कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

के हो ब्ल्याक होल ? 

पहिलो पटक ब्ल्याक होलको तस्बिर सार्वजनिक
गोविन्द पोखरेल

काठमाडौँ — अन्ततः वैज्ञानिकहरुले ब्ल्याक होल (कृष्ण छिद्र)को तस्बिर सार्वजनिक गरेका छन् । पृथ्वीभन्दा ५ करोड ५० लाख प्रकाश वर्ष टाढा रहेको एम–८७ तारापुञ्ज (ग्यालेक्सी)मा रहेको ब्ल्याक होलको पहिलो तस्बिर वैज्ञानिकहरुले बुधबार सार्वजनिक गरेका हुन् ।

के हो ब्ल्याक होल ? 

ब्ल्याक होलको तस्बिर हामीले सधैं कल्पना गर्दै आएका थियौँ । बुधबार नेपाली समयअनुसार साँझ ६ बजेर ४५ मिनेटमा सार्वजनिक गरिएको उक्त तस्बिर हामीले कल्पना गरे जस्तै आकारको देखिएको छ ।


यो ब्ल्याक होल सूर्य भन्दा ६ अर्ब ५० करोड गुणा ठूलो छ । यसलाई ब्रहमाण्डको अहिलेसम्मकै सबैभन्दा गह्रौ र ठूलो ब्ल्याक होल हो । तस्बिर केही अनियमित जस्तो देखिएपनि चम्किलो रिङ आकार भने प्रष्ट देखिएको छ । ब्ल्याक होलबाट प्रकाश समेत उम्कन पाउँदैन । वैज्ञानिकहरुले सार्वजनिक गरेको तस्बिर ब्ल्याक होलेको छाँया हो । ब्ल्याक होलको वास्तिवक तस्बिर खिच्न सम्भव नै छैन किनभने यसबाट प्रकाश उम्कन पाउँदैनन् ।


खगोलशास्त्रीहरुले इभेन्ट होरिजन टेलिस्कोप (ईएचटी) को मद्दतबाट यसको तस्बिर लिन सफल भएका हुन् । इभेन्ट होराइजन टेलिस्कोप विश्वका विभिन्न ८ वटा टेलिस्कोपहरुको एउटा नेटवर्क हो । एस्ट्रो फिजिक्स जर्नल लेटरमा प्रकाशित रिर्पोट अनुसार विश्वका विभिन्न २० मुलुकका ५९ वटा संस्थाका दुई सय जना वैज्ञानिकहरु यस कार्यमा संलग्न थिए । जसको उद्देश्य एउटै थियो- ब्ल्याक होलको इभेन्ट होरिजनको तस्बिर लिने ।

इभेन्ट होरिजनलाई प्वाइन्ट अफ नो रिर्टन पनि भनिन्छ जहाँ कुनै पनि वस्तु पुगेपछि बाहिर आउन सक्दैनन् । यो ब्ल्याक होलको वरिपरि रहेको एउटा काल्पिनक सतह हो जसलाई वैज्ञानिकहरुले गणितीय हिसाबका आधारमा प्रमाणित गरको छन् । पृथ्वीभन्दा यति टाढा रहेको यो वस्तुको तस्बिर लिन कसरी सम्भव भयो भन्ने विषय पनि सबैको चासो रहेको छ ।


यसरी गरियो काम:

इभेन्ट होरिजन टोलिस्कोप एउटा रेडियो टेलिस्कोप हो । जसमा विश्वका विभिन्न रेडियो टेलिस्कोपहरुको एउटा सामूहिक प्रयास हो जसबाट पृथ्वी जत्रो एउटा ठूलो काल्पनिक रेडियो टेलिस्किोपको निर्माण गरिएको थियो । विश्वका ८ वटा रेडियो अब्जर्भेटरी टिमको संयुक्त प्रयास हो ।

