कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जिउँदै जलाइएकी कञ्चनको मृत्यु

सिरहा/काठमाडौँ — सिरहामा आफ्नै पति र सासुद्वारा जिउँदै जलाइएकी २१ वर्षीया कञ्चनदेवी मण्डल खत्वेको मृत्यु भएको छ । राजधानीको साँखुस्थित सुषमा कोइराला मेमोरियल अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो ।

जिउँदै जलाइएकी कञ्चनको मृत्यु

कल्याणपुर नगरपालिका ८ की खत्वेलाई उनकै पति बेचन मण्डल र सासु सुर्जी खत्वेले बिहीबार जलाएका हुन् ।


सुष्मा कोइराला मेमोरियल अस्पतालका निर्देशक तथा प्लास्टिक सर्जन डा. जसवान शाक्यका अनुसार कञ्चनको शरीरको ८५ प्रतिशत भाग जलेको थियो । ‘टाउकाको पछाडिको थोरै भाग र अनुहारको आधा भागबाहेक सबै जलेको थियो,’ उनले भने, ‘४० प्रतिशतभन्दा बढी जलेका बिरामीलाई बचाउन गाह्रो हुन्छ ।’


जिल्लाबाट उनलाई ८ घण्टा लगाएर एम्बुलेन्समा राजधानी ल्याइएको थियो । यो अवधिमा कुनै उपचार नपुगेकाले अवस्था जटिल बनेको डा. शाक्यले बताए । ‘अस्पताल ल्याउँदासम्म मुटु र मिर्गौलाले काम गर्न छाड्ने स्थिति बनिसकेको थियो, इमर्जेन्सीबाट आईसीयूमा पुर्‍याउँदै गर्दा मृत्यु भइहाल्यो,’ उनले भने ।


जलिरहेकी कञ्चनलाई छिमेकीले तत्कालै उद्धार गरी मिर्चैयास्थित मंगलम हेल्थ केयर सेन्टर पुर्‍याएका थिए । त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि बिहीबारै धरान लगिएको थियो । धरानमा पनि सम्भव नभएपछि उपचारका लागि काठमाडौ ल्याइएको थियो ।


घटनालगत्तै प्रहरीसमक्ष दिएको बयानमा पीडित कन्चनले भान्सामा खाना पकाउने क्रममा घरायसी विवाद हुँदा बिहीबार बिहान सवा ९ बजे आफूलाई पति बेचन र सासु सुर्जी मण्डल खत्वेले आगो लगाएको बताएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायव उपरीक्षक माधवप्रसाद खरेलले जानकारी दिए । उनले घटनाका बारेमा थप अनुसन्धान गरिरहेको जानकारी दिए ।


पत्नीलाई जिउँदै जलाउन प्रयास गर्ने बेचन मण्डल फरार छन् । कञ्चनकी सासू सुर्जीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । छोरीलाई जलाएको घटना थाहा पाएपछि सिरहाको अर्नामा सागरपुरबाट कञ्चनका बुवा रामलोचन मण्डल र आफन्त सन्तोष मण्डल मिर्चैया पुगेका थिए । बुवा रामलोचन, आफन्त सन्तोष र माइजूले उपचारका लागि कञ्चनलाई धरान पुर्‍याएका थिए । स्थानीयका अनुसार दुई वर्ष अघि बेचनसँग विवाह बन्धनमा बाधिएकी कञ्चनकी डेढ वर्षे छोरी छन् । घटनापछि कन्चनको घरमा ताल्चा लागेको थियो । स्थानीयले व्यक्तिगत मामिला भन्दै प्रतिक्रिया दिन चाहेनन् ।


हत्या आरोपी पक्राउ

सिरहा– लहान नगरपालिका १७ स्थित बलान खोलामा गत वैशाख ५ मा हत्या गरिएका ६९ वर्षीय रतनबहादुर तामाङको हत्या आरोपी ज्ञानबहादुर थापामगरलाई प्रहरीले पक्राउ गरेको छ ।


राजविराज नगरपालिका–३ स्थित रंगशाला नजिक बस्ने ज्ञानबहादुरले आफूसँग सापटी लिएको ४५ सय रुपैयाँ नदिएको निहुँमा तामाङको हत्या गरेको प्रहरीले जनाएको छ । हत्या भएको दुई दिनपछि तामाङको शव लहान १७ स्थित बलान र खुट्टी खोला नजिकै रहेको गढीस्थानमा फेला परेको थियो ।


हत्या गर्नुभन्दा दुई दिन अगाडिदेखि थापा पीडितकै घरमा बसेका थिए । सिरहा प्रहरी प्रमुख प्रहरी उपरीक्षक जीवन श्रेष्ठले थापाले तामाङको हत्या गरिसकेपछि आफूमाथि शंका हुन नदिन पुनः तामाङकै घरमा फर्केर उनकी पत्नी मनमाया तामाङसँग १५ सय रुपैयाँ र लाभा कम्पनिको एउटा मोबाइल सेट लगेको जानकारी दिए । तामाङको मृत्यु खुकुरी जस्तो धारिलो हतियारको प्रयोगबाट भएको प्रहरीले जनाएको छ । प्रहरीले थापालाई गत बुधबार सिरहाको धनगढीमाई नगरपालिका १० स्थित राम मन्दिर परिसरबाट पक्राउ गरेको थियो ।


महिला मृत फेला

काभ्रे – मण्डनदेउपुर ६ स्थित सिपाघाटकी सरिता दुलाल मृत फेला परेकी छिन् । हत्या भएको आशंकामा प्रहरीले उनका सासू, ससुरा, जेठाजु र जेठानीलाई पक्राउ गरेको छ । श्रीमान् सुदिप फरार छन् ।


सरिताको शव उत्तानो अवस्थामा प्रहरीले फेला पारेको थियो । प्रहरीका अनुसार, उनको घाँटीमा डोरीले बाँधेको नीलडाम छ । माइती पक्षले परिवारविरुद्ध किटानी जाहेरी पनि दिएको छ ।



प्रकाशित : वैशाख १४, २०७६ ०७:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?