कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३९

एकै चालकले हजार किलाेमिटर

डीआर पन्त

डडेलधुरा — ‘दुई जना चालक छन् ?’ भीमदत्त राजमार्गको बुडर सडक खण्डको धारापानी नजिक गस्तीमा रहेका ट्राफिक प्रहरीले सोधेपछि बसका सहायकले दुईवटा लाइसेन्सको बीचमा ५ सयको नोट च्यापेर दिए । मुसुक्क हाँसेर ट्राफिकले इन्ट्री गरे ।

एकै चालकले हजार किलाेमिटर

गाडीका कागजपत्र र लाइसेन्ससमेत नहेरिकन फर्काए । त्यसपछि सुरु भयो दार्चुलादेखि राजधानीसम्मको करिब एक हजार किलोमिटरको बस यात्रा ।

केहीअघि डडेलधुराको स्याउले ट्राफिक पोस्टमा इन्ट्री गर्दा २२ यात्रुमात्र रहेको बताइयो । त्यहाँबाट ३ किलोमिटर दूरीमा रहेको सल्लाघारीमा दुर्घटना भयो । उद्धारका क्रममा ५३ यात्रु भेटिए । अझ यात्रुभन्दा बढी व्यापारिक सामानको भारी भेटियो । धनगढीबाट अछामका लागि हिँडेको उक्त बसले स्याउलेबाहेक अन्य ६ वटा ट्रफिक पोस्ट पार गरिसकेको थियो ।

बुधबार डडेलधुराको साहुखर्कमा ६ जनाको ज्यान जाने गरी दुर्घटना भएको यात्रुवाहक बसले पनि ५ वटा ट्राफिक प्रहरी पोस्ट पार गरेको थियो । ३२ यात्रु बोक्ने क्षमता भएको उक्त बसमा पनि ५० भन्दा बढी यात्रु र ८० क्विन्टलभन्दा बढी व्यापारिक सामानको लोड थियो । शुक्रबार महेन्द्रनगरदेखि बैतडीका लागि छुटेको यात्रुवाहक बस डोटीको रूपसकाँडामा दुर्घटना भयो । १३ जना घाइते भए ।

उक्त बसमा पनि क्षमताभन्दा निकै बढी सामान र यात्रु रहेको प्रहरीले जनाएको छ । महेन्द्रनगरबाट शुक्रबार बिहान छुटेको उक्त बसले दुर्घटनास्थल पुग्नुअघि ९ वटा ट्राफिक पोस्ट र ७ वटा प्रहरी चेकपोस्ट पार गरेको थियो । नियमनकारी निकाय, यातायात व्यवसायी र सवारी साधन सञ्चालन गर्ने कर्मचारीको लापरबाहीका कारण भीमदत्त राजमार्गमा औसतमा दैनिक २ वटा दुर्घटना हुने गरेका छन् । पछिल्लो तथ्यांकअनुसार प्रदेशमा हरेक साता औसत ५ जनाको मृत्यु हुनुका साथै १२ जनाभन्दा बढी घाइते हुने गरेका छन् ।


यो सिलसिला लामो समयदेखि चल्दै आएको छ । धनगढी–डडेलधुराको १ सय ४० किलोमिटर लामो यो राजमार्गमा सबैभन्दा बढी दुर्घटना हुने गरेको छ । कैलाली कञ्चनपुरबाहेक ७ पहाडी जिल्लामा पछिल्लो समय दुर्घटनामा निकै बढेका छन् ।

‘९० प्रतिशत बढी दुर्घटना मानवीय त्रुटिका कारण हुने गरेका छन्,’ उग्रतारा यातायात डडेलधुराका प्रबन्ध निर्देशक लक्ष्मणसिंह महरले भने, ‘नियमनकारी निकाय कमजोर हुनु, गाडी चालक र परिचालकले क्षमताभन्दा बढी भार बोक्नु, यातायात व्यवसायीमा पनि दुई पैसा बढी कमाउने लोभका कारण दुर्घटना बढदै गएका हुन् ।’ ट्राफिक प्रहरीले यातायातका नियम पालनामा सामान्य कडाइ गर्ने हो भने दुर्घटना धेरै कम हुन सक्ने बताउँदै महरले भने, ‘क्षमताभन्दा बढी भार बोक्ने र ट्राफिक नियम पालना नगर्नेलाई सामान्य कारबाहीसमेत गरिएको भेटिँदैन ।’

