कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जोडिँदै बुटवल–भैरहवा

रूपन्देही/भैरहवा/बुटवल — बुटवललाई बेलबास–बेथरी सडक, परासी–भैरहवा, भैरहवा–लुम्बिनी, औद्योगिक करिडोरमार्फत सडक सञ्जालले जोड्दै छ । अन्तर्राष्ट्रिय विमानस्थल, विशेष आर्थिक क्षेत्र (सेज), बेलहिया नाका, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, एकीकृत जाँच चौकी, लुम्बिनी, सुविधासम्पन्न होटललगायतले पनि दुई ठूला सहरलाई नजिक गराउँदैछ ।

जोडिँदै बुटवल–भैरहवा

२००७ सालअघिसम्म बटौलीमा मुस्किलले १५ झुपडी थिए, जहाँ केही पुराना व्यापारी वंशगोपाल लाकौल, पदमचन्द्रलाल श्रेष्ठ, चित्रमान गौचनलगायतले भारतीय नाका बेलहियाबाट नुन, चिनी ल्याएर पहाडी जिल्लामा बिक्री गर्थे ।


सीमानाका बेलहियामा पनि बढीमा १५/२० साना झुपडी थिए । ती भारतीय सेनामा भर्ती हुन पहाडी जिल्लाबाट जाने युवा र भर्ती भएर फर्किने लाहुरेलक्षित थिए । भारतीय बजार सुनौलीमा पनि केही व्यापारीले छाप्रोमा राखेर सामान बिक्री गर्थे । सुनौलीदेखि बुटवलसम्म पैदल आउनुपर्थ्यो ।


झन्डै ७० वर्षपछि अवस्था पूरै फेरिएको छ । बेलहियादेखि बुटवलको चौराहासम्म ६ लेनको सडक बनेको छ । २७ किलोमिटर लामो सडकका दुवै किनार घरैघरले भरिएका छन् । सडकमा दैनिक तीन हजारभन्दा बढी सवारीसाधन ओहोरदोहोर गर्छन् । सडक पार गर्न आकाशे पुल बनेका छन् । एक घण्टा सवारी यात्राको दूरी छोट्टिएर २० मिनेटमा झरेको छ ।


बुटवलका पुराना व्यवसायी एवं बटौली संरक्षण संवर्द्धन समितिका अध्यक्ष रवीन्द्रगोपाल लाकौलका अनुसार व्यापारिक केन्द्र र बस्ती दुवै बाक्लिँदै गएपछि बटौलीबाट बुटवल बन्यो । बुटवल बनेको पनि धेरै वर्ष भएको छैन । उनका अनुसार पछिल्लो २५ वर्षमा बुटवलले ठूलै फड्को मार्‍यो ।


सिद्धार्थ राजमार्गको बुटवल गोलपार्कदेखि बेलहियासम्मको २७ किलोमिटर सडक ६ लेनमा विस्तार भयो । त्यसबाट पूर्व र पश्चिमतर्फ पनि एक सयभन्दा बढी सडक निर्माण भएका छन् । ‘१० वर्षअघिको मणिग्राम अहिले कल्पनै गर्न सकिँदैन,’ उनले भने, ‘सडक चौडासँगै अब बुटवल र भैरहवा छुट्टाछुट्टै सहर भन्नु जरुरी छैन, एउटै सहरका रूपमा जोडियो ।’ भैरहवाको नाकादेखि अन्तर्राष्ट्रिय विमानस्थल, उद्योग र बुटवलका व्यापारीको सम्बन्धले पनि दुई ठूला सहरलाई जोडेको उनले बताए ।


