कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रदेश २ का मन्त्रीले दिए दाजुलाई २३ योजना

जनकपुर — प्रदेश २ का आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले सामाजिक विकास मन्त्रालयअन्तर्गतका २३ वटा योजना दाजु श्यामनन्दन यादवलाई सुम्पेका छन् । यादवको सिफारिसमा मन्त्रालयले श्यामनन्दनलाई ६ करोड १७ लाख रुपैयाँबराबरका योजना पारिदिएको हो ।

प्रदेश २ का मन्त्रीले दिए दाजुलाई २३ योजना

विभिन्न शीर्षकका ती योजना ५ लाखदेखि १ करोड रुपैयाँसम्मका छन् । कान्तिपुरलाई प्राप्त मन्त्रालयको चौमासिक विभाजन फारममा २३ वटै योजना सिफारिसकर्तामा मन्त्री यादव र कैफियतमा सम्पर्कव्यक्ति भनी श्यामनन्दनको नाम र मोबाइल नम्बर लेखिएको छ । सबै योजना सिरहा जिल्लाकै हुन् ।

यसमा सुखीपुर नगरपालिका, सिलर्वापदवारीको इतहादु आधारभूत विद्यालयका लागि ७ लाख, औरही गाउँपालिकाको खजनपुर पिपरामा जनता आधारभूत विद्यालयका लागि २५ लाख, जनता मावि बरियारपटीको ८ कोठे भवन, कम्प्युटर ल्याब र पर्खाल निर्माणका लागि १ करोड र बरियारपटी-४ मा सामुदायिक भवन निर्माणका लागि १५ लाख रुपैयाँका योजना छन् ।


यस्तै सिरहाको महेशपुरस्थित आधारभूत विद्यालयको पर्खाल निर्माणका लागि १० लाख, इँटाटारको आधारभूत विद्यालयको भवन र पर्खाल बनाउन ५० लाख, बरियापटी-२ स्थित खोक्सी मदरसाका लागि १० लाख, औरहीको सुन्दर जनता माविका लागि ५० लाख, तेनिवाकट्टीमा कबि्रस्तानको पर्खाल बनाउन ५ लाख र सिरहामा रमेश महतो स्मृति मावि फुलबरियाको पर्खाल बनाउन ५० लाख रुपैयाँ विनियोजन गरिएको छ ।

प्रदेश सांसदहरूसँग पनि रहेको यो फारमबारे मन्त्रालयले भने अनभिज्ञता जनाएको छ । मन्त्रालयका निमित्त सचिव दिलीप ठाकुरले मन्त्रालयमा भर्खरै आएकाले चौमासिक विभाजन फारमबारे आफूलाई जानकारी नरहेको बताए । प्रदेशसभामा कांग्रेस सचेतक उपेन्द्र कुशवाहाले नामै किटेर बजेट जिल्ला पठाइएको आरोप लगाएका थिए ।


मन्त्री यादवकै सिफारिसमा श्यामनन्दनले पाउने गरी सिरहा-१६ माडरमा दुर्गामाता धर्मशालाका लागि १० लाख, सिरहा-२ मा अतिथि सदन निर्माणका लागि ५० लाख रुपैयाँ पुँजीगत बजेटअन्तर्गत विनियोजन गरिएको छ । यस्तै चालु खर्चअन्तर्गत सिरहाको नवराजपुर-३ स्थित दलित उत्पीडित जनजाति आधारभूत विद्यालयको भवन, पर्खाल र शौचालय निर्माणका लागि २० लाख, मिर्जापुरमा सहिद प्रमोद सदाय स्मृति विद्यालयका लागि १५ लाख, बरियापटीमा शिव मन्दिरका लागि १० लाख, डाकनेश्वरी-६ मा सामुदायिक भवन निर्माणका लागि २५ लाख रुपैयाँका योजनामा पनि यादवको सिफारिसमा श्यामनन्दनलाई सम्पर्कव्यक्ति तोकिएको छ ।


श्यामनन्दन सिरहाको औरही माविका शिक्षक हुन् । उनले भने योजनामा आफ्नो नाम र नम्बर उल्लेख भएकोमा अनभिज्ञता दर्शाए । 'सामाजिक विकास मन्त्रालयले मेरो नाम योजनामा किन राख्यो, मलाई थाहा छैन,' उनले बिहीबार कान्तिपुरसँग भने, 'अहिलेसम्म कसैले सम्पर्क पनि गरेको छैन । उपभोक्ता समितिले पनि मसँग कुनै सम्पर्क गरेको छैन ।'


नेकपाका सांसद दिलीप साहले बजेट रकमान्तर गरेर व्यक्तिको नामै किटेर योजना पठाउनु विकासका लागि नभई आफ्न्त र कार्यकर्ता खुसी पार्ने काम मात्र भएको बताएका छन् ।

सिरहाको तनुवाकटीमा जनकल्याण युवा क्लबद्वारा सञ्चालित शिव मन्दिरको पर्खाल निर्माणका लागि २५ लाख, करमनियामा अवधि-फेकनी आधारभूत विद्यालयका लागि २५ लाख, विष्णुकटीमा तुलसीराम सत्यभामा डोटेल माविका लागि २० लाख, कृष्णपुर अर्नामा माविका लागि १० लाख, सिरहाको प्राथमिक स्वास्थ्य केन्द्रलाई अस्पतालमा विकास गर्न भौतिक पूर्वाधार, उपकरण र औजारमा अनुदानबापत ५० लाख, सिरहाको थाना चोक फुलबरिया र जगतपुरको बीचमा सहिद रमेश महतो द्वार निर्माणका लागि १० लाख र लहान बाल अस्पतालको भवन र पर्खाल निर्माणका लागि २५ लाख रुपैयाँका योजना श्यामनन्दनका नाममा छन् ।


मन्त्री यादवले भने सामाजिक विकास मन्त्रालयअन्तर्गतको कागजात रहेकाले आफूलाई त्यसबारे केही थाहा नभएको बताए । 'त्यसबारे सामाजिक विकास मन्त्रालयसँगै सोध्नुस् । मेरो नाम किन राख्यो ? मलाई थाह भएन,' उनले भने ।

प्रकाशित : वैशाख १४, २०७६ ०६:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?