कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एसियाली सभ्यता सम्मेलन सुरु, ‘सम्पर्कले सभ्यता जीवन्त’ 

लक्ष्मी लम्साल

बेइजिङ — एसियाली सभ्यता संवाद सम्मेलन बुधबार बेइजिङमा सुरु भएको छ । कम्बोडिया, ग्रीस, सिंगापुर, श्रीलंका, अर्मेनिया, मंगोलियालगायत देशबाट बेइजिङ आएका राज्य तथा सरकार प्रमुख र युनेस्कोलगायत संगठनका प्रतिनिधिहरूमाझ राष्ट्रपति सी चिनफिङले सम्मेलन उद्घाटन गरेका थिए ।

एसियाली सभ्यता सम्मेलन सुरु, ‘सम्पर्कले सभ्यता जीवन्त’ 


‘गहन सभ्यता आदानप्रदान, एसियाली भाग्य एकरूपताको निर्माण’ भन्ने विषयमा सम्बोधन गर्दै राष्ट्रपति सीले विभिन्न मुलुक, जाति र सभ्यताबीच लेनदेन सबल पार्नुपर्नेमा जोड दिए । ‘सभ्यताप्रति समान विचार, सम्मान र पारस्परिक अध्ययन बढाउनुपर्छ,’ उनले भने ।


राष्ट्रपति सीले हिमाल र नदीले जोडिएको एसियाली सभ्यताको प्रसंग उठाउँदै एसियाली सभ्यताको बलियो पक्षबारे चर्चा गरे । यस क्रममा उनले चीनको पहेंलो नदी र याङ्त्से नदी, टिग्रिस-एगोला नदी, सिन्धुगंगा नदीको सभ्यता, वेद ग्रन्थदेखि ताजमहल, मक्का मस्जिद, अंगकोर वाटदेखि ग्रेटवालसम्म, मुद्रण, अरेबिक अंकलगायतको प्रसंग निकालेका थिए ।


हरेक सभ्यताको आआफ्नै मूल्य मान्यता हुने भएकाले विभिन्न मुलुकसित एसियाली सांस्कृतिक सम्पदा संरक्षणमा चीनले चासो देखाएको राष्ट्रपति सीको भनाइ थियो । ‘सांस्कृतिक सम्पदा संरक्षणमा चीनले एसिया तथा विश्वका लागि अझै ठूलो योगदान गर्नेछ,’ उनले भने । उनले संकुचित र परस्पर सम्पर्क नगर्ने सभ्यतामा जीवन्त शक्ति नहुने बताए । उनले युगअनुसारको निरन्तर विकास, प्राचीनतामा नवीनता, दीर्घकालीन आकर्षणका साथ सभ्यताहरूबीच आदानप्रदान र पारस्परिक अध्ययनमा जोड दिए ।


उनले एसियाली पर्यटन प्रवर्द्धन योजना कार्यान्वयन गर्ने, एसियाको आर्थिक विकास गर्ने, एसियालीहरूबीचको मित्रता घनिष्ठ पार्ने सवालमा योगदान गर्ने प्रण पनि गरे ।उद्घाटन सत्रमा श्रीलंका, ग्रिसलगायत राष्ट्रप्रमुख तथा सरकार प्रमुखले पनि सम्बोधन गरेका थिए । सम्मेलनमा नेपालबाट राजनीतिक प्रतिनिधित्व नभए पनि विभिन्न प्राज्ञिक तथा कला, पर्यटन आदि क्षेत्रबाट सहभागिता छ । सम्मेलनमा सहभागी मकालु प्रकाशनका प्रमुख वासुदेव ढकालले नेपालका लागि सम्मेलन उपयोगी हुने बताए ।


उनका अनुसार सहभागी एक दर्जन नेपाली प्रतिनिधिहरूले एसियाली सभ्यताको जगेर्ना, अनुभव बाँडफाँटसम्बन्धी सामूहिक छलफलमा भाग लिने र प्रस्तुति दिने कार्यक्रम छ । ‘चीनले गरेको सभ्यता सम्मेलन विशाल समुद्रजस्तै हो । लोटा लिएर जानेले थोरै पाउँछ, गाग्री लिएर जानेले धेरै पाउँछ,’ उनले भने ।


सीले सन् २०१४ साङहाईमा भएको एसियाली सहकार्य तथा विश्वास निर्माणसम्बन्धी शिखर सम्मेलन र २०१५ मा पोआउ एसियाली मञ्चमा एसियाली सभ्यताको पुनरुत्थानको कुरा उठाएका थिए । त्यसले अहिले मूर्तरूप पाएको हो ।


‘एसियाली सभ्यताबीच आदानप्रदान तथा आपसी सिकाइ र साझा भाग्य समुदाय’ भन्ने नारासहित आयोजित यस सम्मेलनमा एसियाका ४७ देशसहित अन्य महादेशका विद्वान्, युवा, सरकारी अधिकारी, अन्तर्राष्ट्रिय संघ संगठनका प्रतिनिधिहरूले भाग लिइरहेका छन् ।


दुईदिने मुख्य सम्मेलनका अलावा एसियाली सांस्कृतिक कार्निवल, एसियाली सभ्यता सप्ताह, पर्यटन, चलचित्र, खाद्य महोत्सव, परेडलगायत सयभन्दा बढी गतिविधि पनि यस अवधिमा संयोजन गरिएका छन् । सबै एसियाली देश पहिलोपटक विगत प्रतिविम्बित गर्दै आगतको परिकल्पना गर्न एक ठाउँ भेला भएका हुन् । उनीहरूले एसियाली सभ्यता विश्वकै लागि रोलमोडल बन्न सक्ने प्रतिक्रिया दिएका छन् ।


बेइजिङमा दोस्रो बीआरआई शिखर सम्मेलन र विश्व बागवानी एक्स्पो भएलगत्तै आयोजित सभ्यता वार्ता सम्मेलनले फेरि एकपटक विश्वको नजर चीनतर्फ खिचेको छ । विश्वको एक तिहाइ भूगोल, दुई तिहाइ जनसंख्या, ४७ एसियाली मुलुक र एक हजारभन्दा बढी जातिको भावनालाई प्रतिनिधित्व गरेकाले सम्मेलनले अर्थपूर्ण सन्देश सञ्चार गर्ने सहभागीहरूले बताएका छन् ।


प्रकाशित : जेष्ठ २, २०७६ ०९:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?