बुटवलको चौराहादेखि भैरहवाको बेलहियासम्मको सडक किनारमा सय मिटर खाली जग्गा भेट्टाउनै मुस्किल छ । खाली जग्गामा समेत मासिक २० हजारदेखि २ लाख रुपैयाँसम्म लिजमा लिएर व्यापारिक भवन बनाउने क्रम तीव्र छ । यो विकास ६ लेन सडक विस्तारपछिकै फड्को हो । त्यही सडक किनारमा करोडौं लगानीका ठूला होटल पनि थपिँदै छन् । चौराहादेखि बुद्धचोकसम्मको झन्डै २० किलोमिटर खण्डमा १० करोडभन्दा बढी लगानीका १३ ठूला होटल छन् । ६ लेन सडकलाई आधार बनाएर त्यसको तीन किलोमिटर पूर्वपश्चिम क्षेत्रमा ठूला उद्योग पनि विस्तार भइरहेका छन् ।


प्रदेशको अस्थायी राजधानी तोकिएसँगै बुटवलदेखि भैरहवाको अञ्चलपुरसम्म सरकारी संरचनाले पनि जोडिएको छ । सरकारका मन्त्रीको निवास अञ्चलपुरमै छ । कार्यालय बुटवलमा छन् । सरकारका मन्त्रीको आउजाउले पनि दुई ठूला सहरलाई सजिलै जोडेको छ । त्यस्तै सरकारका निर्देशनालय पनि तिलोत्तमादेखि भैरहवासम्म नै राखिएका छन् ।


तिलोत्तमाको मणिग्रामका पुराना बासिन्दा नारायण गौतमका अनुसार बेलहिया–बुटवल सडकमा ०२४/२५ सालबाट नियमित गाडी चल्न थालेका हुन् । ‘बुटवलको योगीकुटीदेखि भलवारीसम्म ०४० सालसम्मै सडक किनारमा बढीमा ४० घर थिए,’ उनले भने, ‘घर नभएको क्षेत्रमा कुसुम, डुम्रे, सालका रूख थिए, अहिले रूख छैनन्, घर मात्रै छन् ।’ बुटवल–बेलहिया सडक आयोजनाका अनुसार २७ किलोमिटर सडक क्षेत्रको दुवै किनारमा अहिले झन्डै ६ हजार घर छन् । त्यसको पूर्वी र पश्चिमी दुवै क्षेत्रमा शाखा सडकमार्फत पनि तीन किलोमिटरसम्म बाक्लो बस्ती फैलिएको छ ।


तिलोत्तमा व्यापार संघका अध्यक्ष झविन्द्र कँडेलले पनि बेलहिया नाका, भैरहवाका उद्योग र तीव्र बस्ती विकासका कारण तिलोत्तमादेखि कोटिहवासम्मको क्षेत्र व्यापारिक हबका रूपमा विस्तार हुँदै गएको बताए । ‘अब दुवै सहर व्यापारले नै जोडियो भन्दा फरक पर्दैन,’ उनले भने, ‘सडक किनारमा खाली जग्गा छैन, बनेका हरेक घरमा पसल छन् ।’ त्यसबाहेक बुटवलको व्यापारिक केन्द्रलाई बेलबास–बेथरी सडक, परासी–भैरहवा, भैरहवा–लुम्बिनी, औद्योगिक करिडोरमार्फत सडक सञ्जालले जोड्दै छ । अन्तर्राष्ट्रिय विमानस्थल, विशेष आर्थिक क्षेत्र (सेज), बेलहिया नाका, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, एकीकृत जाँच चौकी, लुम्बिनी, सुविधासम्पन्न होटललगायतले पनि दुई ठूला सहरलाई नजिक गराउँदैछ ।


शौच बस्ने स्थानमा सहर

दिउँसोमा पढ्ने र साँझ–बिहान काम गर्ने भनेर ०१७ सालमा भैरहवा झरेका थिए मुस्ताङका ओमकार गौचन । जोमसोमबाट आफन्तको साथमा पैदल यात्रा गर्दै भैरहवा आएका थिए । उनी आउँदा सुनौली–पोखरा जोड्ने सिद्धार्थ राजमार्ग तयार भएको थिएन । सुनौलीदेखि पाल्पाको झुम्सासम्म सडक निर्माण हुँदै थियो । भैरहवा–बुटवलबीच बस्ती थिएन । सडक छेउछाउ जंगल थियो । भित्र नगन्य रूपमा थारू बस्ती । औलो, हैजा र प्लेग रोगको महामारीको त्रासले सित्तैमा जग्गा दिँदासमेत कोही बस्न मान्दैनथे ।


