झाडापखालाले एकै गाउँमा ९४ बिरामी
पाल्पा — तिनाउ गाउँपालिका-४, बौरीडाँडामा झाडापखालाबाट ९४ जना बिरामी भएका छन् । ११ जनाको अवस्था गम्भीर छ । स्थानीयका अनुसार बिहीबार बिहानैदेखि गाउँमा झाडा र बान्ता फैलिएको थियो ।
बुधबार गाउँकै सिमबहादुर ठाडाको घरमा मृत्यु भएको १३ दिनको चोखिने क्रममा खाना खाएकाहरु बढी बिरामी परेका छन् । त्यहाँ बटुक, अचार लगायतका खाना खाएकाहरु बिरामी परेको स्थानीयले बताए ।
गम्भीर भएका ११ जनाको लुम्बिनी मेडिकल कलेजमा उपचार भएको छ । बिरामीलाई गाउँकै सडक छेउका टहरा, बारी, सडकमा राखेर उपचार गरिएको छ । सामान्य बिरामीलाई घरमा उपचार गरिएको छ । सदरमुकाम तानसेनबाट उपचारका लागि पुगेको स्वास्थ्यकर्मीको टोली फर्किएको छ । स्थानीय स्वास्थ्यकर्मी र दोभानबाट खटिएका प्रहरीले झाडापखाला प्रभावित गाउँमा बिरामी निगरानी गरिरहेका छन् । 'आत्तिनेलाई स्लाइन पानी चढाइएको छ,' कोलडाँडा स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी हरिजले भने, 'गाउँमा सबैलाई नआत्तिन आग्रह गरको छ ।'
उनले सदरमुकामबाट गाउँ पुगेका सबै स्वास्थ्यकर्मी फर्किकाले एक्लै खटिनुपरेको गुनासो गरे । उनी स्वास्थ्य इकाईमा कार्यरत सहयोगीका साथ बिरामीलाई हेरचार गरेर बसेका छन् ।
गाउँमा बुधबार राति नै केहीलाई झाडा र बान्ता भएको थियो । बिहीबार बिहान १० बजेपछि गाउँका धेरै जना बिरामी परेर अत्तालिएका थिए । बिरामी भएकाहरु कतिपय घरमै औषधि खाने, जीवनजल बनाएर त्यसलाई पिएर बसेका छन् । 'मान्छे मृत्यु भएको १३ औं दिनको पुण्यतिथिमा खाएको खानाबाट गाउँभरि झाडापखाला फैलिएको आशंका गरिएको छ,' स्थानीय देवसिंह थापाले भने ।
बिरमीहरुमा झाडा वान्ता, ज्वरो आउने, कमजोरी हुने, आत्तिने लक्षण देखिएको छ । उपचारका लागि गाउँपालिकाको समन्वयमा स्वास्थ्य शाखा सहित जिल्ला अस्पतालको टोली पुगेको थियो । तिनाउ दोभानका स्वास्थ्यकर्मी सुन्दर तरामुले झाडाबान्ता नियन्त्रणमा आउने विश्वास व्यक्त गरे । सदरमुकाम तानसेनबाट ३४ किलोमिटर दक्षिणमा रहेको बौरीडाँडा गाउँ पुग्न राजमार्गको २४ माइलबाट सातकिलोमिटर पूर्व जानुपर्छ ।
प्रकाशित : जेष्ठ २, २०७६ १८:४५