सबै रेडियो टेलिस्कोपहरुलाई एउटै टार्गेटमा सेट गरिएको थियो । यो काल्पनिक टेलिस्कोप पृथ्वीभन्दा ८ हजार माइल टाढा रहेको थियो । यो कार्य निकै गाह्रो थियो । यसका लागि वैज्ञानिकहरुले ‘एटोमिक क्लक’को प्रयोग गरेका थिए । यसमा तरंगको लम्बाईलाई पनि विशेष ख्याल गरिएको थियो ।


विभिन्न रिर्पोटहरुका अनुसार टेलिस्कोपहरुबाट प्राप्त तथ्यांकबाट करिब ८ लाख लाख जिबीभन्दा बढि डाटा प्राप्त भएको थियो । जर्मनीमा प्रोसिङ गरिएको थियो । यसबाट प्राप्त तथ्यांकहरुलाई सुपर कम्पयुटरको मद्दतबाट विश्लेषण गरियो ।

इभेन्ट होराइजन टेलिस्कोप निर्माण गर्ने बनाइएका पृथ्वीका ८ टेलिस्कोप । तस्बिरः एरिजोना विश्विद्यालय

तथ्यांकहरुलाई हिलयम भरिएको हार्डडिस्कहरुमा संकलन गरिएको थियो । इन्टरनेटको माध्यमबाट डाटाहरुलाई पठाउन नमिलेपछि हवाईजहाजबाट हार्डडिस्क पठाइएको थियो । यसमा रेडियो इमेजिङको प्रयोग गरिएको थियो विभिन्न प्रकारका तरंगहरुबाट प्राप्त तथ्यांकबाट तस्बिर निर्माणमा प्रयोग गरिएको थियो ।


टेलिस्कोपहरु विभिन्न ठाउँहरुमा रहेका छन् । यसमा मानव वस्ती नभएको र एउटा सुनसान अकाश तथा वायुमण्डललीय ग्यासहरुको प्रभाव अलिक भएको ठाउँहरुमा राखिएको छ । एउटा हवाइ र मेक्सिकोको ज्वालुमूखी भएको क्षेत्र, एरिजोना राज्यको पहाड र स्पेनिसको साइरा नेभिडा र चिलीको एटाकामा मरुभूमी र एन्टार्टटिकामा राखिएको छ ।


एस्ट्रो फिजिक्स जर्नल लेटरको सांराश:

एस्ट्रो फिजिक्स जर्नलनमा इभेन्ट होरिजन टेलिस्कोपले गरेको कार्यबारे विभिन्न ६ वटा पेपर प्रकाशित भएका छन् । उक्त अनुसन्धानात्मक रिर्पोटमा प्रजोक्टको सम्पूर्ण विवरण र हालसम्म प्राप्त उपलब्धिहरुबारे जानकारी दिइएको छ ।


पहिलो पेपेरमा ब्ल्याक होलको तस्बिर र प्राप्त उपल्ब्धिको सारंश छ । जसमा प्रोजेक्टको पूर्ण विवरण र हालसम्म प्राप्त उपलब्धिहरुलाई समावेश गरिएको छ । दोस्रो पेपरमा इभेन्ट होरिजन टेलिस्कोपको श्रृंखला(एरे)को बारेमा उल्लेख गरिएको छ । जसमा ब्ल्याक होल सम्बन्धि गरिएको अवलोकन र टेलिस्कोपकहरुको बारेमा उल्लेख छ । उक्त पेपरमा इभेन्ट होरिजन टेलिस्कोपमा निर्माण गरिएको प्रणाली, प्रविधि र स्रोतसाधनको प्रयोग गरेर अवलोकन गरिएको विषय उल्लेख गरिनुका साथै कामको प्रगतिबारे विश्लेषण गरिएको विवरणहरु उल्लेख छन् ।