सिद्धार्थ राजमार्ग तयार भएपछि विस्तार हुँदै गएको बजार अहिले आधुनिक सहरमा परिणत हुँदै गएको छ । अहिले उद्योग, कलकारखाना, शिक्षा, स्वास्थ्य, व्यापार र पर्यटनको हब बन्दै छ । ‘त्यतिबेलाको भैरहवा–बुटवललाई अहिले दाँजेर हेर्दा सपनाबाट ब्युँझेजस्तो अपत्यारिलो लाग्छ,’ सिद्धार्थ उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष तथा भैरहवाका पुराना व्यवसायी ओमकार गौचनले भने, ‘अहिलेजस्तो घरमा बाथरुम, शौचालय बनाउने चलन थिएन । भैरहवाको देवकोटा चोक क्षेत्र पूरै जंगल भएकाले सबै जना लोटा लिएर शौच बस्न जान्थ्यौं ।’ अहिले त्यही क्षेत्र ठूलो बजारमा परिणत भएको छ ।


लाहुरेको ट्रान्जिट

गौचनका अनुसार भैरहवा नाका सुरुमा लाहुरेको नाका थियो । भारतीय सेनामा भर्ती हुन सुनौली हुँदै भारतको गोरखपुर कुडाघाट पुग्थे । छुट्टीमा लाहुरे आउने जाने भएपछि अहिलेको बेलहिया क्षेत्रमा लाहुरेलाई लक्षित गरेर भट्टी खुलेका थिए । अहिलेको पक्लिहवा कृषि क्याम्पस रहेको स्थानमा पहिला ब्रिटिस क्याम्प थियो । पेन्सन बुझ्न आउने ब्रिटिस सैनिक र छुट्टीमा आउने भारतीय सेनाले सुनका गरगहना र कपडा किन्न थालेपछि बेलहिया किनबेचको थलो बन्दै गएको हो ।


भैरहवामा आर्थिक कारोबार बढ्दै गएपछि शान्तिनगरमा विमानस्थल बन्यो । यात्रुहरू विमानमा बसिसकेपछि हातले पंखा घुमाएर चल्ने ‘डोकोटा’ विमान चल्न थाल्यो । त्यही विमानले भैरहवाबाट काठमाडौं र पोखरा कपडा बोक्थ्यो । ‘विमानभित्र पूरै कपडा राखिन्थ्यो,’ गौचनले सम्झिए, ‘दायाँबायाँ दुवैतर्फ यात्रु अडिन मोटो डोरी बाँधिन्थ्यो । त्यही डोरी समातेर यात्रु बस्थ्यौं ।’ पछि सिद्धार्थ राजमार्ग पूर्वपश्चिम राजमार्गसँग जोडिएपछि भैरहवा र बुटवल बजार गुलजार बन्दै गएको उनले बताए ।


लगानीले उत्साह

३८ वर्षअघि उद्योग सञ्चालन गर्न भलवारी (भैरहवा र बुटवलको बीच) आएका थिए पोखराका चन्द्रमान श्रेष्ठ । सिद्धार्थ राजमार्ग बन्ने क्रममा जंगल फाँडेर बस्ती पनि बसाल्ने र कृषिमा विकास गर्ने योजना सरकारले अघि सारेको थियो । यसका लागि तत्कालीन सरकारले भैरहवा–लुम्बिनी भूमिगत जल परियोजनामार्फत रूपन्देहीका ३८ वटा पञ्चायतलाई जोडेको थियो ।


