कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आउँदो बजेटमा वृद्धभत्ता बढ्छ : प्रधानमन्त्री

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले वृद्धभत्ता बढाउने घोषणा गरेका छन् । ज्येष्ठ नागरिक स्वास्थ्य बिमा राष्ट्रिय अभियानको शुभारम्भ र खोलौँ बैंक खाता अभियान कार्यक्रमको उद्‌घाटन गर्दै प्रधानमन्त्री ओलीले आगामी बजेटमा वृद्धभत्ता बढाउने घोषणा गरेका हुन् । 

आउँदो बजेटमा वृद्धभत्ता बढ्छ : प्रधानमन्त्री

'यो बूढाबूढीको भलो चिताउने सरकार हो' प्रधानमन्त्री ओलीले भने,' यसपालिको बजेटमा वृद्धभत्ता बढ्छ । ढुक्क भए हुन्छ ।' प्रधानमन्त्री ओलीले २०५१ सालमा तत्कालीन एमालेको सरकारले वृद्धभत्ता वितरण सुरु गरेपछि नेपालीहरूमा बाँच्ने मनोविज्ञान बढेको बताए ।


'पहिला पहिला बूढाबूढीहरू कति वर्ष पुग्नुभयो भन्दा ६८ वर्ष पुगियो । अब कति बाँचिएला र भन्थे' प्रधानमन्त्री ओलीले भने,'यति बेला वृद्धभत्ता पाउन अब दुई वर्ष बाँकी छ भन्छन् । वृद्धवृद्धाहरुमा जीवनप्रतिको आशा बढेको छ ।' प्रधानमन्त्री ओलीले सामाजिक सुरक्षाका हरेक क्षेत्रमा सरकारको ध्यान पुगेको बताए । उनले कसैले भोकै नांगै बस्नु नपर्ने, मागेर खानु नपर्ने बताएका छन् । त्यस्तो अवस्थाका असहायको सहारा सरकार हुने प्रधानमन्त्री ओलीको भनाइ छ ।


स्वास्थ्य बिमा कार्यक्रमले ज्येष्ठ नागरिकहरूको स्वास्थ्य उपचारमा ठुलो भरथेग गर्ने प्रधानमन्त्री ओलीको भनाइ छ । 'हामी नेपाललाई केही वर्ष भित्रै निरोगी नेपाल, स्वास्थ्य नेपाल बनाउदैछौँ' प्रधानमन्त्री ओलीले भने,'यसका लागि हाम्रो खानपानलाई विषादी रहित बनाउनु पर्दछ ।' प्रधानमन्त्री ओलीले केही ज्येष्ठ नागरिकहरूलाई कार्यक्रममा स्वास्थ्य बिमा कार्ड समेत वितरण गरे ।


यसै गरी कार्यक्रममा प्रधानमन्त्रीका पिता मोहन प्रसाद ओली र सासू धनमाया शाक्यले बैङ्क खाता खोलेका छन् । उनीहरूलाई प्रधानमन्त्री ओलीले राष्ट्रिय वाणिज्य बैंकको चेक हस्तान्तरण गरेका छन् ।

प्रकाशित : वैशाख १, २०७६ १४:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?