कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रदेश राजधानी विराटनगर पारित भएपछि आन्दोलन फिर्ता

देवनारायण साह

मोरङ — प्रदेशसभाले सोमबार साँझ प्रदेश १ को स्थायी राजधानी विराटनगर पारित गरेपछि विराटनरबासीले आन्दोलन फिर्ता लिएका छन् । विराटनगरवासीले सर्वपक्षीय भेलाले प्रा.डा. भेषप्रसाद धमलाको नेतृत्वमा प्रदेश राजधानीको सम्पूर्ण संरचना विराटनगरमा राख्नुपर्ने माग गर्दै सोमबार बिहानैदेखि आन्दोलनमा उत्रेका थिए ।

प्रदेश राजधानी विराटनगर पारित भएपछि आन्दोलन फिर्ता

कांग्रेस, नेकपा, सङ्घीय समाजवादी, राजपा, राप्रपा, उद्योग सङ्गठन, मोरङ व्यापार संघलगायतका नागरिक समाजले धमलाको नेतृत्वमा राजधानी विराटनगर घोषणा गराउनका लागि दबाब समूह गठन गरेर आन्दोलनमा उत्रेका थिए ।


धमलाले प्रदेशसभाले राजधानी विराटनगर पारित गरेको र जहाँ राजधानी हुन्छ त्यही सबै संरचना रहने भएकोले आफूहरूको जीत भएको बताए । ‘प्रदेशसभामा पेस गरेको प्रस्तावमा राजधानी रहने स्थान विराटनगर उल्लेख थियो र त्यही पारित भयो,’ उनले भने, ‘अन्य विवरणमा कार्यपालिका, व्यवस्थापिका लगायतका अन्य संरचनाहरू बृहत् विराट क्षेत्रअन्तर्गत विराटनगर, इटहरी र सुन्दरहरैंचा क्षेत्र आसपासका क्षेत्रमा रहने उल्लेख भएको छ तर प्रदेश राजधानी जहाँ हुन्छ त्यही सबै संरचना रहने भएकाले हाम्रो आन्दोलन सफल भएको हो ।’


प्रदेश १ का मुख्यमन्त्री, प्रदेश सरकारका मन्त्रीहरू, सत्तारुढ दलका प्रदेश इन्चार्ज भीम आचार्यका साथै आन्दोलनरत पक्षबीच सोमबार दिउँसो वार्ता भएको थियो । वार्तामा मुख्यमन्त्री राईले प्रदेशसभामा सांसदहरू विराटनगर राजधानीको पक्षमा नभएकोले राजधानीका संरचना बृहत् विराटनगर क्षेत्रमा रहने अन्य विवरणमा उल्लेख गर्न बाध्य भएको बताएका थिए ।


प्रदेशसभाको राजधानीका लागि स्थान तोक्ने अधिकार मात्रै भएको र व्यवस्थापिका र कार्यपालिका रहने स्थान तोक्ने अधिकार सरकारको भएको धमलाले बताए । ‘वार्तामा मुख्यमन्त्रीलगायत उपस्थित प्रदेश सरकारका मन्त्रीहरू र सत्तारुढ दलका इन्चार्जले राजधानीका सम्पूर्ण संरचना विराटनगरमा नै रहने प्रतिबद्धता जनाएका छन्,’ उनले भने, ‘उक्त प्रतिबद्धता विपरीत पछि प्रदेश सरकारले कुनै निर्णय गरे सशक्त आन्दोलनमा उत्रिन बाध्य हुने छौँ ।’


प्रदेश १ को राजधानीका संरचना विराटनगर, इटहरी र सुन्दरहरैंचामा राख्ने प्रस्ताव आइतबार प्रदेशसभामा दर्ता भएको विरोधमा सोमबार बिहानैदेखि विराटनगर बन्द गरी स्थानीयवासी आन्दोलनमा उत्रिएका थिए । विराटनगरवासीले अनिश्चितकालीन बन्दको आहृवान गरी सोमबार बिहानैदेखि आन्दोलनमा उत्रेका थिए । बन्दले यहाँको जनजीवन प्रभावित भएको थियो । यातायातका साधन चल्न सकेका थिएनन् ।

प्रकाशित : वैशाख २३, २०७६ २१:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?