कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

के गर्दैछन् साना कम्युनिस्ट घटक ?

नेकपा स्थापना दिवस
दीपेन्द्र विष्ट

काठमाडौँ — केपी शर्मा ओली र पुष्पकमल दाहाल नेतृत्वको नेकपाले सोमबार राजधानीको प्रज्ञा प्रतिष्ठानमा भव्य कार्यक्रमको तयारी गरिरहँदा अन्य केही कम्युनिस्ट घटकहरू भने पार्टी स्थापना दिवस ‘सर्वहारा शैली’मा मनाउने चाँजोपाँजो मिलाउँदै छन् ।

के गर्दैछन् साना कम्युनिस्ट घटक ?

कम्युनिस्ट पार्टी स्थापनाको ७० औं वार्षिकोत्सव मनाउँदै गर्दा दुई तिहाइ मतसहित सत्तामा रहेको नेकपाले विभिन्न कालखण्डमा विभाजित पार्टी र आन्दोलनलाई एकताबद्ध गरेको दाबी गर्दै आएको छ । उसको यो दाबीसँग असहमत राख्ने झन्डै आधा दर्जन कम्युनिस्ट घटकहरू अस्तित्वमा छन् । त्यसैले कम्युनिस्ट पार्टी स्थापनाको ७० औं वर्षको कार्यक्रम उनीहरू आफ्नै कार्यालयमा मनाउँदैछन् ।


एकातिर दुई तिहाइ नेतृत्वको सरकारसहितको कम्युनिस्ट पार्टी छ, अर्कोतर्फ आफूलाई सच्चा ‘क्रान्तिकारी’ देखाउन खोज्ने साना कम्युनिस्ट घटकहरू छन् । उनीहरू विचारको राजनीति भन्दै पार्टीको छुट्टै अस्तित्व जोगाउन संघर्षरत छन् ।


अझै साम्यवाद ल्याउने सकिने सैद्धान्तिक विश्वासले मोहन वैद्यलाई छोडेको छैन । त्यसैले तत्कालीन माओवादीबाट विद्रोह गरी हाल नेकपा क्रान्तिकारीको नेतृत्व गरिरहेका छन् । राजधानीमा हालै प्रदर्शन गरेका वैद्यले देशभक्त गणतान्त्रिक मोर्चा भनेर अन्य केही समूहलाई पनि जोडेका छन् ।


गत प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा मोर्चा बनाएर भाग लिएको यो दलको सरकारका तीनवटै तहमा कुनै प्रतिनिधित्व छैन । जनमत ठूलो नभए पनि यी पार्टीका नेताहरू आफूलाई सच्चा र अरूलाई नक्कली कम्युनिस्ट देख्छन् । ‘सर्वहाराको जीवनशैली जहिले पनि सामान्य हुन्छ, त्यही शैलीमा हामी छौं, त्यसरी नै पार्टी चलेको छ,’ पार्टी कार्यालयमै स्थापना दिवस मनाउने तयारी गरेका नेकपा क्रान्तिकारीमा महासचिव हरिभक्त कँडेलले भने, ‘हामी सामान्य तरिकाले मनाउँछौं, नक्कली कम्युनिस्टहरूले देखाउनलाई तामझामसाथ कार्यक्रम गर्छन् ।’ नेकपालाई नक्कली कम्युनिस्टको संज्ञा दिँदै उनले संसारमा पुँजीवाद असफल हुँदै गएको दाबी गर्दै सत्तामा गएकाहरू पनि असफल हुने बताए ।


‘संसदादी दलहरू भ्रष्ट भइसकेका छन्, समाजवादी बाटो त्यागेर, व्यक्तिवादी, दलाल पुँजीपतिको पक्षपोषण गर्दैछन्,’ उनले भने, ‘अब जनताबाट नांगिँदै छन्, यिनीहरूका धेरै दिन छैनन् ।’ नेकपाले सिद्धान्त छोडेको आरोप लगाउँदै स्थापना दिवस मनाउनको कुनै अर्थ नभएको उनले बताए ।


