राष्ट्रपति वैशाख ११ मा चीन जाँदै, पारवहन प्रोटोकलमा हस्ताक्षर हुने

नेपालले बीआरआई सम्झौता अघि बढाउन हालसम्म कुनै औपचारिक संयन्त्र बनाएको छैन, जबकि श्रीलंकामा राष्ट्रपतिमातहतमा र पाकिस्तानमा बीआरआईका परियोजना कार्यान्वयन गर्ने विभाग नै खडा भइसकेका छन् ।
घनश्याम खड्का

काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारी यही वैशाख ११ गते चीनको राजकीय भ्रमणमा निस्कने भएकी छन् । चिनियाँ समकक्षी सी चिनफिङको निमन्त्रणमा भण्डारीले वैशाख १९ सम्म चीन भ्रमण गर्न लागेकी हुन् । 

भ्रमणका क्रममा दुई देशका राष्ट्रपतिबीच द्विपक्षीय वार्ता हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । त्यस अवसरमा व्यापार तथा पारवहन सन्धिको प्रोटोकललगायत केही महत्त्वपूर्ण द्विपक्षीय योजनाहरूमा हस्ताक्षर हुने जनाइएको छ । राष्ट्रपति भण्डारीले बेइजिङमा हुने ‘बेल्ट एन्ड रोड (बीआरआई) को दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनलाई पनि सम्बोधन गर्ने कार्यक्रम छ ।

Citizen


यसअघि राष्ट्रपति रामवरण यादव सन् २०१५ को मार्चमा हेनान प्रान्तमा आयोजित बोआओ फोरममा भाग लिन गए पनि त्यो औपचािरक भ्रमण मात्रै थियो । त्यतिबेला यादवले समकक्षी सीसँग सामान्य भेटघाट गरे पनि कुनै सम्झौता भएको थिएन । जानकारहरूका अनुसार यस पटक भने चीनले राष्ट्रपति भण्डारीलाई लगभग कार्यकारी तहकै हैसियतमा महत्त्व दिएर निम्त्याएको छ ।

‘भारतले हाम्रा दुवै राष्ट्रपतिलाई राजकीय भ्रमणमा निम्त्याउँदा पनि उत्तरको छिमेकीले चाहिँ हालसम्म कसैलाई यसरी बोलाएको थिएन,’ शीतलनिवासका एक अधिकारी भन्छन्, ‘त्यसले गर्दा नेपालको राजनीतिक परिवर्तनलाई चीनले नरुचाएको हो कि भन्ने आशंका काठमाडौंमा परिरहेको थियो, त्यसलाई चिर्न पनि उसले राष्ट्रपतिलाई राजकीय निम्तो दिएको देखिन्छ ।’
भारतले राष्ट्रपति यादवलाई सन् २०१० मै राजकीय सम्मानका साथ दिल्लीमा स्वागत गरेको थियो भने भण्डारीलाई २०१७ को अप्रिलमा । भण्डारीको पनिराष्ट्र प्रमुखका हैसियतले यो पहिलो चीन भ्रमण हो ।

चिनियाँ मामिला जानकारहरूका अनुसार राष्ट्रपतिलाई ‘रिकग्नाइज्ड’ गर्न मात्रै चीनले भण्डारीलाई बोलाएको होइन । सन् २०१७ को मे १२ मा एसियाका ६५ भन्दा बढी देशहरूलाई जोड्ने चीनको महत्त्वाकांक्षी योजना बीआरआईमा संलग्न हुने विषयमा दुई देशबीच सम्झौता भएको थियो । यो सम्झौता तत्कालीन पुष्पकमल दाहाल नेतृत्वको सरकारले गरेको थियो ।

‘बीआरआईबाट नेपालले महत्त्वपूर्ण योजना कार्यान्वयन गर्ने अपेक्षा चीनले गरेको थियो तर भनेजस्तो कुनै प्रगति काठमाडौंले गर्न सकेन, जसले गर्दा बेइजिङ केही निराश थियो,’ चीन मामिलाका एक विश्लेषक भन्छन्, ‘ओली सरकारले दाहाल सरकारको पालामा भएका सम्झौताका योजना अघि बढाए, त्यसको जस आफूलाई भन्दा दाहाललाई नै जाने भन्ने ठानेकाले यसबारे प्रगति हुन नसकेको चिनियाँहरूको बुझाइ छ ।’

