कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लुम्बिनी भ्रमण वर्ष : फितलो तयारी

सन् २०१८ मा आन्तरिक पर्यटकको संख्या अघिल्लो वर्षभन्दा घटेपछि प्रदेश सरकारले २०७६ लाई भ्रमण वर्षका रुपमा मनाउन लागेको हो ।
मनोज पौडेल

लुम्बिनी — प्रदेश ५ सरकारले मुलुककै उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउन लुम्बिनी भ्रमण वर्ष, २०७६ को कार्यक्रम अघि सारे पनि तयारी फितलो देखिएको छ । प्रदेश सरकारले विशेष महत्त्व दिएर मनाउन लागेको लुम्बिनी भ्रमण वर्ष एक महिना ढिलो सुरु हुने भएको छ ।

लुम्बिनी भ्रमण वर्ष : फितलो तयारी

औपचारिक उद्घाटन जेठ ४ गते (वैशाख पूर्णिमा) लुम्बिनीमा हुनेछ । ‘प्रदेश सरकारले लुम्बिनीको गरिमा र महत्त्व बढाउन ०७६ लाई लुम्बिनी घुम्ने वर्ष मनाउनु राम्रो हो,’ सिद्धार्थ होटल एसोसिएसन लुम्बिनीका महासचिव लीलामणि शर्माले भने ।


एसोसिएसनका अध्यक्ष मिथुनमान श्रेष्ठले भने भ्रमण वर्ष मनाउने विषयमा लुम्बिनीमा सामान्य छलफलसमेत नभएको बताए । ‘होटल व्यवसायीले कसरी मद्दत गर्न सक्छन् भन्ने निर्क्यौल भइसक्नुपर्ने थियो,’ उनले भने, ‘भ्रमण वर्षमा आउनेलाई हामी केही प्रतिशत छुट दिएर आतिथ्य सत्कार गर्न आतुर छौं ।’


सन् २०१७ मा भन्दा २०१८ मा लुम्बिनीमा आन्तरिक पर्यटकको संख्यामा ६ प्रतिशतले कमी आयो । सहज अवस्था, राजनीतिक स्थिरता हुँदा पनि पर्यटक आगमन घट्नु विडम्बना भएको स्थानीयले बताए । पर्यटक आगमनमा कमी आएकाले लुम्बिनीमा पर्यटक बढाउन भ्रमण वर्ष मनाउन लागिएको सरोकारवालाको भनाइ छ । संघीय सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष मनाउन लागिरहेका बेला त्यसलाई सहयोग पुग्ने गरी प्रदेशमा पनि लुम्बिनी भ्रमण वर्षको तयारी गरिएको हो ।


गत फागुन २३ मा प्रदेश सरकारले ४ करोड १९ लाख रुपैयाँ विनियोजन गरेर लुम्बिनी भ्रमण वर्ष मनाउने निर्णय गर्‍यो । उद्घाटन, समापन कार्यक्रमका लागि ८५ लाख रुपैयाँ छुट्याइएको छ । समिति गठन र खाजा भत्तामा ४६ लाख बजेट राखिएको छ । २० लाख रुपैयाँ कार्यपत्र लेखनमा छुट्याइएको छ । सरसफाइ र डस्टबिन खरिदमा ४० लाख रुपैयाँ र २० लाख रुपैयाँ ब्रोसर छपाइका लागि भनिएको छ ।


पूर्वाधार निर्माणमा बजेट छैन । भ्रमण वर्ष प्रभावकारी हुनेमा स्थानीयले आशंका गरेका छन् । भ्रमण वर्षका कार्यक्रममा प्रसूति उत्सव र लुम्बिनी फुड फेस्टिभल राखिएका छन् । सुजाता खीर उत्सव, लुम्बिनी मायादेवी मन्दिर परिसरमा दैनिक दीप प्रज्वलन, मासिक फुलमुन डे उत्सव, धार्मिक यात्रा, त्रिपिटक वाचन र लुम्बिनी पिस म्याराथनलगायत कार्यक्रम तय गरिएका छन् ।


प्रसूति मार्ग घोषणा नहुने

भ्रमण वर्षका लागि बनाइएका कार्यक्रम कार्यान्वयनमा नआउँदै संशोधन हुने भएका छन् । मायादेवी प्रसूति मार्ग घोषणा गर्ने कार्यक्रम नहुने भएको छ । लुम्बिनी–तिलौराकोट खण्डलाई प्रसूति मार्ग घोषणा गर्ने कार्यक्रम थियो ।


मायादेवी लुम्बिनी उपवनमा सुत्केरी भई राजकुमार सिद्धार्थलाई लिएर राजधानी कपिलवस्तु फर्कंदाको इतिहासलाई स्मरण गर्न ऊक्त कार्यत्रम राखिएको थियो । ‘मायादेवी कुन बाटो भएर फर्किइन् भन्ने प्रामाणिक अध्ययन छैन,’ मन्त्रालय स्रोतले भन्यो, ‘त्यस कारण समस्या भयो ।’ लुम्बिनी पिस म्याराथन कार्यक्रम मर्ज गरिएको छ ।


