कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

यो वर्षको मनसुनमा पूर्व सुख्खा, पश्चिममा वर्षा

अब्दुल्लाह मियाँ

काठमाडौँ — प्रि-मनसुन सक्रिय भएर अहिले मुलुकैभरी वर्षा भइरहे पनि यो वर्षको मनसुनका चार महिना (जेठ अन्तिमदेखि असोजसम्म) मा भने मुलुकको आधा भागमा औसतभन्दा कम वर्षा हुने विज्ञहरुले औंल्याएका छन् । 

यो वर्षको मनसुनमा पूर्व सुख्खा, पश्चिममा वर्षा

दक्षिण एसियाली मुलुकहरु र मौसमसम्वन्धि अध्ययन-अनुसन्धान गर्ने अन्तर्राष्ट्रिय संस्थाका विज्ञहरुले दक्षिण एसियाली मुलुकहरुको मनसुनको प्रक्षेपण गर्दै भनेका छन्, 'नेपालको पूर्वी क्षेत्रमा औसतभन्दा कम वर्षा हुने देखिन्छ भने पश्चिममा औसतकै हाराहारी वर्षा हुनेछ ।' मनसुनको समयावधिका चार महिनामा कुल वाषिर्क वर्षाको ८० प्रतिशतसम्म वर्षा हुन्छ ।


वैशाख ९ र १० गते नेपालसहित बंगलादेश, भुटान, भारत, माल्दिभ्स, म्यानमार, पाकिस्तान र श्रीलंकाका दक्षिण एसियाली क्षेत्रका मौसमविद्हरु काठमाडौंमा भेला भएका थिए । अफगानिस्तान भने सहभागी थिएन ।


चौधौं दक्षिण एसियाली जलवायु दृष्टिकोण मञ्च (सास्कोफ) नाम दिइएको विज्ञहरुको भेलाले विभिन्न जलवायु प्रारुप (क्लाइमेट मोडल), पूर्वानुमान (फरकास्ट) तथा जलवायुसम्वन्धि घटनाक्रम (केस स्टडीज) हरुको विश्लेषण गर्दै दक्षिण एसियाली क्षेत्रका मुलुकहरुको मनसुनको प्रक्षेपण गर्ने गरेका छन् ।


सास्कोफमा जल तथा मौसम विज्ञान विभागबाट सहभागी वरिष्ठ मौसमविद् इन्दिरा कँडेलका अनुसार नेपालमा यो वर्षको मनसुनमा प्रदेश १, २ र ३ को अधिंकाश भुभागसहित प्रदेश ५ को पश्चिमी भूभागहरुमा औसतभन्दा कम वर्षा हुने आँकलन गरिएको छ । अन्य भागमा भने औसत र औसत नजिक वर्षा हुने उनीहरुले उल्लेख गरेका छन् ।


गत वर्ष भारतको पुणेमा भएको सास्कोफको १३ औं सम्मेलनले नेपालभरी मनसुन अवधिमा औसत वर्षा हुने आँकलन गरेको थियो । 'गत वर्ष पनि हामीले आँकलन गरे अनुुसार नै वर्षा भयो', मौसमविद् कँडेलले भनिन्, 'पछिल्ला केही वर्षदेखि हाम्रो आँकलन मेल खाने गरेको छ ।' गत वर्ष नेपालभरी मनसुनको चार महिना अवधिमा ९४.१ प्रतिशत वर्षा हुने आँकलन गरिएको थियो ।


मौसमविद्का अनुसार ३० वर्षको औसत वर्षाको ९० देखि ११० प्रतिशतसम्मको अवस्थालाई औसत र ९० प्रतिशत भन्दा कमलाई औसत भन्दा कम वर्षा र ११० प्रतिशत भन्दा बढीलाई औसत भन्दा बढी वर्षा भन्ने गरिन्छ । मनसुनको वर्षा प्रशान्त महासागरमा विकस हुने 'एलनिनो'को अवस्थामा निकै निर्भर पर्दछ ।


'साधारणतया एलनिनो पूर्ण विकसित भएको वर्ष नेपालमा मनसुनी वर्षा कम हुन्छ,' कँडेल भन्छिन्, 'एलनिनो तटस्थ हुँदाको बखत मनसुनमा औसत वर्षा हुन्छ ।' अहिले एलनिनो कमजोर अवस्थामा रहेको र मनसुनको उत्तरार्धमा यो झनै कमजोर हुँदै जाने सम्भावना देखिएको मौसमविद्हरुको विश्लेषण छ । एलनिनोका अलावा अन्य क्षेत्रीय र विश्वको जलवायु तत्वहरुले पनि मनसुनी वर्षामा असर पारेको हुन्छ ।


विज्ञहरुले औसत भन्दा कम, औसत र औसत भन्दा बढी वर्षा हुनेगरी मनसुनको प्रक्षेपण गरेका छन् । तीनमध्ये नेपालमा औसत भन्दा कम र औसत मात्र वर्षा हुने आँकलन गरिएको छ । अफगानिस्तान, पाकिस्तान, भारतको केही भाग, श्रीलंका, बंगलादेश, भुटान र म्यानमारमा भने औसत भन्दा बढी वर्षा हुनेसमेत देखाइएको छ ।

प्रकाशित : वैशाख १२, २०७६ १९:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?