कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चिकित्सकलाई उपचार नगर्न दबाब

कमल पन्थी

बर्दिया — सरकारी चिकित्सकले सेवा बहिष्कार गरी आन्दोलनमा साथ दिन यहाँका चिकित्सकलाई दबाब दिएका छन् । सरकारी चिकित्सक संघ (गोडान) को आहवानमा ६ दिनदेखि देशभरका सरकारी अस्पतालमा आकस्मिकबाहेक सेवा ठप्प पारिए पनि यहाँका चिकित्सक नियमित उपचारमा खटिएका छन् ।

आन्दोलनरत चिकित्सकले काठमाडौंलगायत विभिन्न ठाउँबाट फोन गरी सेवा बहिष्कार गर्न दबाब र धम्की दिएको जिल्ला अस्पतालका चिकित्सकले बताएका छन् । यहाँका चिकित्सकले भने मानवीय सेवामा खेलबाड नगर्ने बताएका छन् । ‘आन्दोलनकारीबाट अस्पताल बन्द गर्न दबाब र धम्की आएका छन्,’ उपचारमा संलग्न एक चिकित्सकले भने, ‘हामी बिरामीप्रति अन्याय हुन दिँदैनौं ।’


संघअन्तर्गत राखेर प्रदेश र स्थानीय तहमा परिचालन गर्नुपर्ने मागसहित देशभरका चिकित्सक शुक्रबारदेखि आन्दोलनमा उत्रिएका छन् । ५० शय्याको अस्पताल अहिले बिरामीले भरिभराउ छ । अधिकांश बिरामी गुलरिया, बारबर्दिया, मधुवन नगरपालिकालगायत बढैयाताल गाउँपालिकाबाट आएका छन् । बहिरंग सेवामा बुधबार करिब २ सय ५० बिरामीले उपचार गराएका छन् । गर्मी मौसम भएकाले भाइरललगायतका बिरामीको चाप छ ।


अस्पतालमा १५ स्थायी दरबन्दीका चिकित्सकमध्ये चार जना कार्यरत छन् । अन्य ११ जना सरुवा र काज मिलाएर नआएको अस्पतालले जनाएको छ । निम साइमनबाट २, गुलरिया नपाबाट १, स्वास्थ्य मन्त्रालयबाट करार १, छात्रवृत्तिबाट २ जना चिकित्सक पनि कार्यरत छन् ।


डा. नेपोलियन दासले भने आन्दोलन अवज्ञा गरेको भन्दै दबाब आएको विषयमा आफूलाई जानकारी नभएको बताए । उनले बिरामीको उपचार मुख्य कुरा भएकाले सेवामा लागेको जनाए । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुभास पाण्डेयले बिरामीको संख्या बढेकाले बाध्य भई उपचारमा संलग्न हुनुपरेको बताए ।

प्रकाशित : चैत्र २८, २०७५ ०७:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?