तेस्रो पेपरमा अवलोकनको पूर्ण विवरण, तथ्यांकहरुलाई समष्टिकरण, आवश्यक प्राटोकलकहरुको विवरण र कसरी निष्कर्श निकालिएको भन्ने विषयमा केन्द्रित छ । चौथो पेपरमा प्राप्त तथ्यांकहरुबाट तस्बिर निर्माण गर्नका लागि गरिएको तौरतारिका र कसरी निर्माण गरिएको भन्ने कुरामा उल्लेख छ । तस्बिर निर्माणका लागि गणितीय प्रकियाबाट समाधान गर्ने प्रकियाहको पुरानो विधि र इएचटीमा प्रयोग गरिएको उपकरणकहरुबाट गणितीय हिसाब गर्ने नयाँ विधि अपनाइएको थियो । जसमा प्राप्त तथ्यांकहरुलाई परीक्षण र हिसाब गर्न महिनौ लागेको थियो ।


पाचौं पेपरमा तस्बिरलाई सुक्ष्म विश्लेषण गर्न अपनाइएको जनेरल रिलेटभिस्टिक मेग्नोटोहाइड्रोडाइनामिक (जीआरएमएचडी) सिमुलेसन र एड्मान्स रे ट्रेसिङ विधि अपनाएर ब्लयाक होलको तस्बिर गाभ्न र जेट लन्चिङका लागि गरिएको कार्यहरुबारे उल्लेख छ ।


छैटौँ पेपरमा प्रयोग गरिएको प्रणाली, प्राप्त तथ्यांकहरुमा गरिएको बदली, ब्ल्याक होलको तौल, र ब्ल्याक होल र त्यसको अन्तरीक्ष समयलाई पारिएको सिमितता लगायतको विषय वस्तुहरु समावेश गरिएको छ ।


'अल्बर्ट आइन्स्टाइन सही थिए'

भौतिकशास्त्री उदयराज खनालका अनुसार प्राप्त तस्बिरले अल्बर्ट आइन्सटाइन सही भएको वैज्ञानिक पुष्टि भएको बताए । आइन्स्टाइनले शक्ति र पिण्ड कुनै एक ठाउँमा एकिकृत हुँदा समय र स्थानको अन्त्य हुने कुरा उल्लेख गरेका थिए ।


जसलाई पछि अन्य वैज्ञानिकहरुले उक्त ठाउँलाई सिंगुलारिटी भनेर व्याख्या गरेका थिए । ब्ल्याक होलको मध्य भागमा सिंगुलारिटी पर्छ जहाँ सबै शक्ति र पिण्ड एकिकृत हुन्छ । यसलाई इभेन्ट होराइजनले छोपेर राखेको उनले बताए ।


उनका अनुसार आइन्सटाइनले भने अनुसार स्पेस, समय र गुरुत्वको व्याख्या सही भएको बताए ।

ब्ल्याक होलको मध्यभागतिर वस्तुहरु गइरहेको बताए । न्यूटनको गुरुत्वकार्षणको सिद्धान्तमा 'पोइन्ट मास' भनेजस्तै रिलेटिभटीको पोइन्ट मासबारे आइन्सटाइनको सापेक्षता सम्बन्धिको सिद्धान्तले दिएको छ । आइन्सटाइनले गुरुत्वले प्रकाशको गतिलाई कुनै प्रभााव नपार्ने कुरा उल्लेख गरेका थिए ।

आइन्स्टाइनले ब्रहमाण्डका सम्पूर्ण गति,वस्तु र घटना सापेक्ष रहेको र सबै प्रकाशको गतिसँग सम्बन्धित छन् भनेका थिए । उनले भने अनुसार अन्तरिक्ष तथा अन्तरिक्ष समय पहिले विश्वास गरिए झै चेप्टो छैन,यो घुमाउरो छ । यसबाट पुनः आइन्सटाइनको सिद्धान्त अनुसार 'स्पेश र टाइम' को रेखागणितीय बांगोपना हुने कुरा पनि पुष्टि भएको छ । यसअघि गुरुत्वकार्षण तरंगहरु रहेको कुरा पुष्टि भएको थियो ।


के हो ब्ल्याक होल ?

