कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अन्नपूर्णमा भेटियो 'कश्मिर कस्तुरी मृग'

यो सहित नेपालमा पाइने कस्तुरीका प्रजातिको सङ्ख्या ४ पुगेको छ । तर, हामीकहाँ हिमाली कस्तुरीबाहेक अन्य कस्तुरीका प्रजातिबारे अध्ययन/अनुसन्धान भएको छैन । 
अब्दुल्लाह मियाँ

काठमाडौँ — नेपालमा ‘कश्मीर कस्तूरी मृग’ फेला परेको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को मुस्ताङ क्षेत्रमा अनुसन्धानकर्ता पारसविक्रम सिंह र चिनियाँ प्राध्यापकलगायतले पहिलोपटक कश्मीर कस्तूरी मृग पत्ता लगाएका हुन् । प्रकृति संरक्षणका लागि अन्तर्राष्ट्रिय संघ (आईयूसीएन) को सन् २०१५ को रेड लिस्टमा यो कस्तूरी संकटापन्न सूचीमा छ ।

अन्नपूर्णमा भेटियो 'कश्मिर कस्तुरी मृग'

राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी) को एक्यापमा कार्यरत सिंह ‘युनिभर्सिटी अफ चाइनिज एकेडेमी अफ साइन्सेस बेइजिङ’ बाट कस्तूरी मृगमाथि विद्यावारिधि गरिरहेका छन् । उक्त एकेडेमीका प्राध्यापक जियाङ झिगाङको सुपरभिजनमा सिंहले अन्नपूर्ण संरक्षण क्षेत्रमा कस्तूरी मृगबारे अनुसन्धान गरिरहेका छन् ।


नेपालमा यसअघि अल्पाइन, कालो र हिमाली गरी तीन प्रजातिका कस्तूरी मृग पाइने बताइएको थियो । ‘लामो अनुसन्धानपछि हामीले कश्मीर कस्तूरी मृग प्रमाणित गर्न सफल भएका छौं, हाम्रा लागि यो नयाँ हो,’ अनुसन्धानकर्ता सिंहले कान्तिपुरसँग भने, ‘यसअघि यो अफगानिस्तान, पाकिस्तान र भारतको कश्मीर क्षेत्रमा रेकर्ड भएको छ ।’


नेपालमा अल्पाइन, कालो र हिमाली कस्तूरी पाइने बताइए पनि हिमाली कस्तूरी मृगबाहेक अरूको खासै अध्ययन भएको छैन । ‘अल्पाइन र कालो कस्तूरीबारे अध्ययन भएको छैन,’ सिंहले थपे, ‘हामीकहाँ हिमाली कस्तूरी मृगबारे मात्र काम भएको छ, नेपालको उच्च भागमा हिमाली कस्तूरीको संख्या बढी छ भन्ने विश्वास छ ।’ कश्मीरी कस्तूरी मृगबारे यसै साता मनाइने वन्यजन्तु सप्ताहमा सरकार, सरोकारवाला निकाय र विशेषज्ञबीच विमर्शसमेत हुँदै छ ।


राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक मनबहादुर खड्का नेपालभरि करिब ५ सयको हाराहारीमा कस्तूरी मृग रहेको अनुमान गर्छन् । ‘विस्तृत अध्ययन गर्न सकेका छैनौं,’ खड्काले भने, ‘त्यसैले कस्तूरीको अलग्गै कार्ययोजना बनाएर संख्या यकिन गर्ने तयारीमा छौं ।’ कश्मीर कस्तूरी मृगको संख्या थाहा पाउन भने लामो अध्ययन गर्नुपर्ने हुन्छ ।


नेपालमा बिरालो प्रजाति (क्याट स्पिसेज) मा पर्ने हिउँ चितुवा, बाघ, चरीबाघलगायतमा भने अनुसन्धान हुने गरेको छ । दातृ निकायले पनि यी तीनै प्रजातिका अनुसन्धानमा खर्च गर्न रुचि देखाउने गरेको पाइन्छ । बाघ, गैंडा र हिउँ चितुवाको भूपरिधिस्तरमा काम गर्ने गरी ती प्रजाति पाइने देशबीच सहकार्य भइरहे पनि कस्तूरी मृग पाइने १३ देशबीच सहकार्य हुन सकेको छैन । त्यसैले कस्तूरीबारे गहिरो अनुसन्धान बाँकी रहेको सिंहको तर्क छ ।