म्याराथनका परिकल्पनाकार विक्रम पाँडेकाजीले मर्ज गरी बोधगया इन्लाइटेनमेन्ट म्याराथन गर्न लागेका हुन् । सन् २०१९ मा त्यसको सुरु गरी २०२० मा म्याराथन गर्ने उनले बताए । बाटो बिग्रिएको स्वदेशी/विदेशी धावकको गुनासोपछि कार्यक्रमको स्वरूप बदल्नुपरेको उनले बताए ।


जनप्रतिनिधि नै अनभिज्ञ

लुम्बिनी भ्रमण वर्षबारे स्थानीय जनप्रतिनिधि अनभिज्ञ छन् । ‘पाहुनालाई कसरी आकर्षित गर्ने भन्ने विषयमा सरोकारवालासँग सल्लाह सुझाव लिइएको छैन,’ लुम्बिनी क्षेत्रका प्रदेशसभा सदस्य फखरुद्दिन खाँले भने, ‘बिनायोजना काम भइरहेको छ ।’


यहाँका बासिन्दालाई बेवास्ता गरिएको उनले बताए । बुद्ध सर्किट आसपासका सांसद, प्रदेशसभा सदस्य र स्थानीय तहसँग समन्वय गर्नुपर्ने उनले बताए । लुम्बिनी सांस्कृतिक नगरपालिका प्रमुख मनमोहन चौधरीले पनि भ्रमण वर्षबारे औपचारिक जानकारी नभएको बताए । ‘सुनेको छु,’ उनले भने, ‘तर के हुन्छ, कसो हुन्छ, केही थाहा छैन ।’


भ्रमण वर्ष कार्यक्रमबारे कुनै जानकारी र छलफल नभएको लुम्बिनी विकास कोषका सदस्य राजेश ज्ञवालीले बताए । ‘सरोकारवालाले गराउन चाहेन,’ उनले भने, ‘त्यसकारण हामी सूचनाविहीन भएर बसेका छौं ।’


लुम्बिनी भ्रमण वर्षको मूल समितिको अध्यक्षमा प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल छन् । कार्यकारी समिति संयोजकमा प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरी छन् । फागुन २३ मा प्रदेशले भ्रमण वर्ष मनाउने निर्णय गरेकामा चैत २६ गते विभिन्न उपसमिति गठन गरियो ।


प्रदेश मन्त्रालयका उपसचिव लोकनाथ सापकोटाको संयोजकत्वमा कार्यक्रम सञ्चालन उपसमिति बनाएर काम अघि बढाएको छ । प्रदेश सरकार प्रवक्ता तथा लुम्बिनी भ्रमण वर्ष मूल समिति सदस्य बैजनाथ चौधरीले सबै बुद्धस्थल समेटिने गरी कार्यक्रम तयार गरी मन्त्रिपरिषद्ले पारित गरेको बताए ।


बसाइ लम्ब्याउने योजना

लुम्बिनी भ्रमण गर्ने पर्यटकको संख्या बढे पनि बसाइ लम्बिन सकेको छैन । ‘भ्रमण वर्षको मुख्य उद्देश्य बसाइ लम्ब्याउने हुनुपर्छ,’ होटल व्यवसायी किरणचन्द्र पौडेलले भने, ‘त्यसले सबैलाई रोजगारीसँग जोड्छ ।’ धेरै पर्यटकको भ्रमणको रोजाइमा लुम्बिनी परे पनि बसाइ अवधि निकै कम छ । लुम्बिनी विकास कोष योजना प्रबन्धक सरोज भट्टराईले भने, ‘भ्रमण वर्षले पर्यटक भुलाउने कार्यक्रम बनाउनुपर्छ ।’


पर्यटकलाई बसाइको आकर्षक प्याकेज छैन । विभिन्न बुद्धिष्ट मुलुकबाट आफ्नो मुलुक हुँदै लुम्बिनी आउने पर्यटकको समूहलाई भारतीय टुर गाइडले केहीबेर लुम्बिनी घुमाएर तत्काल भारततिरै फर्काएर लैजाने गरिरहेका छन् ।


पर्यटनमुखी आकर्षक कार्यक्रम ल्याउन नसकिएको उनले बताए । ‘निकै द्रुत गतिमा काम गरिरहेका छौं,’ उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालयका सूचना अधिकारी जीवन पाण्डेले भने, ‘लामो समयसम्म प्रभाव पर्ने गरी योजना र कार्यक्रम बनाएका छौं । थोरै समयमा धेरै तयारी गर्दा धेरै ठाउँ पुग्न सकिएन होला तर छिट्टै लुम्बिनी पुग्ने योजना बनाएका छौं ।’ लुम्बिनी भ्रमण वर्ष सफल पार्न सबैको सहयोग र सद्भाव आवश्यक हुने उनले बताए ।


लुम्बिनी केन्द्रित गरी भ्रमण वर्ष मनाइँदै छ । तर, भैरहवातिरबाट लुम्बिनी जाने मुख्य बाटोको अवस्था बेहाल छ । बाटो मर्मत नहुँदा आवतजावतमा समस्या भइरहेको छ । तौलिहवाबाट लुम्बिनी जाने बाटोको अवस्था पनि उस्तै बेहाल छ । स्तरोन्नतिको काम भइरहेकाले यो बाटो भएर आवतआवत गर्न निकै सास्ती खेप्नुपर्छ ।

प्रकाशित : वैशाख १५, २०७६ ०८:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?