कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कांग्रेसले जागरण अभियान चलाउने

वैशाख ११ देखि अभियान सुरु हुने, तीन चरणमा सञ्चालन हुने

काठमाडौँ — कांग्रेसले नयाँ वर्षको आरम्भसँगै पार्टी संगठन सुधारका लागि जागरण अभियान चलाउने भएको छ । कांग्रेस सहमहामन्त्री प्रकाशरण महतले पहिलो चरणको अभियान वैशाख ११ गते सुरु हुने बताए । 'कार्यक्रम र समयतालिकाको औपचारिक घोषणाको तयारीमा छौं,' उनले भने, 'तीन चरणको कार्यक्रम वैशाखबाट मंसिरसम्म चल्नेछ ।' 

कांग्रेसले जागरण अभियान चलाउने

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जागरण अभियानका लागि सचिवालयले कार्यक्रम तयार पारिरहेको जानकारी दिए । पार्टी केन्द्रीय कार्यालयले गर्ने कार्यक्रमका अतिरिक्त केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले प्रशिक्षणका कार्यक्रम लैजाने भएको छ । उपसभापति विमलेन्द्र निधि प्रमुख रहेको प्रतिष्ठानले युवा मतदातालाई पार्टीप्रति आकषिर्त गर्ने खालका कार्यक्रम र प्रशिक्षण सञ्चालन गर्ने तयारी गरिरहेको छ । जिल्ला र क्षेत्रीय कार्यसमितिले पनि आआफ्नो अभियान चलाउने छन् ।


प्रवक्ता शर्माका अनुसार कांग्रेसले २०७६ साललाई जागरण अभियानसँग जोड्ने तयारी गरेको छ । अभियान पहिलो चरणमा ७७ जिल्ला, दोस्रो चरणमा ३ सय ३० निर्वाचन क्षेत्र र तेस्रो चरणमा ७ सय ५१ स्थानीय तहमा पुर्‍याउने लक्ष्य छ । अभियानलाई समन्वय गर्न सबै केन्द्रीय सदस्यलाई जिल्ला खटाउने तयारी कांग्रेस सभापति शेरबहादुर देउवाले गरिरहेका छन् । पार्टीका सबै भ्रातृसंस्था तथा शुभेच्छुक संस्थाहरूलाई फरक जिम्मेवारीका साथ अभियानमा परिचालन गराइने छ ।


सहमहामन्त्री महतले अभियानको मुख्य लक्ष्य सरकारका गलत कामकारबाहीलाई आम जनतामाझ लैजाने हुने बताए । पार्टीका नीति, सिद्धान्त, कांग्रेस नेतृत्वमा रहेका बेला भएका उपलब्धिलाई समेत आम जनताको घरदैलोमा पुर्‍याउने लक्ष्य कांग्रेसले लिएको उनले बताए । 'महासमिति बैठकबाट पारित पार्टीको आर्थिक तथा राजनीतिक प्रस्ताव र पार्टीको विधानलाई समेत कार्यकर्तामाझ बुझाउने प्रयास हुनेछ,' महतले भने, 'स्थानीय तहमा पार्टीका समस्या र विवाद सुल्झाउने कामसमेत हुनेछ ।'


पहिलो चरणको कार्यक्रम एक महिनासम्म चल्नेछ । त्यसपछि दोस्रो र तेस्रो चरणका कार्यक्रम सुरु हुनेछ । केन्द्रले आयोजना गरेका कार्यक्रम मंसिरसम्म चल्नेछन् । प्रतिष्ठान र तल्ला तहका निकायले कार्यक्रम जारी राख्ने छन् ।

अभियानलाई प्रभावकारी बनाउन पार्टीका केन्द्रीय विभाग गठनको तयारीमा सभापति देउवा लागेका छन् । महाधिवेशन सम्पन्न भएको दुई महिनाभित्र गठन हुनुपर्ने विभाग तीन वर्ष बित्दासमेत गठन गरिएको छैन । पार्टीभित्रको आन्तरिक किचलो नदेखिने गरी विभाग गठन गर्न देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासँग परामर्श थालेका छन् ।


विधानमा २८ विभागको व्यवस्था छ । केन्द्रीय कार्यसमितिले आवश्यकताबोध गरे बढाउन सक्ने व्यवस्था विधानमा छ । यसअघि केन्द्रीय कार्यसमितिले फुटाएर ४२ विभाग बनाएको थियो । 'बढाउने या विधानकै व्यवस्थाअनुसार २८ वटा मात्रै गठन गर्ने भन्नेबारे छलफल भइरहेको छ,' सहमहामन्त्री महतले भने, 'एक/दुई दिनमै विभाग गठन हुन्छ ।'


प्रकाशित : वैशाख १, २०७६ १९:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?