कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पुल बन्यो चलेन, ट्युबमै महाकाली वारपार

मनोज बडू

दार्चुला — महाकाली नदीमा पुल बने पनि लेकम गाउँपालिका–३ का बासिन्दा जोखिम मोलेर ट्युबबाटै ओहोरदोहोर गर्न बाध्य छन् । उनीहरू दैनिक उपभोग्य सामान पनि ट्युबबाटै तार्छन् । 

पुल बन्यो चलेन, ट्युबमै महाकाली वारपार

‘लालीमा नेपाल–भारत जोड्ने झोलुंगे पुल निर्माण भएको ४ महिना बितिसक्यो,’ स्थानीय मोहनसिंह भण्डारीले भने, ‘तर सञ्चालनमा नआउँदा स्थानीय बासिन्दा जोखिम मोल्न बाध्य छौं ।’ उनका अनुसार गत वर्ष ट्युबबाट खसेर एक जनाले ज्यान गुमाएका थिए । भारतमा आफन्त र इष्टमित्र भेट्न जान पनि जौलजिवी पुगेर लालीपारि पुग्नुभन्दा ट्युबबाटै जान छिटो हुने उनले सुनाए ।


लालीलगायत आसपासका बासिन्दा सीमावर्ती भारतीय बजारमै निर्भर छन् । औषधि–उपचारदेखि आफन्त भेट्न पारि जानुपर्ने भएकाले स्थानीयलाई कठिनाइ छ । उनीहरूले ३ दशकदेखि लाली क्षेत्रमा नेपाल–भारत जोड्ने झोलुंगे पुल माग गर्दै आएका थिए । पुल बनिसके पनि सञ्चालनमा नआउनु विडम्बना भएको लेकम–३ का वडाध्यक्ष राजेन्द्रप्रसाद जोशीले बताए । पुल सञ्चालनका लागि नेपाली र भारतीय प्रशासनलाई अनुरोध गरे पनि सुनुवाइ नभएको उनको गुनासो छ ।


नेपाल र भारतका प्रशासनिक निकायलाई गाउँपालिकाले दुवैतिर सुरक्षा पोस्ट निर्माण र भारतीय क्षेत्रमा बाटो निर्माण गर्ने आश्वासन दिँदासमेत पुल सञ्चालनमा पहल भएको छैन । गत वर्ष पुसमा पुल निर्माण भएकोमा फागुन दोस्रो साता दुवै देशका प्राविधिक, प्रशासन र सुरक्षा अधिकारीले स्थलगत निरीक्षण गरी एक साताअघि सुरक्षा पोस्ट पनि स्थापना गरिसकेका छन् ।


भारतको डिडिघाट प्रशासनलाई संयुक्त अनुगमनका लागि अनुरोध गर्ने तयारी रहेको प्रमुख जिल्ला अधिकारी शंकरबहादुर विष्टले बताए । ‘झोलुंगे पुल महाशाखाको सस्पेन्सन ब्रिज डिभिजन कार्यालयबाट पुल अनुगमनका लागि जिल्लामा प्राविधिक टोली आइरहेको छ । दुवै देशका प्रशासनिक र सुरक्षा निकायका अधिकारीको संयुक्त अनुगमनपछि सञ्चालनमा ल्याइनेछ,’ उनले भने ।


यसअघिको संयुक्त अनुगमनमा भारतीय पक्षले भारतपट्टि बाटो र सुरक्षा पोस्ट निर्माण भएपछि मात्र पुल सञ्चालन हुने जनाएको छ । भारतले सुरक्षा पोस्ट र बाटो निर्माण नभईकन पुल सञ्चालनमा ल्याउन नमानेपछि नेपालतर्फ बाटो बनाइएको वडाध्यक्ष जोशीले बताए ।


२ सय मिटर लामो पुल निर्माणका लागि ०७३ असोजमा १ करोड ३२ लाखमा सम्झौता भएको थियो । स्वदेशको बाटो निर्माण सामग्री पुर्‍याउन सडक पहुँच नहुँदा भारतीय मार्ग प्रयोग गर्नुपरेकाले तोकिएको समयमा बनाउन नसकिएको निर्माण कम्पनीले जनाएको छ ।

प्रकाशित : वैशाख ८, २०७६ ०७:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?