वैद्य समूहबाट फुटेको अर्को घटकको नेतृत्व नेक्रवित्रम चन्दले गरेका छन् । नेपाल कम्युनिस्ट पार्टीकै नामबाट सञ्चालित चन्द समूहले भने अरू कम्युनिस्टभन्दा अलिक भिन्न बाटो रोजेको छ । चन्दले हतियारसहितको सशस्क्र संघर्षको बाटोबाट त्रान्तिकारी परिवर्तनको सपना बाँडेका छन् । त्यसैले यो दलले भूमिगत आन्दोलन गरिरहेको छ ।


पञ्चायतकालमा झापा आन्दोलन र २०५२ पछिको माओवादी आन्दोलनकै दिशा यो दलले पक्रेको छ । हिंसात्मक गतिविधि गरेको भन्दै सरकारले यसका गतिविधिमा प्रतिबन्ध लगाएका कारण चन्द समूहले भूमिगत रूपमा पार्टी स्थापना दिवस मनाउँदै छ । ‘अरू जस्तो खुला हिसाबले मनाउने अवस्था छैन,’ एक पोलिटब्युरो सदस्यले भने, ‘आफ्नै तरिकाले स्थापना दिवस सम्झन्छौं ।’


नेता–कार्यकर्ता पक्राउ परे पनि विचार र सिद्धान्तमा आफूहरू अडिग रहेको ती सदस्यले बताए । ‘संगठन खुइलिएको, मक्किए भन्ने होइन, हालका सत्तापक्षीय कम्युनिस्ट नै होइनन्, असली कम्युनिस्टलाई समस्या आउँछ, त्यो चुनौतीबाट हामी भाग्दैनौं, झन् सामना गर्छौं,’ चन्द समूहका ती नेताले भने, ‘संगठन झन् मजबुत हुँदैछ, प्रतिबन्ध लगाएपछि हाम्रो विचारधारासित सहमत साथीहरू हाम्रो सम्पर्क आउँदै छन्, सहयोग गर्दै छन् ।’


अन्य वाम घटक पनि नेकपालाई नक्कली कम्युनिस्टको संज्ञा दिन्छन् । ‘इतिहासमा कहिलेकाहीं राम्रो विचार बोक्नेहरू पनि अलमतमा पर्छन्,’ नेकपा मालेका महासचिव सीपी मैनालीले भने, ‘हामी पनि त्यहीं अवस्थामा छौं, तर कम्युनिस्ट सिद्धान्त त्यागेका छैनौं ।’ झापा आन्दोलनको नेतृत्व गरेका मैनाली फञ्चायतकालमा कम्युनिस्टहरूका आदर्श व्यक्ति थिए ।


एक वैचारिक रहस्यमयी त्रान्तिकारी नेताका रूपमा चिनिने मैनाली अहिले इतिहासका एक पात्रका रूपमा मात्र सम्झिइन्छन् । वर्तमानमा उनको राजनीतिक उपस्थिति शून्य छ । पहिलो र दोस्रो संविधान सभामा प्रतिनिधित्व गरे पनि पछिल्लो चुनावमा उनको पार्टीले एक सिट पनि जित्न सकेन । राजधानीको रातोपुलमा उनको एउटा कार्यालय चलिरहेको छ । स्थापना दिवस मनाउने तयारी गरिरहेका मैनालीले आफ्नो पार्टी संगठन सानो भए पनि कम्युनिष्ट विचार नत्यागेको बताए ।


क्रान्तिकारी कम्युनिस्टको कित्तामा आफूलाई उभ्याउनेमध्येको अर्को दलको हो, नेपाल मजदुर किसान पार्टी । नारायणमान बिजुक्छे नेतृत्वको यो दलका एक जना सांसद प्रतिनिधिसभामा छन् । संसदीय धारमा बसेको यो दलको भक्तपुरमा मात्र आफ्नो पकड छ । भक्तपुर नगरपालिकाको प्रमुख पनि यही पार्टीले जितेको छ । विगतका चुनावमा भक्तपुरका दुई क्षेत्रमा जितेको यो दल अहिले एउटा क्षेत्रमा मात्र खुच्चिएको छ । सानो दल भए पनि संसद्देखि सडकसम्म उसले उठाउने एजेन्डा अन्यका भन्दा फरक हुन्छन् ।


