाका अधिकांश स्थानीय तहको प्रमुख समस्या खानेपानी बनेको छ ।

प्रकाशित : चैत्र २५, २०७५ १८:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?