ब्ल्याक होल एउटा यस्तो क्षेत्र हो जहाँ प्रकाश पनि हराउँछ । प्रकाश यहीँ ‘ट्र्याप’हुन्छ । ब्ल्याक होलले कुनैपनि वस्तुलाई आफूतिर तान्छ र उम्कन दिदैन । यसले सिंगो एउटा सौर्यमण्डल नै आफूतिर तानिदिन सक्ने क्षमता राख्छ । यसमा धेरै नै गुरुत्वकार्षण बल हुन्छ । इभेन्ट होराइजनमा पुगेको वस्तु केही पनि निस्कन सक्दैन । त्यहाँ पुगेको पुगेको वस्तु त्यहाँको केन्द्रमा पुगेर खुम्चेर बस्छ । उदयराज खनाल खगोलशास्त्री ।


खगोलशास्त्री एवं २१औँ शताब्दीका प्रसिद्ध वैज्ञानिक स्टेफ हाकिङ्ग्सले ब्ल्याक होल सम्बन्धि धेरै अनुसन्धान गरेका थिए । उनले आफ्नो जीवन नै यसमै समर्पित गरेका थिए । उनले ब्ल्याक होलबाट रेडिएसनहरु निस्कने कुरा पनि उल्लेख गरेका थिए । जसलाई ‘हकिंग्स रेडिएसन’को नाम दिएका थिए ।


धेरै ठूला ताराहरु आफ्नो जीवन चक्रको अन्त्यतिर आइपुग्दा उनीहरु नष्ट हुने र यही क्रममा ब्ल्याक होल बनिन्छन् । जहाँ लाखौँ तारा,आकाशगंगाहरु पनि हुन सक्छन् । यसको घनत्व ज्यादै धेरै हुन्छ । धेरै ठूलो वस्तुहरु एउटा सानो वस्तुमा खुम्चन्छन् र यी वस्तुहरुको गुरुत्वकार्षण बल धेरै हुन्छ ।


प्रकाशित तस्बिरमा पदार्थहरु ब्ल्याक होलमा खसिरहेको र प्रकाश नदेखिएपछि ब्ल्याक होल भनिएको भौतिकशास्त्री खनालले बताए । उनका अनुसार प्राप्त तस्बिरमा देखिएको उज्यालो ब्ल्याक होलमा खसिरहेको वस्तुले फालेको प्रकाश हो ।

'सूर्य ब्ल्याक होल बन्न सक्दैन':

भौतिकशास्त्री खनालका अनुसार सूर्य कुनै पनि हालतमा ब्ल्याक होल बन्न नसक्ने बताए । उनका अनुसार सूर्यभन्दा ५/७ गुणा तौल भएका ताराहरु अन्तिम चरणमा गएर ब्ल्याक होल बन्न सक्छन् । ती ताराहरु घुम्चदै गएर ब्ल्याक होल बन्छन् जसको गुरुत्वकार्षण बल धेरै हुन्छ । यस्तै, विभिन्न वस्तुहरु आकाशमा घुमिरहेका वस्तुहरु ठूलो ठूलो भएर ब्ल्याक होल बन्न सक्छन् ।

उनका अनुसार हाम्रो सौर्यमण्डल ब्ल्याक होलमा जान नसक्ने बताए । सौर्यमण्डल भन्दा ठूलो ब्ल्याक होल हामी भन्दा लाखौँ प्रकाश वर्ष टाढा रहेको र कुनै ब्ल्याक होल हाम्रो सौर्यमण्डलको नजिकमा आउने सम्भावना धेरै कम रहेको उनले सुनाए । उनका अनुसार यो काल्पनिक कुरा हो ।

(एजेन्सीहरु र अन्तर्राष्ट्रिय जर्नलहरुको सहयोगमा)

प्रकाशित : चैत्र २८, २०७५ १४:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?