सिंहको अध्ययनअनुसार मुस्ताङको करिब ३ हजार ३ सय मिटर उचाइको मार्फा र लुब्रा क्षेत्रमा कश्मीर कस्तूरी मृग भेटिएको हो । सिंहले अन्नपूर्ण संरक्षण क्षेत्रको मुस्ताङ, मनाङ र कास्कीमा फैलिएको अन्नपूर्ण बेसक्याम्पबाट ३ सय ४० वटा कस्तूरीका बडौला (आची) संकलन गरेका थिए । सिंहले उक्त क्षेत्रमा सन् २०१० देखि नै कस्तूरीको अध्ययन थालेका हुन् । सन् २०१५ देखि यता भने कस्तूरीमा विद्यावारिधिका लागि उनको अध्ययन केन्द्रित छ । अनुसन्धानक्रममा एक्याप क्षेत्रमा स्वचालित क्यामेरा (क्यामेरा ट्र्याप) जडान गरिएको थियो । ती क्यामेराले खिचेका तस्बिरले समेत नयाँ कस्तूरी प्रमाणित गर्न सहयोग पुगेको थियो ।


अन्नपूर्ण बेसक्याम्पबाट संकलन गरिएका कस्तूरीका बडौला (आची) एनटीएनसीको चितवन सौराहास्थित जैविक विविधता संरक्षण केन्द्रको प्रयोगशालामा ल्याएर जाँच गरिएको थियो । ‘कस्तूरीको बडौला (आची) मा भएको डीएनए जाँच गर्दा पहिले रेकर्ड भएका ६ प्रजातीका कस्तूरीभन्दा भिन्न पाइयो,’ सिंहले भने, ‘पूर्वी अफगानिस्तानबाट प्राध्यापक डा. स्टेफेन ओस्ट्रोस्कीले मरेको कस्तूरीको छालाको टुक्रा हामीलाई पठाइदिएपछि डीएनए परीक्षण गर्दा मुस्ताङका कस्तूरीको डीएनएसँग मेल खायो । त्यसले मुस्ताङमा नयाँ कस्तूरीको प्रजाति पुष्टि भयो ।’ विश्वमा कस्तूरीका ७ प्रजाति पाइन्छन् ।


सामान्यतया कस्तूरी समुद्री सतहदेखि २ हजार ५ सय मिटरभन्दा माथि बस्छ । उसले वनले ढाकेको र अँध्यारो भाग अत्यधिक मन पराउँछ । ‘सूर्यको प्रकाश नपुग्ने अँध्यारो ठाउँलाई मुख्य बासस्थान बनाउने गरेको पाइन्छ,’ अनुसन्धानकर्ता सिंहले भने, ‘अत्यधिक लजालु स्वभावको हुने भएकाले सकेसम्म कसैले नदेख्ने ठाउँ उसले मन पराएको हुन्छ ।’


कस्तूरीको मुख्य आहार रूखमा टाँसिएका झ्याउ, घाँस, पात, फलफूल र सुकेको घाँसलगायत हो । ‘कस्तूरीलाई गुणस्तरीय खाना चाहिन्छ भन्ने छैन,’ सिंहले भने, ‘जस्तोसुकै बासस्थानमा पनि बाँच्न सक्ने उसको क्षमता हुन्छ, हिउँ परे पनि रूखका झ्याउ खाएर बाँच्न सक्छन् ।’ कस्तूरीले जुम्ल्याहासम्म बच्चा जन्माउँछन् ।



भाले कस्तूरीको दाह्रा हुन्छ भने नाभीमा झन्डै दाँते ओखर जत्रो आकारको बिना (कस्तूरी) हुन्छ । त्यसकै लागि यिनको चोरी सिकार हुने गरेको छ । भालेमा मात्र बिना हुन्छ । त्यो सुगन्धित हुन्छ । त्यो नै कस्तूरीको मुख्य आकर्षण हो । उच्च भागमा बस्ने भएकाले यिनलाई पासोमा पारेर मार्ने गरिएको छ । विभागका अनुसार सगरमाथा निकुञ्जमा सबभन्दा बढी चोरी सिकार हुने गरेको छ ।


चीनमा यसको प्रयोगबाट ४ सयभन्दा बढी प्रजातिका औषधि बनाइने गरिएको छ । तिनै औषधिका लागि चिनियाँ बजारमा यसको अवैध कारोबार हुने गरेको विभिन्न अध्ययनले देखाएको छ । जानकारहरूका अनुसार कलेजोका रोगीहरूलाई शक्तिवर्द्धक टनिकमा समेत यसको प्रयोग हुन्छ । चीनले ठूलो संख्यामा क्याप्टिभ प्रजनन गराएर यिनको संख्या बढाइरहेको छ । अत्तर, सेन्टमा समेत बिना प्रयोग हुन्छ ।

प्रकाशित : चैत्र ३०, २०७५ १६:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?