कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

रेडक्रसको साधारण सभा र निर्वाचन स्थगित गर्न निर्देशन 

माधव बस्नेत

काठमाडौँ — नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय पदाधिकारीहरू कारबाहीमा पर्ने भएका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंले साधारणसभा तथा निर्वाचन कार्यक्रम स्थगित गर्न निर्देशन दिएपछि रेडक्रस नेतृत्व कारबाहीमा पर्ने निश्चित भएको हो । 

रेडक्रसको साधारण सभा र निर्वाचन स्थगित गर्न निर्देशन 

केन्द्रीय नेतृत्व छनोटका लागि नेपाल रेडक्रस सोसाइटीले वैशाख २३ गतेदेखि २५ गतेसम्म सुनसरीको धरानमा साधारणसभा गर्दै थियो । जिल्ला प्रशासन कार्यालय काठमाडौंले भर्खरै ‘अत्यन्त जरुरी, गोप्य’ पत्र लेखेर निर्वाचन कार्यत्रम स्थगित गर्न निर्देशन दिएको छ । यस अघि नै कान्तिपुर र नेपाल साप्ताहिकले रेडक्रसभित्र अनियमितता भएको श्रृंखलाबद्ध रिपोर्टिङ गरेका थिए । तर, रेडक्रस नेतृत्वले आफूले अनियमितता नगरेको जिकिर गर्ने गरेको थियो ।


च. नं. ९८६ रहेको कान्तिपुरलाई प्राप्त ‘गोप्य’ पत्रमा भनिएको छ, ‘..नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय गोदाम घर निर्माणका लागि जग्गा खरिद, केन्द्रीय रत्त सञ्चार केन्द्रको नयाँ भवन निर्माण र विभिन्न जिल्लामा खानेपानी लगायतका आयोजना/कार्यक्रमहरूमा व्यापक भ्रष्टाचार तथा अनियमितता भएको भनी विभिन्न मितिमा यस कार्यालय तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय समेतमा उजुरी परी यस कार्यालयमा प्राप्त भई छानबिन तथा अनुसन्धान भइरहेको ब्यहोरा जानकारी नै छ ।’


‘वर्तमान केन्द्रीय कार्य समितिकै कतिपय पदाधिकारीहरू विरुद्ध उजुरी परी छानबिन तथा अनुसन्धान भइरहेको सन्दर्भमा त्यस सोसाइटीको आसन्न साधारण सभा तथा निर्वाचन स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित रूपमा हुन नसक्ने भनी उक्त साधारणसभा तथा निर्वाचन कार्यक्रम रोकी पाउँ भनी विभिन्न निकायमा परेको उजुरी समेत यस कार्यालयमा प्राप्त हुन आएकोले अनियमितता तथा भ्रष्टाचारका विषयमा छानबिन तथा अनुसन्धान भइरहेको र वर्तमान पदाधिकारीहरूबाटै गराइने निर्वाचनको निष्पक्षता र स्वतन्त्रतामाथि नै प्रश्न उठ्न सक्ने भएकाले त्यस सोसाइटीबाट मिति २०७६ साल वैशाख २३, २४ र २५ गते सुनसरी जिल्लाको धरानमा हुने भनिएको साधारण सभा तथा निर्वाचनको कार्यक्रम अर्को आदेश नभएसम्मको लागि स्थगित गर्न संस्था दर्ता ऐन २०३४ को दफा ११ बमोजिम निर्देशन दिइएको ब्यहोरा मिति २०७६।०१।२२ को निर्णय अनुसार अनुरोध छ ।’


स्रोतका अनुसार केन्द्रीय गोदाम घर निमार्णका लागि खरिद गरिएको जग्गामा ठुलो अनियमितता भेटिएपछि जिल्ला प्रशासन कार्यालले साधारण सभा र निर्वाचन कार्यक्रम स्थगित गर्न निर्देशन दिनु परेको हो ।


स्रोत भन्छ, ‘जग्गा खरिदमा संलग्न रेडक्रस नेतृत्वलाई छिट्टै नै बयानमा बोलाइने छ ।’ काठमाडौँ जिल्ला प्रशासन कार्यालय झन्डै २ महिनादेखि भक्तपुरमा गोदाम घर निर्माणका लागि खरिद गरिएको जग्गामा अनियमितता भए/नभएको छानबिनमा थियो । छानबिनबाट प्रशस्तै कैफियत भेटिएपछि बयानमा बोलाउने तयारीमा जुटेको हो ।

प्रकाशित : वैशाख २२, २०७६ १७:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भोकमरी जोखिम भएका घरपरिवारलाई 'खाद्य सहायता परिचयपत्र' दिनेगरी सरकारले नियमावली जारी गरेकोमा तपाईं के भन्नुहुन्छ ?