नेपालले बीआरआई सम्झौतालाई अघि बढाउन हालसम्म कुनै औपचारिक संयन्त्र बनाएको छैन । जबकि श्रीलंकामा राष्ट्रपति मातहतमा र पाकिस्तानमा बीआरआईका परियोजना कार्यान्वयन गर्ने विभाग नै खडा भइसकेका छन् ।

‘भारत बीआरआईमा असंलग्न मात्रै होइन, विरोध नै गर्दै आइरहेको छ,’ चीनका पूर्वराजदूत डा. महेश मास्के भन्छन्, ‘तर पनि उसले बीआरआईकै कार्यान्वयनका लागि चीनले खडा गरेको एसियाली पूर्वाधार विकास बैंकबाट भने दुई अर्ब डलरको सहुलियत ऋण भने लिइसकेको छ । नेपाल भने पक्ष राष्ट्र भएर पनि न कुनै परियोजना अगाडि बढ्न सक्यो न हामीले बैंकबाट ऋण लिएर विकासको काममा लगाउनै सक्यौं ।’

सरकारले प्राथमिकतासाथ योजना छनोट गर्न नसकेको, भनेजस्तो तत्परतासाथ संयन्त्र पनि बनाउन नसकेको र यसमा चासोसमेत पनि आशा गरेअनुसारको नदेखाएको चिनियाँ पक्षको बुझाइ छ । सरकारको यो उदासीनता तोड्न चीनले राष्ट्रपतिको ‘कार्ड प्रयोग गरेको’ जानकारहरू बताउँछन् ।

‘प्रधानमन्त्रीको वरपरका मानिसमा पश्चिमा खेमासँग बढी हिमचिम छ र त्यसले गर्दा बीआरआईमा ओली सरकारले खास चासो देखाएन भन्ने चिनियाँ बुझाइ देखिन्छ,’ ती विश्लेषक भन्छन्, ‘राष्ट्रपति र प्रधानमन्त्रीको सम्बन्ध राम्रो भएको र राष्ट्रपतिको आग्रहलाई प्रधानमन्त्रीले आलटाल गर्न नसक्ने अवस्था रहेको बुझेपछि चीनले भण्डारीलाई नै बोलाएर सम्झौता गर्न लागेको हो ।’

ऋणको दुश्चक्रमा पार्ने हुनाले चीनसँग कुनै सम्झौता गर्नुअघि सतर्क रहन अमेरिकाले खुला रूपमै नेपाल सरकारलाई सुझाउँदै आएको छ । राष्ट्रपतिलाई चीनले बीआरआईका लागि बेइजिङ आउन निम्तो दिइरहेकै बेला गत फागुनको दोस्रो साता नेपाल आएका अमेरिकी उपरक्षामन्त्री जोए फेल्टरले कठमाडौंमा पत्रकार सम्मेलनै गरेर चीनले नेपालमा गर्ने लगानी उसको मात्रै हितमा हुन नहुने अझिव्यक्ति दिएका थिए ।

ऋणको दुश्चत्रमा पर्ने आरोपबाट मुक्त हुनकै लागि चीनले नेपाल सरकारले बुझाएका ३५ योजनालाई झारेर ९ वटामा पुर्‍याएको ठान्छन् रूपक सापकोटा । ‘चीन नेपालको पनि हित हुने खालका ठूला योजनामा लगानी गर्न आतुर छ,’ चीनको रेनमिन विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय मामिलामा विद्यावारिधि उनले भने,‘नेपालले भनेजस्तो योजना छनोट गर्न सकेको छैन, त्यसैले उनीहरू केही निराश पनि छन् ।’

चीनको केरुङसम्म आइपुग्ने रेल काठमाडौंमा पनि आउनुपर्ने नेपालको मुख्य जोड छ । ‘चिनियाँहरू त्यो ल्याउन तयार छन् तर अनुदानमा भने होइन,’ उनी भन्छन्, ‘बीआरआईको परियोजनामा नेपाल साझेदारका हैसियतले प्रस्तुत हुन सकेन, चीनलाई दाता राष्ट्रका रूपमा मात्रै हेरियो र योजनाहरू अघि बढाइएन, यहीँनिर भूल भएको देखिन्छ ।’ चीनसँग विश्व बैंक र एसियाली विकास बैंकले दिएभन्दा कम ब्याजदरमा ऋण लिएर रेलमार्ग बनाउन प्रस्ताव गरेको भए काम अघि बढिसक्ने सापकोटाको बुझाइ छ ।