तिनमा रहेका खेतमा सिँचाइ पुर्‍याउन नहर निर्माण गरी उत्पादित उपज बजारसम्म पुर्‍याउने गरी नहरका दुई किनारमा कृषि सडक निर्माण गरिएको थियो । ‘सरकारले कृषि प्रवर्द्धन गर्न मलाई राइस मिल खोल्न प्रेरित गर्‍यो,’ उनले भने, ‘उतिबेला धान–चामल भारत निर्यात हुन्थ्यो ।’ सिद्धार्थ राजमार्गले जोडेको भैरहवाको विकासमा विमानस्थल, लुम्बिनी रण अम्बिका आँखा अस्पताल, महेन्द्र सुगर मिल, युनिभर्सल शिक्षण अस्पतालको थप योगदान छ ।


भैरहवामा निर्माणाधीन क्षेत्रीय सहरी विकास आयोजना, लुम्बिनी गुरुयोजना, लुम्बिनीलाई केन्द्रित गरी बुद्धसँग सम्बन्धित स्थललाई जोड्ने बुद्ध परिपथ बेथरी–तामनगर सडक आयोजनालगायतले पनि विकासमा टेवा दिँदैछन् । ‘भैरहवा–बुटवल एउटै सहरका रूपमा जोडिएपछि लगानीका सम्भावना बढ्दै छन्,’ सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष कुलप्रसाद न्यौपानेले भने, ‘पर्यटन, कृषि, उद्योग र व्यापारमा स्वदेशी र विदेशी लगानी बढ्दो छ ।’ रूपन्देहीमा बढ्दो औद्योगिक लगानीले रोजगारी सिर्जनामा वृद्धिसँगै अर्बौं मूल्यको आयातलाई प्रतिस्थापनसमेत गरेको उनले बताए । बढ्दो सहरीकरणसँगै शिक्षा, स्वास्थ्य, यातायात, मनोरञ्जनका क्षेत्रमा पनि लगानी आकर्षित भइरहेको छ ।


सांस्कृतिक समायोजन

भैरहवा–बुटवल क्षेत्र कुनै एक जाति तथा समुदायको बाहुल्य नभई मिश्रित समुदायको साझा फूलबारीका रूपमा छ । पुर्ख्यौली बसोबास रहेको थारू, दक्षिणतर्फ यादव, अहिरलगायत मधेसी समुदाय र विभिन्न पहाडी जिल्लाबाट बसाइँ सरेर आएका पहाडी समुदायको मिश्रित बसोबास भएकाले सामाजिक र सांस्कृतिक मिश्रित पहिचान छ ।


पहाडी समुदाय थारू बोल्छन्, थारू नेपाली । ‘त्यही नै मिश्रित समुदायको नमुना हो,’ संस्कृतिविद् तथा लुम्बिनी विश्वविद्यालयका प्राध्यापक डा. गितु गिरीले भने, ‘सबै जाति र समुदायको परम्परा र संस्कृतिमा मौलिकता कायम छ । संस्कृतिमा रहेका विकृति र विसंगति हट्दै जान थालेका छन् ।’ संस्कृति र मिलेको समाजले सहरको विकासमा ठूलो योगदान दिने उनले बताए ।


जाेडिँदै देवदह–लुम्बिनी

गौतम बुद्धको मावली देवदहलाई सिधै लुम्बिनीसँग जोड्ने परिक्रमा सडक निर्माण अन्तिम चरणमा छ । सन् २०१४ मा निर्माण थालिएको यो सडकले ६ वटा स्थानीय तह जोड्दै छ ।


देवदहको शीतलनगरबाट सुरु भएको सडक तिलोत्तमाको शिवपुर, मणिग्राम, बुटवलको मोतीपुर, शुद्धोधनको फर्साटिकर, सियारीको सूर्यपूरा हुँदै बुद्ध जन्मस्थल लुम्बिनी सांस्कृतिक नगरपालिका पुग्छ । ५९ करोड ८० लाख ९९ हजार लागतको सडक ४२ किलोमिटर छ । ‘सडक सुचारु हुँदा देवदहले विकासमा फड्को मार्नेछ,’ नगर प्रमुख हीराबहादुर खत्रीले भने, ‘यो किनारको स्थानीय तह बन्ने छैन । बुटवल, तिलोत्तमा र भैरहवाजस्तै गुलजार हुनेछ ।’

