कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पथरी हत्याकाण्ड : रिनाको पोष्टमार्टम रिपोर्टमा बलात्कार देखिएन, अनुसन्धान तीव्र

दर्जनबढीसँग सोधपुछ
विनोद भण्डारी

विराटनगर — पथरीशनिश्चरे-१ त्रिवेणी चोकमा डेरा गरी बस्ने रिना बस्नेतको हत्या प्रकरणमा प्रहरीले छानविन तीब्र बनाएको छ । अहिलेसम्म प्रहरीले एक दर्जन बढी शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दै छाडेको छ । तर मृतकका प्रेमी भनिएका सुन्दर हरैचाका कमल नेपाललाई प्रहरीले नियन्त्रणमै राखेको छ ।

पथरी हत्याकाण्ड : रिनाको पोष्टमार्टम रिपोर्टमा बलात्कार देखिएन, अनुसन्धान तीव्र

उनले रिनासँग चिनजान, भेटघाट र घुमफिर भएको स्वीकार गरेपनि आफूले उनको हत्या नगरेको दाबी गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी घनश्याम श्रेष्ठले बताए । नेपालको बयान चित्त बुझ्दो नभएका कारण उनलाई प्रहरीले नियन्त्रणमै राखेको श्रेष्ठले बताए ।


मृतक रिनाको पोस्टमार्टमको प्रारम्भिक रिपोर्टमा बलात्कार नभएको पाइएको डिएसपी श्रेष्ठले बताए । शवको पोष्टमार्टम विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको थियो । प्रतिष्ठानबाट प्राप्त प्रारम्भिक पोष्टमार्टम रिपोर्टमा रिनालाई बलात्कार गरेको पुष्टी नभएको श्रेष्ठले बताए । उनका अनुसार प्रहरी नायव उपरीक्षक नवराज ढुंगानाको टोलीले घटनाको विभिन्न कोणबाट सुक्ष्म अनुसन्धान गरिरहेको छ ।


वैशाख ६ गते राति पथरीको प्रस्तावित रंगशालामा सञ्चालन भएको कन्सर्ट हेरेर १३ वर्षीय छोरा साइमनसँगै ११ बजे कोठा फर्किएकी बस्नेत ७ गते बिहान आफ्नै कोठा अगाडि बाटोमा निर्वस्त्र रुपमा मृत अवस्थामा फेला परेकी थिइन् । टाउकोमा चोट लागेको अवस्थामा घोप्टो परेको शव बिहान स्थानीयले सडकमा देखेपछि प्रहरीलाई खवर गरेका थिए ।


नगरमा श्रृंखलावद्ध आपराधिक घटना भएपनि दाषीलाई प्रहरीले नियन्त्रण नगरेको भन्दै स्थानीयवासीले गत सोमबार र मंगलबार नगर क्षेत्रमा प्रर्दशन गर्दै इप्रका पथरी घेराउ गरेपछि मोरङ प्रहरीले डिएसपी नवराज ढुंगानाको नेतृत्वमा अनुसन्धान तीब्र बनाएको छ । आक्रोशित स्थानीयले इप्रका घेराउ गर्दै स्थानीय उद्योग वाणिज्य कार्यालयमा ताला लगाएर यातायात अवरुद्ध गरेपछि प्रहरीले तीन राउण्ड हवाई फायर र केही सेल अश्रु ग्याँस प्रहार गरेको थियो ।


घटनापछि प्रर्दशनकारीका प्रतिनिधि, पथरी नगरप्रमुख दीलिपकुमार राई र प्रहरी प्रशासन प्रतिनिधिबीच डिएसपी ढुंगानाको टोलीले घटनाको सुक्ष्म अनुसन्धान गरी अपराधी पत्ता लगाउने र कानूनी कारबाही गर्ने सहमति भएपछि प्रर्दशनकारीले आन्दोलन फिर्ता लिएका थिए ।


यसअघि नगरको पथरी बजारमा सञ्चालित सिक्का बारमा आएका पथरीशनिश्चरे ७ का २७ वर्षीय षडराज तामाङको पनि यस्तै प्रकारको रहस्यमय मृत्यु भएको थियो । तामाङको पनि टाउकोमा चोट लागेको र घोप्टो परेको अवस्थामा राति सडकमा शव फेला परेको थियो ।


त्यसअघि सुस्त मनस्थितिकी रमा बरालको पथरी बजार क्षेत्रको पिपल बोट चोकमा शव फेला परेको थियो । बजारको पश्चिममा रहेको श्रीजंघा वनमा पथरीशनिश्चरे १ पथरी बजारका २५ वर्षीय गोविन्द दर्नालको पनि हत्या भएको थियो ।


त्यही स्थानमा अर्का एक अज्ञात व्यक्तिको पनि हत्या भएको थियो । ती घटनामा संलग्न कसैलाई पनि प्रहरीले पक्राउ गर्न सकेको छैन । त्यस्तै नगरको जिरिखिम्ती टोलभन्दा पश्चिम उत्तरको जंगलमा झापाकी एक महिलाको शव फेला परेको थियो ।


त्यसअघि पथरी प्रहरीकै कार्यक्षेत्रभित्र कानेपोखरी जंगलमा भारतीय एक महिलाको शव पनि हत्या गरेको अवस्थामा फेला परेपनि अहिलेसम्म शंकास्पद व्यक्ति कोहीपनि पक्राउ नपर्दा स्थानीय आक्रोशित भएर सडकमा उत्रिएका थिए ।

प्रकाशित : वैशाख १२, २०७६ १५:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?