प्रकाशित : वैशाख ७, २०७६ ०७:२१
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

आठौं राष्ट्रिय खेलकुद : खेलाडीलाई चाउचाउ र खुर्सानीको भर

ध्रुव तुलाधर

दाङ — खेलस्थलमा रातारात हालिएका छाना हावाहुरीले उडाएको छ । व्यवस्थापन भद्रगोल हुँदा दुई दिनअघि जितेका खेलाडीले समेत घाँटीमा पदक झुन्ड्याउन पाएका छैनन् । राम्रै खाजा खाने हो भने खेलाडीले ७ किमि टाढाको बजार धाउनुपर्ने स्थिति छ । उनीहरुले चाहेअनुसार समय ‘म्यानेज’ गर्न पाइरहेका छैनन्, २० किमि टाढाबाट बिहानै एकै सिफ्टमा ल्याइन्छ र साँझ एकैपल्ट लगिन्छ । पदाधिकारी र निर्णायकसमेत गुनासो गरिरहेका भेटिन्छन्, ‘पानी पनि खान पाइएन ।’

एथलेटिक्समा प्रदेश १ को प्रतिनिधित्व गरेका सम्पाल्मु शेर्पा, दिर्पा बस्नेत र अजिता गिरी शुक्रबार भोक सहन नसकेपछि साँधेको चाउचाउ खाँदै । तस्बिर ः अनिश रेग्मी/कान्तिपुर 

तुलसीपुरस्थित बेलझुन्डीमा अन्तर्राष्ट्रियस्तरको एथलेटिक्स ट्र्याक त बनेको छ । नजिकै बस्ती र पसल नहुँदा खेलाडीले भोकसमेत मेट्न पाएका छैनन् । होटलमा सबेरै ब्रेकफास्ट गरेर आएका खेलाडी शुक्रबार अपराह्न दौडपछि खाजा खोज्न भौंतारिँदै थिए । कतै भेटेनन् । गेट नजिकैको सानो चिया पसलमा चाउचाउ साँध्न लगाए ।

प्रदेश १ को प्रतिनिधित्व गरेका सम्पाल्मु शेर्पा, दिर्पा बस्नेत र अजिता गिरी एउटै थालमा साँधेको चाउचाउ खान व्यस्त थिए । उनीहरू फरक–फरक जिल्लाबाट आएका हुन् । खेलकुदमै हिँड्दाहिँड्दै पछिल्लो समय मिल्ने साथी भएका छन् । त्यसैले उनीहरू एउटै थालमा दिल खोलेर खाँदै थिए । ‘दौडिने खेलाडीले यसरी जथाभावी खान हुन्छ त ?’ एउटीले जवाफ फर्काइन्, ‘भोकले मर्न लागिसकियो । के खानु त अरू ? गुरुहरूले त जथाभावी नखानु भनेको छ नि । भोक लाग्यो क्यारे, खाइयो ।’

उनीहरू जस्तै थुप्रै खेलाडी चिया, खाजा खोज्न भौंतारिइरहेका थिए । प्रतियोगितामा अलिकति अनुभव बोकेका खेलाडीले भने आफ्नो व्यवस्थापन आफैंले गरिरहेका छन् । उनीहरूले हल्का किसिमका डाइट केरा, स्याउजस्ता फलफूल आफैंले लगेर खाएका पनि छन् । धेरैको हकमा त्यस्तो छैन । पदाधिकारी र खेलाडीले पानीसमेत खान नपाइएको बताइरहेका थिए ।

खेलाडीहरू रंगशालाबाट ७ किमि दूरीमा रहेको तुलसीपुर र झन्डै २० किमि टाढा घोराहीमा बसेका छन् । खेलाडीलाई बिहान ल्याउने र खेल सबै सकिएपछि एकै सिफ्टमा लैजाने गर्नाले पनि उनीहरू खानाको मारमा परेका छन् । ७ बजे खेल सुरु हुने रिपोर्टिङ टाइमले गर्दा बिहानै आउनुपर्ने हुन्छ ।

