कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अस्पताल बनाउन जसले गरे तीन करोड दान

नारायणगढ निवासी ९० वर्षीय उदयकुमार पियाले रकम दिन राजी भएपछि स्पाइनल इन्जुरी अस्पताल तथा पुनर्स्थापना केन्द्रको सोमबार शिलान्यास 
रमेशकुमार पौडेल

चितवन — मेरुदण्डमा चोटपटक लागे पक्षाघात भएर जीवन कष्टप्रद हुने जोखिम रहन्छ । यस्तो चोटपटकको उचित उपचार हुने अस्पताल दुर्लभ छन् । उपचार भए पनि पक्षाघात भएकाहरूले हृवीलचियरको साहरा लिँदा दिनचर्या सहज हुन सकेको छैन ।

अस्पताल बनाउन जसले गरे तीन करोड दान

मेरुदण्ड चोटपटक (स्पाइनल इन्जुरी) को उपचार र पक्षाघात भएकाहरूको पुनर्स्थापनाका लागि अस्पताल बनाउन नारायणगढमा एक दानवीरले तीन करोड रुपैयाँ दान दिने भएका छन् ।


नारायणगढ निवासी ९० वर्षीय उदयकुमार पिया सोमबार निकै खुसी देखिन्थे । उनले तीन करोड रुपैयाँ दिने पक्का भएपछि दिउँसो भरतपुर–३ बाह्रघरे सानो मझुवामा स्पाइनल इन्जुरी अस्पताल तथा पुनर्स्थापना केन्द्रको शिलान्यास भयो । भरतपुर महानगरले एक बिघा जग्गा उपलब्ध गराएपछि भवन बनाउने दाताको खोजीमा भौंतारिएका चितवन रोटरी क्लबलाई पियाले ठूलो साहरा दिए ।


चितवन रोटरी क्लबले ६ वर्षदेखि भरतपुर अस्पतालभित्र स्पाइनल इन्जुरी युनिट सुरु गरेको थियो । व्यवस्थित उपचार केन्द्र बनाउने योजनामा जुटेको रोटरीलाई महानगरले जग्गा र पियाले रुपैयाँ दिए । ‘हिजो सपनाजस्तै लाग्ने विषय अब साकार हुँदै छ,’ रोटरी क्लब चितवनका अध्यक्ष कपिलबाबु खनालले भने । क्लबका पूर्व अध्यक्ष चन्द्रमान श्रेष्ठको पहलमा पियाले तीन करोड दान गर्ने घोषणा गरेका हुन् ।


‘सुरुमा एक करोड रुपैयाँ दिन तयार हुनुभएको थियो । त्यस्तै चार/पाँच कट्ठा जग्गामा स–सानो उपचार केन्द्र बनाउने सोँच थियो । जग्गा खोज्दै जाँदा महानगरले एक बिघा दिने भयो । त्यसपछि अस्पताल पनि ठूलै बनाऊँ भन्ने लाग्यो । उदयकुमारजीले पैसा आवश्यक परेको हो भने भन है भन्नुभयो,’ पूर्व अध्यक्ष श्रेष्ठले भने । भवन बनाउन मात्रै पाँच करोड रुपैयाँ लाग्ने अनुमान छ ।


‘पियाजीले ल ल बनाउनहोस्, म अरू दुई करोड थपिदिन्छु भन्नुभयो,’ श्रेष्ठले भने । महत्त्वपूर्ण सहयोग गरेका कारण अस्पतालको नाम नै श्री उदयकुमार चमेलीदेवी पिया चितवन स्पाइनल इन्जुरी हस्पिटल तथा पुनर्स्थापना केन्द्र राखिने भएको छ । चमेली उदयकुमारकी श्रीमती हुन् । ९० वर्षको उमेरमा पनि तन्दुरुस्त देखिन्छन् उदयकुमार । तर श्रीमती चमेलीदेविको १५ वर्षअघि निधन भयो ।


