कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विराट नर्सिङ होममा शल्यक्रियापछि १०० सिकिस्त

विराट नर्सिङ होममा असोजयता पित्तथैली, एपेन्डिसाइटिस र पाठेघरको शल्यक्रिया गराएका बिरामीहरू संक्रमण भएर उपचारका लागि धाइरहेका छन्
विनोद भण्डारी

विराटनगर — पुस दोस्रो साता विराट नर्सिङ होममा दूरबिनबाट पित्तथैलीको शल्यक्रिया गराएकी झापा, शान्तिनगर ७ की राधा निरौलाको घाउ अझै बिसेक भएको छैन । डा.आरके साबुले राधाको पेटमा चारवटा प्वाल पारेर दूरबिनबाट पित्तथैलीको ढुंगा निकालेका थिए ।

विराट नर्सिङ होममा शल्यक्रियापछि १०० सिकिस्त

‘शल्यक्रिया गरेको अढाई महिना नबित्दै चारवटै प्वालमा घाउ भयो,’ राधाले भनिन्, ‘चिकित्सकलाई देखाउँदा इन्फेक्सन भयो भनेर फेरि शल्यक्रिया गरियो ।’ त्यसपछि एक महिनासम्म घाउमा ड्रेसिङ गराएको उनले बताइन् ।

‘अहिले फेरि चारवटै प्वालमा गाँठा पलाएको छ,’ उनले भनिन्, ‘चिकित्सकले गाँठामै २० वटा इन्जेक्सन लगाए । एक महिनाको खाने औषधि दिएका छन्, गाँठा हराएको छैन ।’ छातीतिर अरू गाँठा पलाउन थालेको उनले बताइन् । दुई लाख रुपैयाँ खर्च भइसक्दा रोग बिसेक हुनुको साटो झन् दु:ख पाएको उनको गुनासो छ ।

विराटनगर महानगरपालिका ३ की ५५ वर्षीया सीता बस्नेतको पनि राधाकै जस्तो समस्या छ । उनको पनि विराट नर्सिङ होममा असोजमा डा. साबुले दूरबिनबाट पित्तथैलीको ढुंगा निकालेका थिए । ‘ढुंगा निकालेको पाँच महिनापछि घाउ साह्रै दुख्यो,’ सीताले भनिन्, ‘उनै चिकित्सकलाई देखाउँदा भिडियो एक्सरे गर्न लगाए । त्यसले भित्र मासु पलाएको देखाएको छ ।’

डाक्टरले घाउमा इन्फेक्सन भएको भन्दै दोस्रो अप्रेसन गरे । ‘त्यसपछि घाउमा गिर्खा देखा पर्न थाल्यो,’ उनले भनिन्, ‘गिर्खामा २० वटा इन्जेक्सन हानियो ।’ सीताका अनुसार यति गर्दा अहिलेसम्म झन्डै पौने दुई लाख रुपैयाँ खर्च भएको छ ।

विराटनगरकै दुर्गाबहादुर कार्कीको पनि असोजमा त्यही नर्सिङ होममा डा. साबुले दूरबिनबाट पेटमा तीनवटा प्वाल पारेर एपेन्डिसाइटिसको शल्यक्रिया गरेका थिए । उनको पनि पीडा राधा र सीताकै जस्तो छ । शल्यक्रिया गरेको डेढ महिना नबित्दै तीनवटै प्वालबाट पिप आउन थाल्यो । त्यसपछि उनी थप उपचारका लागि दिल्ली पुगे । घाउ अझै निको भएको छैन ।

कार्कीले घाउ पुन: डा.साबुलाई देखाए । साबुले इन्फेक्सन भएको भन्दै दोहोर्‍याएर अप्रेसन गरे । दोस्रो अप्रेसनपछि पनि निको नभएपछि घाउमै इन्जेक्सन लगाउन सुझाव दिए । ‘डरले लगाएको छैन,’ उनले भने, ‘एपेन्डिसाइटिसको शल्यक्रिया गर्दा अढाई लाख रुपैयाँभन्दा बढी खर्च भइसक्यो । धेरै दु:ख पाइयो तर घाउ बिसेक भएको छैन ।’

यो नर्सिङ होममा डा. साबुबाटै दूरबिनबाट पित्तथैलीको शल्यक्रिया गराएका चिकित्सक भानु साह पनि यस्तै पीडा भोगिरहेका छन् । कोसी अञ्चल अस्पतालका रेडियोलोजिस्ट साहले दुई महिनाअघि डा. साबुबाटै दूरबिनबाट पित्तथैलीको ढुंगा निकालेका थिए ।

शल्यक्रिया गरेको एक महिना नबित्दै इन्फेक्सन भयो । एक सातादेखि काठमाडौंको मेडिसिटी अस्पतालमा थप उपचार गराइरहेका उनले भने, ‘आफैं चिकित्सक भएर पनि दूरबिनबाट शल्यक्रिया गराउँदा भएको इन्फेक्सनको पीडा भोगिरहेको छु ।’ उनका अनुसार हाल एन्टिबायोटिक औषधि चलाइएको छ ।

यो नर्सिङ होममा असोजयता दूरबिनबाट पित्तथैली, एपेन्डिसाइटिस र पाठेघरको शल्यक्रिया गराएका मध्ये सय जना यस्तै पीडा भोगिरहेका छन् । उनीहरू घाउमा इन्फेक्सन भएपछि पुन: उपचारका लागि धाइरहेका छन् ।

पछिल्लो समय दूरबिनबाट गरिएका शल्यक्रियामा ‘एटिपिकल माइक्रो ब्याक्टेरिया इन्फेक्सन’ देखा परेको डा. साबुले स्विकारे । ‘पछिल्लो समय यस्तो इन्फेक्सनले निकैलाई सताएको छ,’ उनले भने, ‘यो इन्फेक्सन बाहिर छालामा मात्र देखिएको छ । भित्री भागमा छैन ।’

उनका अनुसार एपेन्डिसाइटिसका बिरामीको शल्यक्रिया गर्दा तीनवटा प्वाल पारिन्छ । पित्तथैली र पाठेघरका बिरामीको पेटमा चारवटा प्वाल पारिन्छ । त्यसबाट दूरबिन छिराइन्छ । दूरबिनले भित्रको अवस्था कम्प्युटर स्क्रिनमा देखाउँछ । अनि त्यसमा हेरेर चिकित्सकले शल्यक्रिया गर्ने उनले बताए ।

अस्पताल प्रशासनका अनुसार पित्तथैली, एपेन्डिसाइटिस र पाठेघरको शल्यक्रिया गर्नुपर्ने बिरामी दैनिक ५ देखि ७ जनासम्म हुन्छन् । गत असोज महिनायता यो प्रविधिबाट शल्यक्रिया गरिएको हो । त्यसरी शल्यक्रिया गरिएकामध्ये करिब सय जनामा संक्रमणको समस्या देखिएको छ ।

प्रकाशित : जेष्ठ ३, २०७६ ०७:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?