सैनामैना नगरपालिका पनि बृहत्तर सहरमा जोडिँदै छ । सैनामैनाले सिधै कञ्चन र सियारी हुँदै दुई ठूला सडक लुम्बिनी पुर्‍याएको छ । आन्तरिक पर्यटकलाई लक्षित गरी पूर्वपश्चिम राजमार्गको रामापुरबाट लुम्बिनी जोड्ने दुई लेन सडक निर्माण भइसकेको छ । यो १८ किलोमिटर छ । सैनामैनाकै मुर्गियाबजारदेखि लुम्बिनी जोड्ने अर्को सडक पनि छ ।

सैनामैनालाई बुटवलसँग जोड्ने गरी दुई अर्ब लागतमा सीमा क्षेत्र डहरगाउँमा एकीकृत थोक कृषि बजार केन्द्र निर्माण हुँदैछ । त्यसले कृषि उपज संकलन, भण्डारण, प्रशोधन र किसानलाई लागत मूल्य उपलब्ध गराउनेछ । बुटवलको कृषि थोक बजार केन्द्र साँघुरो भएपछि दुई नगरपालिकाको सहकार्यमा संघीय सरकारबाट योजना ल्याइएको हो । त्यसमा बुटवलको २० र सैनामैनाको पाँच बिघा जग्गा छ । ‘दुई नगरपालिकाले साझेदारी गर्दा दुवैको अपनत्व हुन्छ । योजना ल्याउन र अघि बढाउन पनि सहज हुने भयो,’ सैनामैना नगर नगरप्रमुख चित्रबहादुर कार्कीले भने, ‘यसैले सहकार्यमा योजना अगाडि बढाएका हौं ।’

देवदह र बुटवल उपमहानगरले पनि सहकार्यमा विकास योजना अघि बढाउँदै छन् । देवदहका स्थानीयले अवरोध गरेपछि अलपत्र परेको बुटवलको फोहोर प्रशोधन केन्द्र देवदह नगरकै सहकार्यमा अघि बढेको बुटवल उपमहानगर प्रमुख शिवराज सुवेदीले बताए । गाउँदेखि बजार जोड्न स्थानीय तहले अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने अवधारणा ल्याएका छन् ।

यसले किसानको उत्पादन बजारमा ल्याउन, यातायात पहुँचबाट टाढा रहेका सेवाग्राही, विद्यार्थी, शिक्षक र कर्मचारीलाई सेवा दिन सजिलो हुनेछ । अन्तरपालिका यातायातमा नौवटा स्थानीय तह जोड्न समिति बनाइएको छ । योजनाका संयोजक तथा सैनामैना नगरप्रमुख कार्कीले गाउँसहर जोड्न र नागरिकलाई बजारको पहुँचमा पुर्‍याउन यसो गरिएको बताए ।

अन्तर गाउँपालिका यातायात सञ्जालमा बुटवल उपमहानगर, सैनामैना, लुम्बिनी सांस्कृतिक, सिद्धार्थनगर, तिलोत्तमा नगरपालिका छन् । कञ्चन, गैडहवा, सियारी र मायादेवी गाउँपालिका जोडिएका छन् । सार्वजनिक निजी साझेदारी कार्यक्रम अर्थात् पीपीपी अवधारणाअनुसार सेवा सञ्चालन हुनेछ ।

अन्तरपालिका सडकको लम्बाइ ८० किलोमिटर हुनेछ । पश्चिममा सैनामैनाबाट सुरु भएको सडक कञ्चन, गैडहवा, सियारी हुँदै लुम्बिनी पुग्नेछ । लुम्बिनीबाट पुनः मायादेवी, सिद्धार्थनगर, तिलोत्तमा बुटवल हुँदै सैनामैनामा जोडिनेछ ।

प्रकाशित : वैशाख १, २०७६ ०८:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?