उनले भनेजस्तै भीमदत्त राजमार्गमा दैनिक सबैखाले यातायातका साधन गरी २ हजारभन्दा बढी सवारी साधन चल्ने गरेका छन् । नियमनको जिम्मा पाएको ट्राफिक प्रहरीले कानुन र नियम उल्लंघन गर्नेलाई जरिवानाबाहेक अन्य कुनै कारबाही गरेको उदाहरणसमेत पाइँदैन । हरेक पटक दुर्घटना हुनेबित्तिकै जागेजस्तो हुने सरकारी निकाय केही दिनभित्रै फेरि पुरानै शैलीमा काम गर्न थाल्छन् । कारबाहीका नाममा केही रकम वैधानिक रूपमा जरिवाना र अरू अवैध रूपमा गोजीमा जाने गरी गरिने कारबाहीबाहेक मुद्दा नै चल्ने गरी हालसम्म कारबाही भएको भेटिँदैन ।

ट्राफिक प्रहरीले ६ वर्षअघि पहाडी क्षेक्रमा टाइम कार्ड लागू गर्‍यो । गत वर्षदेखि यात्रुवाहक सवारी साधनमा यात्रुको ब्यत्तिगत प्रयोगको सामानबाहेक अरू बोक्न नपाउने नियम पनि बनायो । तर केही पनि पालना हुन सकेन । ‘नियमकानुन जति बने उति बढी रकम तिुर्नपर्ने बाध्यता छ,’ सुदूरपश्चिम यातायात समितिका चालक धर्म ऐडीले भने, ‘आफैं नियम बनाउने ट्राफिकले नियम उल्लंघन गरेबापत रकम असुल्नेबाहेक अरू केही गर्दैन ।’ क्षमताभन्दा बढी यात्रु र सामान बोक्न रोक्ने हो भने आधाभन्दा बढी दुर्घटना नियन्त्रण हुन सक्ने उनी बताउँछन् ।

लामो दूरीका सवारी साधनमा २ जना चालक हुनुपर्ने नियम २ वर्षअघि नै बने पनि कार्यान्वयन भने भएन । ऐडीका अनुसार डडेलधुरादेखि काठमाडौंसम्म १ हजार किलोमिटरको दूरी एक्लै चालकले चलाउँदै आएको बताए । प्रदेशमा रहेका ८ वटा यातायात समितिमार्फत हरेक दिन लामो दूरीका २ सय ३३ वटा यात्रुवाहक सवारीसाधन चल्ने गरेका छन् । तीमध्ये प्रदेशका विभिन्न जिल्लाबाट राजधानी काठमाडौं चल्ने सवारी साधनको संख्या पनि अत्यधिक छ । प्रहरीले हरेक सवारी साधनबाट निश्चित रकम लिएर २ जना चालक हुनुपर्ने नियम आफैं उल्लंघन गराउँदै आएको छ ।

हरेक पटक दुर्घटना न्यूनीकरणका लागि बनाइने नियम र कानुन पालना हुन नसक्दा बर्सेनि सुदूरपश्चिम प्रदेशमा मात्र ४ सयभन्दा बढीले ज्यान गुमाउनुपरेको तथ्यांकले देखाएको छ । एक हजारभन्दा बढी अपांग हुन बाध्य हुनुपरेको छ । सडकमा पुराना र थोत्रा गाडी बढी छन् । हरेक ६ महिनामा हुने सवारी जाँच पास गर्नुपर्ने नियम यातायात कार्यालयका कर्मचारीका लागि कमाउने राम्रो माध्यम भएको छ ।

