कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नागरिकता लिन ७ दिन

सन्तोष सिंह

धनुषा — सबैला नगरपालिका-४ का सहिन्द्र र महिन्द्र महराले नागरिकताका लागि टन्टलापुर घाममा सेकिएको चार दिन भयो । उनीहरू आइतबार पनि बिहान सातै बजे जिल्ला प्रशासन कार्यालयमा लाम लागे । दिउँसो २ बज्दा पनि पालो आएन । उनीहरूजस्ता अरू २ सयभन्दा बढी व्यक्ति लाइनमा थिए ।

नागरिकता लिन ७ दिन

जन्मका आधारमा नागरिकता लिएकाका सन्तानलाई वंशज नागरिकता दिने सरकारको निर्णयपछि प्रशासनमा भीड बढेको छ । नागरिकता नहुँदा विभिन्न अवसरबाट वञ्चित भएकाहरू दिनहुँ प्रशासन धाइरहेका छन् । तर प्रशासनले सीमित जनशक्तिका कारण सेवाग्राहीको चाप थेग्न सकेको छैन ।


नागरिकता बनाउन ७ दिनदेखि पढाइ छोडेर लाइन बसिरहेको धनुषा, बटेश्वरका दीपक राइनले बताए । 'चर्को घाममा लाइन बसेको ७ दिन बित्दासमेत नागरिकता पाउन सकेको छैन,' उनले भने ।

चर्को घाममा महिलाहरूसमेत बच्चा च्यापेर लाइन बसिरहेका छन् । वितरण सुस्त हुँदा लाइनमा बस्नेहरूबीच विवादसमेत भइरहेको देखिन्छ । वैशाख ९ देखि जन्मका आधारमा नागरिकता वितरणका लागि आवेदन लिएको जिल्ला प्रशासनमा शुक्रबारसम्म ७ सय ९३ आवेदन परेका छन् । कार्यालयले यसबीच ६३ जनालाई नागरिकता वितरण गरेको छ ।


आवेदनका तुलनामा वितरण निकै कम हुँदा भीड घट्नु साटो थपिएको थपियै छ । नागरिकता लिन दिनहुँ धाउनेको संख्या उच्च छ । जिल्ला प्रशासन कार्यालयले पठाएको पत्रको जवाफ प्रहरीले समयमै नपठाउँदा नागरिकता वितरण झन्झटिलो बनेको छ ।


सेवाग्राही चर्को घाममा लइनमा बस्नुपर्ने अवस्था छल्न डिजिटल टोकनबाट काम गराउने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी प्रदीप कँडेलले बताए । नागरिकता वितरण गर्ने कर्मचारी अभाव रहेको उनको भनाइ छ ।


'नागरिकताको माग धेरै भए पनि वितरणको परिमाण कम छ,' प्रजिअ कँडेलले भने, 'जिल्ला प्रशासनकै कर्मचारीको मिलेमतोमा गैरनागरिकको नागरिकता बनाएको आरोपमा ५ जना निलम्बित भएका छन् । त्यस्ता गल्ती दोहोरिन नदिन सतर्कता अपनाउँदा सेवाग्राहीलाई सास्ती छ ।'

प्रकाशित : वैशाख २३, २०७६ ०७:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?