कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जब विमानले रन–वे भुल्यो

दुई हेलिकप्टर र सुरक्षाकर्मीलाई ठक्कर दिँदा कोपाइलटसहित ३ को मृत्यु 
सुरज कुँवर

काठमाडौँ — नेपालका पहाडी र हिमाली भेगमा मात्रै उडान भर्दै आएको समिट एयरको टर्बोलेट विमान आइतबार उडानका क्रममा दुर्घटना हुँदा कोपाइलटसहित तीन जनाको मृत्यु भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजकुमार क्षत्रीका अनुसार लुक्ला विमानस्थलबाट मन्थली (रामेछाप) का लागि उड्ने क्रममा धावनमार्ग छाडी दाहिनेतर्फ मोडिएर विमानले दुई हेलिकप्टरलाई ठक्कर दिएको थियो ।

जब विमानले रन–वे भुल्यो

दुर्घटनामा ३४ वर्षीय कोपाइलट सुजित ढुंगाना, हेलिप्याडमा रहेका पर्यटन प्रहरीका असई रामबहादुर खड्का र अर्का नेपाल प्रहरीका असई रुद्रबहादुर श्रेष्ठको मृत्यु भएको छ । दुई जनाको घटनास्थलमै र असई श्रेष्ठको उपचारका क्रममा काठमाडौंमा मृत्यु भएको हो ।


मन्थली विमानस्थलका लागि बिहान ९ः०७ बजे फर्किने क्रममा उक्त विमान तारबारभित्र हेलिप्याडमा राखिएका दुइटा बीथ्रीई हेलिकप्टरमा ठोक्किन पुगेको थियो । विमानले ठक्कर दिँदा मनाङ एयरको ककपिटबाट ओर्लिने तरखरमा रहेका क्याप्टेन चेतबहादुर गुरुङ र त्यसै एयरलाइन्सका स्थानीय कर्मचारी लाक्पा शेर्पा सामान्य घाइते भएका छन् ।


घाइतेमध्ये क्याप्टेन रवीन्द्रबहादुर रोकाया र शेर्पा उपचारपछि आइतबारै घर फर्किसकेका छन् । दुर्घटना भएको स्थल धावनमार्गको मध्यविन्दुबाट करिब ५० मिटर दूरीमा रहेको लुक्ला विमानस्थलले जनाएको छ । दुर्घटनामा ज्यान गुमाएका दुई असई फाप्लुबाट लुक्ला आइपुगेका सोलुखुम्बुका सीडीओ र डीएसपीलाई लिन हेलिप्याडमा पुगेका थिए ।


उडान नम्बर ८०२ रहेको उक्त विमानको मन्थली–लुक्ला आठौं उडान थियो । मन्थली–लुक्ला हवाई दूरी १८ मिनेटको छ । क्याप्टेन रोकायाले विमान उडाउने जिम्मा कोपाइलट ढुंगानालाई सुम्पेका थिए । समिट एयरका प्रबन्ध निर्देशक मनोज कार्कीका अनुसार यात्रु र कार्गोरहित खाली विमान भएकाले उडानको जिम्मा कोपाइलटलाई दिइएको थियो । ‘खाली विमान भएकाले उक्त उडानको जिम्मा कोपाइलटलाई दिइएको क्याप्टेनले बताएका छन्,’ प्रबन्ध निर्देशक कार्कीले भने ।


समिटले यो दुर्घटना धावनमार्गका कारण नभई उडानका क्रममा कुनै कमजोरी भएको अनुमान गरेको छ । नागरिक उड्डयन प्राधिकरणले लुक्लाजस्तो जोखिमयुक्त मानिने विमानस्थलका लागि कोपाइलट ढुंगाना ‘पर्फेक्ट’ भइनसकेको जनाएको छ । समिटबाटै पाइलट करिअर थालेका कोपाइलटले यस कम्पनीको विमानमा ६ सय घण्टा हाराहारी उडान अनुभव बटुलिसकेको जनाइएको छ ।


समिट एयरको विमानले ठक्कर दिँदा पार्किङमा राखिएको मनाङ एयरको लिमा चार्ली कल साइन भएको बीथ्रीई हेलिकप्टर क्षतिग्रस्त भएको छ भने श्री एयरलाइन्सको लिमा किलो कल साइन भएको हेलिकप्टरमा सामान्य क्षति पुगेको छ । १८ सिटे विमानमा रहेकी परिचारिक रश्मी लामालाई भने केही नभएको समिटले जनाएको छ ।


लुक्लामा मानवीय क्षतिसहित भएको समिटको यो दोस्रो दुर्घटना हो । यसअघि ०७४ जेठमा समिटकै यस्तै खाले कार्गो बोकेको लेट विमान दुर्घटना हुँदा चालकदलका दुवै सदस्यको मृत्यु भएको थियो । आठ वर्षअघि सुरु भएको समिट दुर्गम तथा हिमाली भेगमा मात्रै सर्वाधिक उडान गर्ने तारापछिको दोस्रो निजी क्षेत्रको एयरलायन्स हो ।


उक्त दुर्घटनापछि आइतबार सबै उडान रोकेको समिटले सोमबार पुनः सुचारु गर्ने भनेको छ । नेपालमा यो प्रकारको विमान उडाउने समिट एक्लो एयरलाइन्स हो । अब यससँग तीनवटा लेट विमान छन् । दुर्घटनामा परेको अल्फा माइक होटल कल साइनमा दर्ता भएको लेट विमान सन् २०१३ देखि उडानमा थियो ।


समिटअघि गोमा एयर भनिने कम्पनीले कर्णालीको रारा, डोल्पा, सिमकोट, मुस्ताङ, लुक्लामा नियमित उडान भर्दै आएको छ ।

यसैबीच पर्यटन मन्त्रालयसमेत हेर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले घटनाको छानबिन गर्न प्राधिकरणका पूर्वमहानिर्देशक राजेशराज दलीको अध्यक्षतामा छानबिन समिति गठन गरेका छन् । समितिमा नेपाल वायुसेवा निगमका इन्जिनियर राजेश श्रेष्ठ र सीता एयरका पाइलट रवीन्द्र डंगोल सदस्य छन् भने पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर घिमिरे सदस्यसचिव छन् ।

प्रकाशित : वैशाख २, २०७६ ०७:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?