यातायात कार्यालय कैलालीका एक कर्मचारी भन्छन्, ‘६/६ महिनामा १६ हजारभन्दा बढी सवारी साधनको जाँचपास हुन्छ । एउटा गाडीबाट लिइने न्यूनतम २ हजारका दरले कति ठूलो रकम उठ्छ आफैं हिसाब गर्नुहोस् ।’ जाँचपासका लागि आउने सवारीसाधनमध्ये १५ प्रतिशतको पनि ठीक ढंगले चेकजाँच हुँदैन ।

पछिल्लो तथ्यांकअनुसार सुदूरपश्चिममा रुट परमिट भएको ४ हजार ७ सय ३ किलोमिटर सडकमा सानाठूला गरी २६ हजारभन्दा बढी सवारी तथा ढुवानीका साधन गुडछन् । कुल सडकमध्ये ९ सय ९३ कालोपत्रे सडक छ । १७ सय ९४ ग्राभेल र ३४ सय १६ किलोमिटर कच्ची सडक छ । स्थानीय सरकार बनेपछि ट्र्याक खुलेका ग्रामीण सडकसमेत जोड्ने हो भने पछिल्लो समय ५ हजार किलोमिटर कच्ची सडक सुदूरपश्चिममा थपिएको छ । योसँगै दुर्घटनामा पनि निकै वृद्धि भएको क्षेत्रीय ट्राफिक कार्यालयको तथ्यांकमा उल्लेख छ ।

सडक विस्तार भएसँगै यातायातका साधनमा पनि त्यसै अनुपातमा वृद्धि भएको छ । तर नियमनकारी निकायको जनशक्ति र क्षमता भने पुरानै देखिएको छ । यातायात कार्यालय र ट्राफिक प्रहरीको क्षमतासमेत बढ्न सकेको छैन । सुदूरपश्चिममा कुल १३३ जनाको ट्राफिक दरबन्दी छ । बिदामा बसेका बाहेक दैनिक १ सयजना ड्युटीमा हुने गरेका छन् । सडक किलोमिटरको हिसाब गर्ने हो भने एक ट्राफिकले १ सय किलोमिटरभन्दा बढी क्षेत्र हेर्नुपर्ने अवस्था छ ।

‘ट्राफिक व्यवस्था भगवान भरोसा चलेको छ,’ एक ट्राफिक प्रहरी अधिकृत भन्छन्, ‘जिल्लादेखि क्षेत्र हुँदै ट्राफिक निर्देशनालयसम्म कसले कति बुझाउने भन्ने निश्चित रकम तोकिएको हुन्छ । त्यहीअनुरूप काम भइरहेको छ ।’ यातायात व्यवसायीबाट रकम असुलउपर गर्नुबाहेक अरू कुनै ड्युटी नभएको उनले बताए । ‘एक हप्तामात्र सबै ट्राफिक नियम र कानुन कडाइका साथ पालना गराउने हो भने ८० प्रतिशत दुर्घटना न्यूनीकरण हुन सक्छन् तर त्यसो गर्न सम्भव नै छैन,’ ती अधिकृतले भने, ‘माथिदेखि तलसम्म ट्राफिक प्रहरी र यातायात कार्यालयमा धन आर्जन हुने भएकाले नियमकानुन पालना गराउनतर्फ कसैको चासो नै छैन ।’

बझाङ, दार्चुला र बाजुराबाहेक सबै जिल्लामा ट्राफिक कार्यालय छन् । कार्यालय नभएका जिल्लामा ट्राफिक पोस्ट छन् । १ सय ३३ जनाको दरबन्दीसहित कैलालीको अत्तरियामा क्षेत्रीय ट्राफिक कार्यालयमार्फत सञ्चालन भइरहेको ट्राफिक व्यवस्थाप्रति व्यवसायीसमेत सन्तुष्ट छैनन् । ‘एउटा सीमासम्म व्यावहारिक कुरा हुन्छ,’ उग्रतारा यातायातका प्रबन्ध निर्देशक महरले भने, ‘तर हरेक कुरामा लगानी गरेजस्तै मुनाफा खोज्ने प्रवृक्तिले यातायात क्षेत्रमा सुधार हुन सकेको छैन ।’

प्रकाशित : वैशाख १६, २०७६ ०७:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?