कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सर्वोच्चका नवनियुक्त न्यायाधीश तथा निर्वाचन आयोगका प्रमुखद्वारा सपथ ग्रहण 

रासस

काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले सर्वोच्च अदालतका नवनियुक्त पाँच न्यायाधीशलाई पद तथा गोपनीयताको सपथ दिलाएका छन् ।

सर्वोच्चका नवनियुक्त न्यायाधीश तथा निर्वाचन आयोगका प्रमुखद्वारा सपथ ग्रहण 

राष्ट्रपति भवन शीतल निवासमा आइतबार आयोजित विशेष समारोहमा सपथ लिनेमा नवनियुक्त न्यायाधीश प्रकाशकुमार ढुङ्गाना, सुष्मालता माथेमा, कुमार रेग्मी, हरिप्रसाद फुँयाल र मनोजकुमार शर्मा रहेका छन् ।


उनीहरुमध्ये ढुङ्गाना र माथेमा उच्च अदालतको मुख्य न्यायाधीश हुन् भने रेग्मी, फुँयाल र शर्मा कानून व्यवसायी हुन् । प्रधानन्यायाधीश राणाले सोही समारोहमा नवनियुक्त प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई पनि पद तथा गोपनीयताको सपथ गराएका छन् ।


राष्ट्रिय समावेशी आयोगका अध्यक्ष शान्तराज सुवेदीबाट सोही समारोहमा उक्त आयोगका नवनियुक्त सदस्य विष्णुमाया ओझाले पद तथा गोपनीयताको सपथ लिइन् । नवनियुक्त सदस्य ओझासँग लामो समय अधिकारकर्मीका रुपमा काम गरेको अनुभव छ ।


राष्ट्रपति भण्डारीले उनीहरुलाई शुक्रबार सो पदमा नियुक्त गरेकी थिइन् । सर्वोच्च अदालतका न्यायाधीश न्यायपरिषद्को सिफारिसमा तथा प्रमुख निर्वाचन आयुक्त र राष्ट्रिय समावेशी आयोगका सदस्य संवैधानिक परिषद्को सिफारिसमा नियुक्त भएका हुन् ।


समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, मन्त्रिगण, संवैधानिक निकायका प्रमुख, नेपाल सरकारका उच्च पदस्थ अधिकृत र सुरक्षा निकायका प्रमुखलगायतको उपस्थिति थियो ।

प्रकाशित : वैशाख ८, २०७६ १२:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?