बन्दिपुरमा जन्मेका उदयकुमार विसं. २००५ सालमा चितवन आएका हुन् । ‘हामीले बन्दीपुरमा पनि कपडाको व्यापार गर्दथ्यौं । नारायणगढमा पनि व्यपारलाई नै निरन्तरता दियौं । व्यापारबाट राम्रै भयो,’ पियाले भने । सामान्य साक्षर पियाले आफ्ना सन्तान दुई भाइ छोरा र ६ जना छोरीलाई राम्रैसँग शिक्षादीक्षा दिए । जेठा छोरा मदन पिया क्यान्सर उपचारका क्षेत्रका नामी चिकित्सक हुन् ।


‘जेठो छोरोले डाक्टर पढ्दै गर्दा एउटा अस्पताल त बनाउनुपर्‍यो भन्ने लाग्दथ्यो । छोरो राम्रै डाक्टर पनि भयो । मनको धोको मनमै थियो । स्पाइनल इन्जुरीको अस्पताल बनाउन सहयोग चाहियो भन्दै आएपछि हुन्छ भनेँ,’ पियाले भने । उनी चितवन आएका बेलामा औलोको महामारी थियो । एक रात बसे ज्वरोले सताउँथ्यो । पियालाई भने केही भएन । व्यापार पनि मौलायो । ‘कमाइ राम्रो भएपछि दान दिन किन मन बाँध्ने । एक पटक मैले ट्रक बेचेर तीन लाख समातेको थिएँ । स्कुलले भवन बनाउनुपर्‍यो भन्दै आए । मैले सरक्कै दिएँ । मान्छे छक्क परे । स्कुललाई त बेलाबेलामा सानोतिनो सहयोग गरेको थिएँ । अस्पताललाई भने लौ न त राम्रै सहयोग गरौं भन्ने लाग्यो,’ पियाले भने । आफूले पढ्न नपाएको हुँदा उनले स्कुललाई सहयोग गरे ।


अक्षर मात्रै चिने पनि होमियोप्याथिक उपचारका किताबहरू पढेर सेवा गर्न सक्ने भएका थिए । अस्पताललाई दान दिन उनलाई यसले पनि उत्प्रेरित गर्‍यो । ‘बाबाको इच्छामा हामी खुसी छौं । सबै सन्तानले उहाँको चाहनालाई सम्मान गर्दै आएका थियौं । स्कुल बनाउन बेलाबेलामा सहयोग गर्दै आउनुभएको थियो । अस्पताललाई पनि दिनुभएको छ । उहाँको कमाइको राम्रो सदुपयोग भयो,’ जेठा छोरा डा. पियाले भने ।


चितवन रोटरी क्लबको अगुवाइमा नारायणगढ रोटरी, रत्ननगर रोटरी, नारायणी मिड टाउन रोटरी, भरतपुर रोटरी र जावलाखेल रोटरीले अस्पताल बनाउन हातेमालो गर्नेछन् । स्पाइनल इन्जुरी संघ नेपालसँग सबै क्लबहरूले सहकार्य गरेका छन् । ‘शिलान्यास भएको छ । अब दुई वर्षभित्र हामी अस्पताल सञ्चालन गर्नेछौं,’ परियोजना संयोजक उत्तमलाल चुकेले भने ।


निर्माणमा खर्च हुने तीन करोडबाहेकको थप दुई करोड रुपैयाँ रोटरी क्लबहरूले जुटाउनेछन् । उपकरणका लागि रोटरी क्लब अन्तर्राष्ट्रियको कोषले सघाउने पूर्व अध्यक्ष श्रेष्ठले बताए । उपचार र पुनर्स्थापनामा खट्ने चिकित्सक र प्राविधिकहरू स्पाइनल इन्जुरी संघसँग सहकार्य गरेर व्यवस्थापना गर्ने अध्यक्ष खनालले बताए ।


अध्यक्ष खनालका अनुसार तत्काल अस्पताल २५ शय्याको हुनेछ । त्यसपछि दोस्रो चरणमा ५० शय्याको हुने उनले बताए । ‘मेरुदण्डको चोटपटक लागेपछि उचित उपचार दिएर उनीहरूको जीवन सहज बनाउन हामी तालिमहरू दिनेछौं । आयआर्जनमूलक तालिमहरू पनि चलाउने योजना छ । उदयकुमारजीको सहयोगले धेरैको जीवन सहज हुने अवस्था बन्दै छ,’ अध्यक्ष खनालले भने ।

प्रकाशित : वैशाख १०, २०७६ ०८:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?