कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सामुदायिक विद्यालयमा शुल्कैशुल्क

ओमप्रकाश ठाकुर

सर्लाही — चन्द्रनगर गाउँपालिकी-४ बबरगन्ज, पोखरियाकी माया माझी अरूका खेतमा मजदुरी गरेर परिवार पाल्छिन् । उनका ३ छोराछोरी बबरगन्जस्थित दुर्गा खोभारी माविमा पढ्छन् । तर, छोराछोरी पास भएर कक्षा उक्लँदैपिच्छे उनले शुल्क तिर्नुपरेको छ ।

सामुदायिक विद्यालयमा शुल्कैशुल्क

सामुदायिक भए पनि उक्त विद्यालयले निजी विद्यालयले जसरी शुल्क उठाउँदा दैनिक मजदुरी गरेर जीविका चलाउनुपर्नेहरू मर्कामा छन् । साहुबाट सयकडा ५ प्रतिशतका दरले २ हजार रुपैयाँ कर्जा लिएर विद्यालयलाई तिरेपछि बल्ल छोराछोरीको नाम लेखिएको मायाले बताइन् । 'सरकारले माध्यमिकसम्म नि:शुल्क भनेको छ तर हामीले बर्सेनि पैसा तिर्नुपर्छ, गरिबलाई पैसा ल्याउन कठिन भयो,' उनले भनिन्, 'कर्जा लिएर नाम लेखाएको छु ।'


मायाका अनुसार कक्षा ९ बाट १० मा गएका छोरा विशालको नाम लेखाएबापत विद्यालयले ९ सय ७० रुपैयाँ लिएको छ । कक्षा ७ बाट ८ मा गएकी छोरी सुजिताको ६ सय र ५ बाट ६ मा गएकी सरोको ४ सय रुपैयाँ तिरेकी छन् । 'पैसा नतिरीकन नामै लेखेन, हामी गरिब छौं भन्दा पनि मानेन,' उनले भनिन् । अनिवार्य तथा नि:शुल्क शिक्षासम्बन्धी ऐन २०७५ विपरीत सामुदायिक विद्यालयले अभिभावकसँग शुल्क असुल्दै आएका छन् ।


गुणस्तीय शिक्षाका नाममा जिल्लाका अधिकांश सरकारी विद्यालयले यसरी शुल्क उठाइरहेका छन् । दुर्गा खोभारीका प्रधानाध्यापक लालबाबु रायले विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि निजी स्रोतबाट शिक्षक व्यवस्थापन गर्न अभिभावककै सहमतिमा वाषिर्क सहयोग लिएको बताए । 'शिक्षकको अभाव छ, विद्यार्थीलाई गुणस्तरीय शिक्षा दिनुपर्‍यो, यसका लागि निजी स्रोतबाट शिक्षक राखिएको छ,' उनले भने, 'उनीहरूलाई तलब दिन विद्यालय सहयोग भनेर विद्यार्थीबाट रकम संकलन गछौं ।'


अन्य विद्यार्थीसँग मासिक रूपमा सहयोग रकम लिइए पनि दलित परिवारसँग नाम लेखाइबापतको शुल्क मात्र लिइएको रायले बताए । उनले कक्षा ६ देखि १० सम्मका विद्यार्थीलाई १ सय ४० देखि १ सय ७० रुपैयाँसम्म मासिक लिइरहेको जानकारी दिए । उक्त विद्यालयमा १५ जना दरबन्दीका र १२ जना निजी स्रोतका शिक्षक छन् ।


कतिपय विद्यालयले निजी स्रोतबाट शिक्षक राखेर विद्यार्थीबाट मासिक सहयोग उठाउने गरेका छन् । श्री माध्यमिक विद्यालय गैरका प्रधानाध्यापक हेमनारायण झाले शिक्षक अभाव भएकाले विद्यार्थी तथा स्थानीयसँग सहयोग रकम उठाएर व्यवस्था गरिएको बताए । 'कक्षा १० सम्म विद्यालयमा पढाइ हुन्छ, माविस्तरको शिक्षक म मात्रै छु, बालविकास गरेर जम्मा ७ शिक्षक छन्,' उनले भने, '७ शिक्षकले ११ कक्षा कसरी पढाउने, त्यही भएर निजी स्रोतबाट शिक्षक राखेका छौं ।'


यस्तै लालबन्दीको जनज्योति मावि सबैभन्दा धेरै विद्यार्थी हुने सूचीमा पर्छ । उक्त विद्यालयले अंग्रेजी माध्यमबाट पनि पठनपाठन गराउँदै आएको छ । यसका लागि निजी स्रोतका २२ शिक्षक राखिएका छन् । विद्यालयमा शिशुदेखि कक्षा १२ सम्म २ हजार ५ सयभन्दा बढी विद्यार्थी छन् । प्रधानाध्यापक रामनिवास साहले अभिभावक भेलाबाट पारित रकम वाषिर्क एकमुष्ट रूपमा सहयोग लिने गरिएको बताए । कक्षा ४ देखि ६ सम्म ५ हजार ३ सय, ७ र ८ कक्षामा ७ हजार ३ सय र ९ र १० कक्षाकालाई १० हजार

३ सय रुपैयाँ लिइएको छ ।


'सरकारले पुग्ने स्रोत दिंदैन, शैक्षिक गुणस्तर कायम गर्नुपर्छ,' साहले भने, 'सरकारी सेवासरह नै निजी शिक्षकलाई पनि दिन्छौं, केही रकम विद्यार्थीबाट र केही रकम अन्य स्रोतबाट संकलन गरेर विद्यालयको शैक्षिक गुणस्तर कायम गरिएको छ ।'


प्रकाशित : वैशाख २३, २०७६ ०९:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?