कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

धम्क्याउनेको कनेक्सन छानबिन होओस् : लिङदेन

अर्जुन राजवंशी

बिर्तामोड — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद राजेन्द्र लिङदेनले राजनीतिक नेतादेखि आपराधिक व्यक्तिको ‘कनेक्सन’ मा आफूलाई ज्यान मार्ने धम्की दिइएको बताएका छन् । सांसद लिङदेनले घटनाका विषयमा गम्भीर छानबिन गर्न माग गरेका छन् । 

बिर्तामोडमा बुधबार पत्रकार सम्मेलन गर्दै सांसद लिङदेनले भने, ‘५० लाख दिएर मार्न खटाएको भनिएको घटनामा मेरै निर्वाचन क्षेत्र झापा ३ का नेता र आपराधिक घटनामा संलग्न व्यक्तिको कनेक्सन देखिएको छ । यो घटनामा ककसको संलग्नता छ, गम्भीरतासाथ छानबिन होस् । सत्यतथ्य चाँडै सार्वजनिक गरियोस् ।’


सांसद लिङदेनका अनुसार उनलाई एनसेल र नेपाल टेलिकमको दुई फरक–फरक नम्बरबाट कसैले ज्यान मार्न खटाएको भनी धम्की दिएको थियो । उक्त नम्बरबाट लिङदेनको ज्यान मार्न ५० लाखमा सहमति भएको म्यासेज आएको थियो । भ्वाइस र टेक्स्ट म्यासेजमा ज्यान बचाउन ५० लाख मागसमेत गरिएको थियो । ‘५० लाख दिने भए आफूलाई खटाउने मान्छे चिनाइदिने र ज्यान पनि नमार्ने म्यासेज आएको थियो,’ लिङदेनले भने । उनले यस घटनालाई हल्का रूपमा नलिन प्रहरी प्रशासनसँग आग्रह गरे ।


सांसद लिङदेनलाई गत चैत ७ गतेदेखि करिब एक सातासम्म पटकपटक धम्कीयुक्त म्यासेज आएका थिए । लिङदेनका अनुसार चैत ७ गते बेलुका ५ः२५ बजे एक अपरिचितले ह्वाट्सएपमा ‘तपाईंलाई मार्न मान्छे खटिएको छ र ती मान्छेबाट तपाईंलाई खतरा रहेकाले जोगिएर हिँड्नू’ भनिएको म्यासेज आएको थियो । भोलिपल्ट बिहान ९ः५३ बजे अर्को मोबाइल नम्बरबाट ती व्यक्तिले अर्को म्यासेज पठाएका थिए, ‘तपाईंलाई मार्न ५ जना मान्छे खटिएका छन्, जसमा तीन जना भारतीय र दुई जना नेपाली छन् । उनीहरूसँग पेस्तोल पनि छ, तपाईंलाई मार्न ती दुई जना नेपालीले ५० लाखमा कुरा मिलाएका छन् । २० लाख पहिला नै दिए र बाँकी पैसा काम भएपछि दिने कुरा मिलाएका छन् । तपाईंलाई मार्न तपाईंको र अन्य पार्टीको मान्छेसमेत लागेका छन् ।’ त्यसपछि ह्वाट्सएपमा लगातार हिन्दी भाषामा भ्वाइस म्यासेज आएको लिङदेनले बताए । भ्वाइस म्यासेजमा ‘तँलाई मार्न सुपारी लिएको छु, त्यसका निम्ति ५० लाखमा कुरा भएको छ’ भनिएको थियो ।


सांसद लिङदेनकै सूचनाका आधारमा केन्द्रीय अनुसन्धान ब्युरोले झापा घर भएका तिलकदास पराजुली र हुम्ला घर भएका प्रदीप रोकायलाई पक्राउ गरेको छ ।

प्रकाशित : चैत्र २८, २०७५ ०८:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?