‘जनतालाई झूटा आश्वासन दिने सच्चा कम्युनिस्ट होइन,’ कार्यकर्ता भेला गरेर पार्टी स्थापना दिवस मनाउने तयारी गरेको उल्लेख गर्दै नेमकिपाका नेता प्रेम सुवालले भने, ‘भ्रमको खेती हामी गर्दैनौं, सांगठनिक हिसाबले खुम्चिए जस्ता देखिए पनि विचार हाम्रो बृहत् छ, त्यो नै कम्युनिस्टको असल विचार हो ।’ नेकपालाई भाइ कांग्रेसको संज्ञा दिँदै उनले सत्तामा रहेका कम्युनिस्ट हुनै नसक्ने बताए ।


नेमकिपा संसद्मा प्रतिनिधित्व गरे पनि हालसम्म सरकारमा गएको छैन । प्रत्येक सरकार बन्दा ऊ प्रतिपक्षी किक्तामा बस्छ । त्रान्तिकारी कम्युनिस्ट दाबी गर्नेहरूको सूचीमा नछुट्ने अर्को दलको नाम हो, राष्ट्रिय जनमोर्चा । मूल पार्टी नेकपा मसाल हो । यसको नेतृत्व मोहनविक्रम सिंहले गर्छन् । यो पार्टीले चुनाव लड्नका लागि चुनावी मोर्चाका रूपमा राष्ट्रिय जनमोर्चा बनाएको हो । मोर्चाको अध्यक्ष चित्रबहादुर केसी छन् । यो दलबाट प्रतिनिधिसभामा एक जना सांसद छन् । हालको सत्तारूढ कम्युनिस्ट पार्टीसँगै चुनावी गठबन्धन गरेर मोर्चाले जितेको थियो । यो दल पनि कम्युनिस्ट क्रान्तिकारिताका लागि नै छुट्टै मोर्चामा छ ।


त्यस्तै अर्को नेपाल कम्युनिस्ट पार्टी ऋषि कट्टेलले नेतृत्व गरेका छन् । उनी भने पार्टी स्थापना दिवस मनाउनेमा पनि अलिक बढी क्रान्तिकारी छन् । अरू २००६ सालमा कम्युनिस्ट पार्टी स्थापना भएको मानेर अप्रिल २२ लाई स्थापना दिवसलाई मान्छन् । कट्टेल भने १५ सेप्टम्बरमा पार्टी स्थापना दिवस मनाउँछन् । १५ सेप्टेम्बर लेनिनको जन्मजयन्ती हो । ‘पुष्पलालको मृत्युपछि स्थापना दिवस सबैले २२ अप्रिलमा मनाउन थालेका हुन्,’ उनले भने, ‘हामी लेनिन दिवसमा पार्टी कार्यालयमै मनाउँछौं ।’ आफ्ना धेरै नेता तथा कार्यकर्ता उपत्यकामा उपलब्ध नभएको भन्दै उनले सामान्य किसिमले कपनस्थित पार्टी कार्यालयमा लेनिनलाई सम्झने बताए ।


तत्कालीन एमालेसँग पार्टी एकता गरेपछि असन्तुष्ट रहेकामध्ये गोपाल किराँतीले हालै नेकपा माओवादी केन्द्र नामको दल खोलेका छन् । क्रान्तिकारी विचलन आएको भन्दै किराँतीले नयाँ पार्टी खोलेका हुन् । उनी पनि सोमबार नै पार्टी स्थापना दिवस मनाउने तयारी गर्दै छन् । नेकपा माओवादी केन्द्रका महासचिव कर्णजित बुढाथोकीले पार्टी कार्यालयमा कार्यकर्तालाई प्रशिक्षण दिएर स्थापना दिवस मनाउने बताए । बालकुमारीस्थित कार्यालयमा उनले प्रशिक्षण दिने बताए ।

प्रकाशित : वैशाख ९, २०७६ ०७:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?