एथलेटिक्स प्रशिक्षक धनीराम चौधरीका अनुसार खेलाडी आफ्नो समयअनुसार चल्न पाइरहेका छैनन् । आफ्नो खेल सकियो भने पनि जान सक्दैनन् । एकै सिफ्टमा जाने–आउने व्यवस्था छ । त्यसले गर्दा उनीहरूले बिहान खाएको सामान्य ब्रेकफास्टका भरमा १०–११ बजेसम्म खेल्नु परिरहेको छ । वरिपरि किनेर खाने ठाउँ नपाएको गुनासो खेलाडीले गरिरहेको उनले सुनाए । रंगशालाको ट्र्याक अन्तर्राष्ट्रियस्तरको छ । सुविधाको नाममा भने केही छैन ।

खेलाडीले जुन प्रदर्शन दिनुपर्ने हो, भोकका कारण त्यो दिन नसक्ने उनले बताए । ‘केही खाएर वार्मअप गरेर खेल्नुपर्ने हुन्छ । अहिले त्यो अवस्था छैन । बिहानैको खाजाका भरमा खेल्न खेलाडीलाई गाह्रो हुन्छ । त्यसमाथि गर्मी छ,’ उनले भने, ‘राष्ट्रिय खेलकुद कार्यक्रमबारे धेरैलाई थाहै छैन भन्छन् । थाहा पाएको भए ठेलागाडाले भए पनि पसल राख्थे होलान् । राष्ट्रिय खेलकुदजस्तो प्रतियोगिता भएको ठाउँमा धेरथोर त जानकारी हुनुपर्ने हो । मलाई पनि अचम्म लाग्यो ।’ रंगशालानजिकै बजार रहेको बस्ती छैन ।

ठूलो बजार तुलसीपुर पुग्न ७ किलोमिटर टाढा जानुपर्छ । घोराही जान त्योभन्दा झन्डै तेब्बर दूरी नाप्नुपर्ने हुन्छ । टिमहरू आफैंले व्यवस्थापन गरेर ल्याएमात्र हो, नभए खेलाडीले किनेर ब्यालेन्स डाइट खान्छु भन्नु त स्वर्गको फल आँखा तरी मर भनेजस्तै छ ।

यति ठूलो खेलकुद महोत्सव हुँदै छ भन्ने सहरका जानेबुझेकालाई पनि थाहा छैन । कक्षा १० मा अध्ययनरत आयुष रेग्मी भन्छन्, ‘यहाँ राष्ट्रिय खेलकुद भएको छ र ? खोइ मलाई त थाहै छैन ।’ यता रातारात छानो हालिएको तुलसीपुरमै रहेको कराँतेको हलमा शुक्रबार दिउँसो तामझामसाथ भाषण गरेर प्रतियोगिता उद्घाटन गरियो । बेलुकीपख आएको हावाहुरीले अस्तव्यस्त बनाएपछि खेल हुने–नहुने टुंगो लागेको छैन ।

हलको आधा भागमा मात्र ट्रस हालिएकाले त्यो खुला नै थियो । जसले गर्दा हावाहुरी र पानी आयो भने खेलाउन सक्ने अवस्था हुँदैन ।

उद्घाटनको चस्का
आठौं राष्ट्रिय खेलकुदको नेपालगन्जमै बिहीबार भव्य उद्घाटन भइसकेको हो । यहाँ पनि एथलेटिक्सको खेल बिहीबारै सुरु भएको थियो । तर औपचारिक उद्घाटन भन्दै शुक्रबार खेलाडीलाई चर्को घाममा भाषण सुनाएर पानसमा बत्ती बालेर उद्घाटन गरिएको थियो । मुख्यस्थलमा राष्ट्रपतिबाट उद्घाटन नभएका कारण यहाँको उद्घाटन पनि थाती राखिएको बताइएको छ ।

व्यवस्थापन भद्रगोल हुँदा खेलाडीले खेल सुरु भएको दुई दिन बितिसक्दा पनि घाँटीमा पदक झुन्ड्याउन पाएका छैनन् । शुक्रबार पदक वितरण गरिने भनिए पनि ट्रे नहुँदा र स्पिकरमा ब्याट्री सकिँदा बाँड्न नपाएको एथलेटिक्सका मुख्य प्रशिक्षक विक्रमजंग थापाले सुनाए ।

प्रकाशित : वैशाख ७, २०७६ ०७:१६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT