कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

साइपालका अधुरा 'सुइना’

स्थानीय सरकारका प्रतिनिधि र कर्मचारी भेट्न साता दिन हिँडेर सदरमुकाम पुग्नुपर्ने बाध्यता हटेको छैन । साइपाल गाउँपालिकाको 'सिंहदरबार' सदरमुकाममै छ । 
वसन्तप्रताप सिंह

साइपाल, बझाङ — गाउँपालिका बनाउनाखी नांगै भोकै लड्या
नेताखी मनपडी भयो जनता भाड चढ्या 
हिँटु भन्या बाटो छैन, खोलामा पुल छैन 
बिरामीलाई ओख्तो छैन, फिरी (निःशुल्क) स्कुल छैन 
हिँडाइबाट मर्न लाग्या माइस अकालमा 
कैले विकास होइझालाकी हाम्रा साइपालमा ? 
काम छाडी आन्दोलन गर्‍याऊ, गर्‍याको सार भैन 
खाना खी चामल भैन टेलिफोन तार भैन...

साइपालका अधुरा 'सुइना’

यो गीतले सैपालको यथार्थ बोल्छ । यस्तै सुइना (सपना) पूरा हुने आशामा छन्, सैपालवासी ।


२०७३ मंसिर पहिलो साता साविक काँडा गाविस १ धलौनकी जोग्यानी धामी बझाङ सदरमुकाम चैनपुरमा थिइन् । उमेरले अर्धशतक -५१ वर्ष) कटिसकेकी उनले पहिलोपटक सदरमुकाम टेकेकी थिइन् ।


काँडावासीले छुट्टै गाउँपालिकाको माग गर्दै थालेको आन्दोलनमा साथ दिन आएकी उनले तत्कालीन जिल्ला विकास समितिको परिसर बाहिर थुप्रै पटक प्रहरीका लाठीसँग पौंठेजोरी खेलिन् । समस्या सुनाउन जिविसभित्र प्रवेश गर्न खोज्दा प्रहरीले उनलाई रोक्न खोज्यो । काँडेतारको बार नाघेर भित्र जाने प्रयास गर्दा प्रहरीले अवरोध गरेपछि उनी कडकिइन् । 'गाउँपालिका नदिएर हाम्रो गाउँमा बन्ने भनिएको अस्पताल ३ दिन टाढाको तल्कोटमा बन्ने भएको छ रे ।


हामीले उपचार नपाएरै मर्ने ? कि गाउँपालिका लिएर जान्छु । नभए यतै मर्नुपरे पनि मर्छु । हामीलाई सोझा भनेर हेपेको हो सरकार ?' जाेग्यानीले काँडेतारको बार समातेर बोल्दै गरेको त्यो दृश्य त्यतिबेला मिडियामा छाएको थियो ।

छुट्टै गाउँपालिकाको माग गर्दै जोग्यानी मात्र हैन, सबै काँडावासी ५ दिनसम्म पैदल हिँडेर सदरमुकाम आए । कोही दूधे बालकसहित आएका थिए ।


उनीहरूले राज्यले आफूहरूलाई नागरिकताबाहेक केही पनि नदिएको भन्दै नागरिकतासमेत बुझाए । प्रहरीको लाठी र कुटाइ खाए । कैयन्पटक काठमाडौंमा गए । ६ महिना लामो आन्दोलनपछि काँडा छुट्टै गाउँपालिका भयो । जनप्रतिनिधि आए । उनीहरूले काँडाको नाम फेरेर साइपाल गाउँपालिका बनाए ।


साइपाल भूगोलको हिसाबले नेपालकै ठूलो गाउँपालिका बन्यो । तर गाउँपालिकाले यहाँका बासिन्दाका साना समस्या पनि सम्बोधन गर्न सकेको छैन । नाम फेरिए पनि साइपालवासीका सपना फेरिएका छैनन् ।


जोग्यानी धामी वैशाख तेस्रो साता धलौनको आफ्नै बारीमा काम गर्दैगर्दा भेटिइन् । छुट्टै गाउँपालिका बनाउन उनले सदरमुकाममा बोलेका कुरा सम्झाउँदै कुराकानी थाल्दै गर्दा उनी निराश भएर प्रस्तुत भइन् । गाउँपालिका बनेको तीन वर्ष भइसक्दा पनि समस्या ज्यूँका त्यूँ रहेको र साइपालवासीका सपना पूरा नभएको उनको गुनासो थियो ।


'गाउँपालिका भएपछि अस्पताल बन्छ, पुल बन्छ, बाटो बन्छ, शिक्षकको दरबन्दी हुन्छ भनेर सुइना देखाए । सबै सरकारी काम गाउँमै हुन्छ भने,' उनले भनिन्, 'घरमा ताल्चा लाएर नांगै, भोकै आन्दोलन गर्न चैनपुर गयौं । काठमाडांै पुग्यौं । अचेल आलिकुली मालिकुली फुइखाजा (बच्चालाई झुक्याउन प्रयोग गरिने स्थानीय बोली अर्थात् मुठ्ठीभित्र केही छ भनेर आकषिर्त गर्ने नजिक पुगेपछि दुवै हात खाली देखाउने) भएको छ । हाम्रा दुःख उस्तै छन् ।'


गाउँमै सिंहदरबार पुर्‍याउने नारा दिएर स्थापना गरिएको स्थानीय सरकारका प्रतिनिधि र कर्मचारी भेट्न यहाँका बासिन्दाले साता दिन हिँडेर सदरमुकाम पुग्नुपर्ने बाध्यताबाट समेत मुक्ति पाएका छैनन् । साइपाल गाउँपालिकाको कार्यालय सदरमुकाम चैनपुरमै छ । जोग्यानीले भनिन्, 'गाउँपालिका आयो । जनप्रतिनिधि आए । अब हाम्रो दुःख हटाइदेलान् भन्ने सोच्यौं । अचेल उनीहरूको मुख हेर्न महिनौं कुर्नुपर्छ । एउटा सिफारिस लिन चैनपुर पुग्नुपर्छ ।'


जोखिमपूर्ण बाटो

साइपालका बासिन्दाले आफ्नै गाउँमा गाडी चढ्ने सपना देखेका छैनन् । उनीहरूलाई मान्छे र भेडा हिँड्ने सजिलो बाटो भए अहिलेलाई पुग्छ । सकेसम्म बाह्रैमास खच्चड चल्ने बाटो भइदिए दिनचर्या सहज हुने उनीहरूको भनाइ छ ।


साइपाल गाउँपालिकाको कार्यालयसम्म पुग्न दुइटा बाटा छन् । एउटा वडा नं. १ को धलौन हुँदै काँकरकोट भएर जाने । अर्काे तल्कोट गाउँपालिकाको जाड्लेक भन्ने ठाउँबाट बुङचेलेक हुँदै जाने । धलौनको भन्दा बुङचेलेक भएर जाने बाटो निकै छोटो छ, तर जोखिम बढी छ । यो बाटोका धेरैजसो ठाउँमा भीरैभीर छ । तल सुसाउँदै बग्ने सेती नदी । कतिपय ठाउँमा बाटोको निसाना पनि छैन ।


भीरमा उमि्रएको बाबियोको झारमा टेकेर त्यही झार समाती भीर छिचोल्दै मान्छे हिँड्नुपर्छ । छिटो सदरमुकाम जानुपर्ने काम पर्दा मानिसहरू यही बाटो ओहोरदोहोर गर्छन् । 'ज्यान दाउमा राखेर हिँड्नुपर्छ । घरबाट हिँडेको मान्छे नर्फकेसम्म चिन्ताले पिरोलिनुपर्छ,' काँडाकी धनसरी बोहराले भनिन्, 'दैलोमा काग कराए पनि नराम्रो खबर आउँछ कि भनेर खाना खानै मन लाग्दैन ।'


धलौन भएर जाने बाटो केही सुरक्षित छ तर रस्यालेक, काँकरकोटलगायतका धेरै ठाउँमा बिग्रेको छ । माघमा हिउँले बगाएको बाटो मर्मत गरिएको छैन । बर्सेनि हजारौं जडीबुटी संकलक र पर्यटक हिँड्ने काँकरकोटदेखि साइपाल बेस क्याम्पसम्मको बाटो झनै जोखिमपूर्ण छ । प्रत्येक वर्ष यो बाटामा हिँड्नेहरूमध्ये कोही न कोहीले ज्यान गुमाएकै हुन्छन् ।


साँघु नहुँदाको सास्ती

स्थानीय सरकार बनेपछि साइपालवासीको अर्काे अपेक्षा थियो, साँघु । सेती नदीको मुहान रहेको यस गाउँपालिकामा यसका शाखा प्रशाखा नदी र खोलाको संख्या एक दर्जनभन्दा बढी छ । धलौनको गनइगाड र काँकरकोट नजिक बग्ने घाटगंगा खोलाभन्दा अन्त कतै पनि झोलुंगे पुल छैन ।


हिउँदयाममा स्थानीयको सक्रियतामा बनाइने साँघु वर्षातमा बाढीले बगाइदिन्छ । त्यसपछि यहाँका बासिन्दाले खोला तर्दा मृत्युसँग जुध्नुपर्छ । गत वर्ष असारमा मात्र खोला तर्ने क्रममा साँघु भाँचिँदा एकै परिवारका तीन जनालाई स्कुले केटाहरू बेपत्ता भए । अरू चार जनाले विभिन्न खोलामा खसेर ज्यान गुमाए । बर्सेनि खोला तर्ने क्रममा ज्यान गुमाउनु यहाँका बासिन्दाको नियमित नियति जस्तै भएको छ ।


यहाँका थरुनीघाट खोला, राम खोला, लोकन्ते खोला, घाटगंगा खोला, औंलागाड खोला र सेती नदीको बिचपानी, भोटेनी खोला, इंगलद्वार र स्याङवनलगायतका ठाँउमा पुल नहुँदा जोखिम मोलेर नदी पार गर्नुपर्छ । 'एउटा काठको सहारामा नदी तर्नुपर्छ । काठ भाँचिने सम्भावना हुन्छ । राम्रोसँग नअडिँदा हल्लिएर पनि मान्छे भँगालोमा खस्ने डर हुन्छ,' स्थानीय धनबहादुर बोहराले भने, 'उर्लंदो भेलमा साँघु तर्दा बीचैमा रिंगटा लागेर पनि कोही कोही खसेर मर्छन् ।'


यहाँका खोलामा तिब्बतको मानसरोवर कैलाश जाने तीर्थयात्री, चीनको ताक्लाकोट जाने व्यापारी तथा बाहिर जिल्लाबाट यार्चा संकलक गर्न आउनेहरूले ज्यान गुमाउँछन् । तीन वर्षअघि जयपृथ्वी नगरपालिकाका चार जनाले स्याङवन भन्ने ठाउँमा साँघु तर्ने क्रममा खसेर ज्यान गुमाएका थिए । साइपाल गाउँपालिकाको तथ्यांकअनुसार २०७१ सालयता विभिन्न खोलाले बगाएर ४३ जनाले ज्यान गुमाइसकेका छन् । वर्षातमा ठूलो बाढी आयो भने महिनौंसम्म यहाँका एक गाउँ र अर्काे गाउँबीच सम्पर्कविच्छेद हुन्छ ।


सधैं नुन, चामलको समस्या

२०७३ कात्तिक ११ गते गते 'सुन जस्तै महँगो नुन' शीर्षकमा कान्तिपुरमा समाचार प्रकाशित भएपछि नेपाल सरकारले २०७४ सालबाट गाउँपालिकाको कार्यालय रहेको काँडासम्म अनुदानमा नुन र चामल पुर्‍याउने व्यवस्था मिलायो ।


त्यसयता नेपाल सरकारको ढुवानी अनुदानमा खाद्य संस्थानले चामल, पिठोलगायतका खाद्यान्न र साल्ट टे्रडिङ कर्पाेरेसनले आयोडिनयुक्त नुन वितरण गर्ने अस्थायी वितरण केन्द्र राखेका छन् । गाउँपालिकाको कार्यालयबाट एक दिनको पैदल दूरीमा रहेका धुली र बलौडी गाउँका बासिन्दाले महँगोमा चामल र नुन खानुपर्ने बाध्यता हटेको छैन । करिब दुई सय परिवारको बसोबास रहेका यी दुई गाउँबाट डिपोसम्म पुग्न एक दिन पैदल हिँड्नुपर्छ ।


आयोडिनयुक्त नुन महँगो हुने भएकाले यहाँका अधिकांशले तिब्बतबाट आयात गरिएको ढिके नुन खाने गरेका छन् । मान्छेले बोकेर ल्याएको नुन चामलको ढुवानी भाडा निकै महँगो हुने भएका कारण धुली र बलौडीका बासिन्दाले सरकारले ९ रुपैयाँमा दिएको नुनलाई समेत ८० रुपैयाँ तिरेर खानुपरेको स्थानीय ढाक्पा लामाले बताए ।


उनले भने, 'सरकारले साइपालमा नुन, चामल पुर्‍याएको भनेर भने पनि हामीलाई यसको महसुस भएको छैन । अहिले पनि ३५ रुपैयाँ पर्ने चामललाई डेढ-दुई सय तिरेर खाइरहेका छौं । आयोडिनयुक्त नुन किन्न नसकेर चाइनिज ढिके नुन खानुपरेको छ ।' सीमा सुरक्षार्थ धुलीमा खटिएका प्रहरीहरूले पनि स्थानीयसँग पैंचो मागेर गुजारा चलाउनुपर्ने अवस्था छ ।


संस्थानले काँडासम्म अनुदानमा ढुवानी गर्ने खाद्यान्न पनि भनेको चाहिए जति नपाइने गरेको र धेरैजसो चामल र पिठो सडेको पाइने स्थानीय बताउँछन् ।


फोन गर्न सामल बोकेर डाँडामा

साइपालका बासिन्दाले सुनाउने समस्याको चाङमा थपिने अर्काे शब्द हो, टेलिफोन । यहाँ गाउँपालिका नजिकै रहेको एक लाइन भिस्याट टेलिफोन बिग्रेको तीन महिना भयो । भिस्याट सञ्चालनमा हुँदा पनि यहाँका धुली, बलौडी, न्युना र धलौन गाउँका बासिन्दाले एक दिन पूरै हिँडेर काँडाको बाझचौकामा रहेको भिस्याट टेलिफोनसम्म पुग्नुपर्थ्याे ।


त्यही पनि बिग्रिएपछि घन्टौं उकालो चढेर अग्ला डाँडामा पुग्नुपर्छ । दिनभर हिँडेपछि मात्र टावर टिप्ने ठाउँमा पुगिने भएकाले यहाँका मानिस फोन गर्नका लागि सामल बोकेर हिँड्ने गरेको न्युनाका उमेश जेठाराले बताए । 'एक्लै दुक्लै जान सकिने अवस्था हुँदैन,' उनले भने, 'फोन गर्नुपर्‍यो भने सल्लाह गरेर तीन-चार जना सँगै जान्छौं । दिनभरि हिँड्नुपर्ने भएकाले साथमा सामल पनि बोक्नुपर्छ ।'


ऋण खोजेर शिक्षकलाई तलब

गाउँपालिका बनेपछि अरू नभए पनि शिक्षकको तलबका लागि ऋण काढ्नुपर्ने अवस्थाबाट मुक्त भइने यहाँका बासिन्दाको आशा थियो । त्यो पनि पूरा भएन । यस गाउँपालिकामा रहेका ७ वटा विद्यालयका २८ जना शिक्षकलाई अभिभावकले ऋण खोजेरै तलब खुवाउने गरेका छन् ।


शिक्षकको तलबकै लागि भनेर प्रतिवर्ष ४० लाखभन्दा बढी स्थानीय बासिन्दाबाट मासिक रूपमा रकम उठाउने गरिएको छ । अधिकांश न्यून आयस्रोत भएका स्थानीयले प्रत्येक महिना विद्यालयलाई रकम दिनका लागि चर्काे ब्याजमा ऋण काढ्नुपर्छ । 'शुल्क नदिए स्कुलमा केटाकेटीको भर्ना गर्दैनन्,' जिमाका जोधन बोहराले भने ।


उनको गाउँमा स्कुल खोलेको ७ वर्ष भयो । यस अवधिमा उनले मात्र ७० हजारभन्दा बढी रकम शिक्षकको तलबका लागि भनेर दिइसकेका छन् । 'स्कुललाई तिर्दा लागेको ३० हजार ऋण अझै तिर्न बाँकी छ,' उनले भने ।


निजी शिक्षकलाई पाल्नुपर्दा न्यून आय भएका बासिन्दालाई बर्सेनि आर्थिक भार थपिँदै गएको धुली निमाविका शिक्षक धनबहादुर विष्टले बताए । 'कुन गाउँमा कति शिक्षक निजी स्रोतबाट राखिएका छन् र उनीहरूको वाषिर्क तलब कति हुन्छ, हिसाब गरेर प्रत्येक परिवारले बराबर भाग लगाएर तिर्नुपर्छ,' उनले भने, 'प्रायः ले बर्सेनि १० देखि २५ हजार रुपैयाँ स्कुललाई तिर्नुपर्छ ।'


कल्पना गरेभन्दा कष्टपूर्ण जीवन : प्रजिअ

प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले साइपाल गाउँपालिकामा स्रोत र सम्भावना भएर पनि जनताको जीवन निकै कष्टकर आफूले पाएको बताए । उनी यस गाउँपालिकाको भ्रमण गर्ने पहिलो सीडीओ हुन् । 'आम मान्छेले कल्पना गर्नेभन्दा कष्टपूर्ण जीवन यहाँका बासिन्दाले बाँचिरहेका रहेछन्,' उनले भने, 'न बाटोघाटो राम्रो छ, न खोलामा पुल छ । शिक्षा, स्वास्थ्यको अवस्था उस्तै छ । सञ्चार छैन । खाद्यान्नको समस्या छ ।' उनले साइपालमा राज्यको योजनाबद्ध लगानी आवश्यक रहेको बताए । 'समस्या हुँदाहुँदै पनि यस गाउँपालिकामा सम्भावना छ,' उनले भने, 'जडीबुटी, जलस्रोत पर्याप्त छ । पशुपालनका लागि पर्याप्त आधार छ । पर्यटनको प्रचुर सम्भावना छ ।'


खर्चअनुसार काम देखिएन

जनप्रतिनिधिहरू चुनिएको दुई वर्षमा साइपाल गाउँपालिकाले २१ करोडभन्दा बढी रकम यहाँको विकासका लागि खर्च गरेको छ । यति ठूलो परिमाणको रकम खर्च हुँदा पनि यहाँका जनताका सामान्य समस्या पनि समाधान नहुनुमा राजनीतिक भेदभाव मुख्य कारण रहेको स्थानीय बताउँछन् ।


काँडा गाविसलाई छुट्टै गाउँपालिका बनाउने कामको अगुवाइ गरेका तत्कालीन काँडा गाउँपालिका संघर्ष समितिका संयोजक मानबहादुर बोहराले जनप्रतिनिधिहरूले राजनीतिक आस्थाका आधारमा पक्षपातपूर्ण काम गरेको बताए । 'जनताका समस्या समाधान गर्नेभन्दा पनि आफ्ना कार्यकर्तालाई कसरी धनी बनाउन सकिन्छ भनेर सोचेपछि यस्तै हुन्छ,' उनले भने, 'जनताका समस्या एकातिर छन् । पार्टी हेरेर योजना बाँडफाँड हुन्छन् । कामै नभएका, अधुरा योजना सम्पन्न भएको भनेर भुक्तानी दिइएको छ ।' उनले सीमित जनप्रतिनिधि र कर्मचारीको मनपरी चलेका कारण साइपालवासीले स्थानीय सरकारको अनुभव गर्न नपाएको बताए ।


केही भएन नभनौं : जनप्रतिनिधि

गाउँपालिकाका अध्यक्ष राजेन्द्र धामीले दुई वर्षको अवधिमा धेरै काम भएको र जनताले पहिलेको भन्दा धेरै सुविधा पाइरहेको दाबी गरे । आफ्नो कार्यकालमा दुई वटा वडामा बिजुली बलेको, खानेपानीलगायतका संरचनाहरू निर्माण भएको उनले बताए ।


'दुर्गम भएका कारण जनताले सोचेजस्तो विकास गर्न सकिएको छैन,' उनले भने, 'हामी सबै समस्या समाधानका लागि लागिरहेका छौं ।' उनले अरू ठाउँलाई साइपालसँग तुलना गर्न नमिल्ने बताए । 'भौगोलिक विकटता छ । एक बोरा सिमेन्ट पनि तीनदेखि पाँच हजारमा त्यहाँ पुग्छ,' उनले भने ।


'खर्च गर्न सक्ने जिउँछन्'

साइपाल गाउँपालिकाको धलौनका फुँगे धामी अहिले ६७ वर्षका भए । ६० वर्ष नकटदै दमको रोगले समातेको सुनाउने उनी धेरै टाढा हिँड्डुल गर्न सक्दैनन् । उनलाई हातखुट्टा पोल्ने, कम्मर दुख्ने रोग लागेको ५ वर्ष भयो । 'कटकटी कम्मर दुख्छ । हातगोडा आगो लागेजसरी जलन हुन्छ । राम्ररी सुत्नै सक्दिनँ,' आँखा पनि राम्रोसँग देख्न नसक्ने उनले भने, 'स्वास्थ्य चौकी गए औषधि छैन, चैनपुर जाऊ भन्छन् । त्यत्रो खर्च गरेर चैनपुर पुग्न सकिँदैन ।'


उनका अनुसार एक जना बिरामीलाई सदरमुकाम चैनपुरसम्म बोकेर लैजान १५/१६ जना अरू मानिस चाहिने बताए । बोक्ने मान्छेलाई बाटोमा आउँदा जाँदा खान, बस्न खर्च मात्र एक लाख हाराहारी लाग्छ । स्वास्थ्य लाभका लागि २ पटक स्थानीय लाँगा देवताको मन्दिरमा बोका चढाएको बताउने उनले धेरै पटक धामी, झाँक्री लगाएको सुनाए । करिब ३ हजार हाराहारी जनसंख्या रहेको यस गाउँपालिकाको स्वास्थ्य चौकीमा सबै बिमारको औषधि पाइँदैन । चाहिएका बेला स्वास्थ्यकर्मी भेटिँदैनन् । 'लाँगाकै कृपामा बाँचेका छौं ।


बिरामी भएका जति सबैको उपचार गर्ने हो भने धेरैको घर खेत बाँकी रहँदैनथ्यो होला,' स्थानीय कलसडी बोहराले भनिन् । यहाँका सबै वडामा खोप सेवा पुग्न सकेको छैन । सबै घरमै सुत्केरी हुन्छन् । प्रशवकै क्रममा बर्सेनि दुई-चार महिलाले ज्यान गुमाएकै हुन्छन् ।


गत वर्ष मात्र साल अडकिएपछि उपचारका लागि सदरमुकाम ल्याउँदै गर्दा धुलीकी महिला स्वास्थ्य स्वयंसेविका बाटु बोहराले ज्यान गुमाएकी थिइन् । 'पैसा खर्च गर्न सक्नेहरू मात्र पूरा उमेर बाँच्छन्,' करिब २ वर्षसम्म साइपाल गाउँपालिकाको स्वास्थ्य चौकीमा कार्यरत अहेव जनककुमार विष्टले भने, 'धेरैजसोले उपचार गरे निको हुन सक्ने सामान्य रोग बिथोलिएर ज्यान गुमाउँछन् ।' यसरी ज्यान गुमाउनेहरूमा बढीजसो केटाकेटी र बूढाबूढी हुने गरेको उनले बताए ।


यस गाउँपालिकामा एक वर्ष अघिसम्म एउटा मात्र स्वास्थ्य चौकी थियो । धुली बलौडी, न्युना र धलौनबाट स्वास्थ्य चौकीसम्म पुग्नै एक दिन पैदल हिँड्नुपथ्र्याे । हालसालै धुली र धलौनमा सामुदायिक स्वास्थ्य इकाई सञ्चालनमा छन् । तर स्वास्थ्य संस्थामा कहिलेकाहीँ सिटामोल पनि हुँदैन । स्थानीय रमेश विक भन्छन्, 'औषधि नै छैन भन्छन् । त्यहाँको औषधिले सबैलाई सन्चो पनि हुँदैन । बरु धामीकै भर लाग्छ ।'


स्वास्थ्य संस्थालाई प्राप्त हुने ३५ प्रकारका औषधि मात्र यहाँ पाइने भएकाले सबै खाले रोगको उपचार नहुने स्वास्थ्य चौकी प्रमुख डम्बर खडकाले बताए । उनले भने, 'कहिलेकाहीँ त्यही औषधि पनि सकिएको हुन्छ ।' उनले कतिपय अवस्थामा अन्य कारणले ज्वरो आएको भए पनि औषधिको अभावमा सिटामोलले नै काम चलाउनुपरेको अनुभव सुनाए । 'टाइफाइड भएर ज्वरो आएको हुन्छ । त्यसको औषधि हुँदैन । हामी सिटामोल दिएर पठाउँछौं,' उनले भने, 'रोगी सन्चो हुँदैनन् । धामी, झाँक्री लगाउन थाल्छन् ।'

प्रकाशित : जेष्ठ ४, २०७६ ०७:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?