कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

साइबर कानुन खारेजीको माग

काठमाडौँ — समाचार लेखेकै आधारमा पत्रकारलाई विद्युतीय अपराधसम्बन्धी कसुरमा पक्राउ गरिएको घटनाको पत्रकारले विरोध जनाएका छन्  । प्रहरीले कास्कीबाट सञ्चालित ताण्डव न्युज डटकमका सम्पादक अर्जुन गिरीलाई पोखराबाट पक्राउ गरेको हो  ।

उनको रिहाइ तथा विद्युतीय कारोबार (साइबर) ऐन खारेजी माग गर्दै पत्रकारले मंगलबार माइतीघरमा प्रदर्शन गरे ।
अनलाइनमा प्रकाशित समाचारका विषयमा उजुरी परेको भन्दै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले गिरीलाई काठमाडौं ल्याई हिरासतमा राखेको छ । सोमबार पत्रकार महासंघको जिम्मामा छाडिएका गिरीलाई अनुसन्धानका लागि भन्दै पुनः नियन्त्रणमा लिइएको हो ।

अनलाइन पत्रकार संघको अगुवाइमा गरिएको प्रदर्शनमा महासंघ अध्यक्ष गोविन्द आचार्यले साइबर अपराधसम्बन्धी ऐन पटकपटक पत्रकारविरुद्ध प्रयोग गरिनु गलत भएको भन्दै गिरीलाई तत्काल रिहा गर्न माग गरे । महासंघका महासचिव रमेश विष्टले समाचार लेखेकै कारण पत्रकारलाई विद्युतीय कारोबार ऐनमा कारबाही चलाइनु आपत्तिजनक रहेको उल्लेख गरे । प्रेस चौतारीका गणेश बस्नेतले समाचार लेखेकै आधारमा पत्रकारमाथि भइरहेको धरपकड रोक्न सरकारको ध्यानाकर्षण गराए ।

प्रेस युनियनका सल्लाहकार शिव लम्सालले बैंकिङ अपराध नियन्त्रणका लागि ल्याइएको ऐनलाई सरकारले पत्रकारमाथि प्रयोग गरिरहेको भन्दै आपत्ति जनाए । पोखरामा पनि गिरीको रिहाइ माग्दै मंगलबार सञ्चारकर्मीले गैरापाटनस्थित जिल्ला प्रहरी कार्यालयअगाडि धर्ना दिएका छन् । व्यवसायी वीपेन्द्रराज बतासविरुद्ध ठगी मुद्दामा कारबाहीका लागि पोखरा–६ का व्यवसायी मनोज भनिने दालप्रसाद श्रेष्ठ र जनकराज पहारी उजुरी दिन जिल्ला प्रहरी कार्यालय गएको विषयमा गिरीले गत शुक्रबार आफ्नो अनलाइनमा समाचार लेखेका थिए ।


पोखरा–६ का व्यवसायी श्रेष्ठले आफ्नो १ करोड ९८ लाख र पहारीले २ करोड २५ लाख बतासले ठगी गरेको दाबी उजुरीमा छ । बतासविरुद्ध ठगी मुद्दाका कारबाहीका लागि दिएको उजुरी कास्की प्रहरीले दर्ता पनि गरिसकेको छ । समाचार प्रकाशित भएपछि बतासले साइबर अपराध मुद्दामा गिरीमाथि कारबाहीका लागि सीआईबीमा उजुरी दिएका थिए । त्यसपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । गिरीविरुद्ध मुद्दा हाल्न सुरुमा प्रेस काउन्सिल पुगेका बतासलाई ताण्डव न्युज अनलाइन दर्ता नै नभएको भन्ने पत्र दिएको थियो । अनधिकृत अनलाइन रहेको भन्दै बतास सीआइबीमा पुगेपछि प्रहरीले साइबर अपराध मुद्दामा पक्राउ गरेको पत्रकार महासंघ कास्की अध्यक्ष दीपेन्द्र श्रेष्ठले बताए ।

‘काउन्सिलका कर्मचारीले दर्ता गर्दा एउटा अक्षरमा आफैं गरेको त्रुटिले मुद्दा साइबर सेलमा पुग्यो,’ उनले भने, ‘काउन्सिलले अहिले आफ्नो गल्ती स्वीकार गरिसकेको छ । अनलाइन र पत्रिका दर्ता रहेको खुलेपछि मुद्दा अदालत र प्रहरीले होइन काउन्सिलले नै हेर्नुपर्ने हो ।’ गिरीलाई तत्काल छाड्नुपर्ने भन्दै महासंघ शाखाले बुधबार कास्कीका सबै पत्रिका, अनलाइन, रेडियो र टेलिभिजनबाट विरोध प्रदर्शन आह्वान गरेका छन् । गिरीको रिहाइ माग्दै तनहुँको दमौलीमा सञ्चारकर्मीले जिल्ला प्रशासन कार्यालय अगाडि प्रदर्शन गरेका छन् भने स्याङ्जा महासंघले प्रमुख जिल्ला अधिकारीमार्फत गृहमन्त्रीलाई ज्ञापनपत्र पठाएको छ ।


बतासविरुद्ध पक्राउ पुर्जी जारी
श्रेष्ठ र पहारीको उजुरीपछि ठगी मुद्दामा कारबाहीका लागि व्यवसायी वीपेन्द्रराज बतासविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । बतासले ४ करोड ३३ लाख रुपैयाँ ठगी गरेको भन्दै गत शुक्रबार दिएको उजुरी प्रहरीले दर्ता नगरी राखेको थियो । पत्रकार गिरीलाई पक्राउ गरेर काठमाडौं पठाएपछि मात्रै उजुरी दर्ता गरेको हो । उक्त उजुरीका आधारमा कास्की जिल्ला अदालतबाट बतासविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

उक्त पक्राउ पुर्जीविरुद्ध परामादेशको माग गर्दै बतासका तर्फबाट पोखरा उच्च अदालतमा मंगलबारै रिट दायर भएको छ । केन्द्रीय अनुसन्धान ब्युरोको साइबर अपराध शाखामा मुद्दा र जिल्ला अदालतमा लिखित गाली बेइज्जती मुद्दा दर्ता भएकाले आफूलाई पक्राउ नगर्न बतासले माग गरेका छन् । गत सोमबार बतासले कास्की जिल्ला अदालतमै पत्रकार गिरी, श्रेष्ठ र पहारीविरुद्ध गाली बेइज्जती मुद्दा पनि दर्ता गराएका थिए । उक्त मुद्दामा प्रतिवादीविरुद्ध म्याद काट्ने प्रक्रिया सुरु भएको छ ।

प्रकाशित : वैशाख ४, २०७६ ०८:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?