कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सरकारी खर्चमा सपरिवार घुमघाम

कमल पन्थी

बर्दिया — गुलरिया नगरपालिकाको न्यायिक समिति र ६ नम्बर वडाका जनप्रतिनिधि सरकारी खर्चमा परिवारसहित भारतको तीर्थयात्रा गरेर फर्केका छन् ।

वैशाख ३१ गते कञ्चनपुरको महाकाली नगरपालिकाको अवलोकन भ्रमणमा निस्किएका उनीहरू भारतका विभिन्न धार्मिक क्षेक्र घुमेर गत शुत्रबार फर्किएका छन् ।


गुलरियाकी उपप्रमुख सुशीला गिरी, प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र पौडेल, वडाध्यक्ष, न्यायिक समितिका पदाधिकारी र कर्मचारीले वृन्दावन, मथुरा, आगरा र नयाँ दिल्लीलगायतको भ्रमण गरेका हुन् । भ्रमण टोलीका अधिकांशले परिवारका सदस्य लिएर गएका थिए ।


नगरपालिकाको लेखा फाँटका अनुसार गत वैशाख ३० मा २ लाख ७५ हजार रुपैयाँ पेश्की बुझेर टोली भ्रमणमा निस्किएको थियो । टोलीले भ्रमण प्रयोजनका लागि न्यायिक समितिबाट १ लाख ५० हजार र वडा ६ बाट १ लाख २५ हजार गरी २ लाख ७५ हजार पेस्की बुझेको देखिन्छ ।


भारतीय नम्बर प्लेटका दुईवटा गाडीमा उनीहरू तीर्थयात्रामा गएका थिए । पेस्की निकासाका क्रममा न्यायिक समिति र वडाको अनुगमन भ्रमण उल्लेख गरिएको छ । नगर कार्यपालिकाको गत आइतबारको बैठकमा गुलरिया–२ का वडाध्यक्ष टंक अधिकारीले सरकारी रकम बुझेर पारिवारिक भ्रमणमा जानुको कारण सोधेको बताए । पारिवारै भ्रमणमा लैजानुले सरकारी रकमको दुरुपयोग भएको उनले बताए ।


उपप्रमुख तथा न्यायिक समिति संयोजक गिरीले महाकाली नगरपालिकामा हुने न्यायिक समितिका मुद्दा, न्यायिक अधिकारी, समस्या र समाधान कसरी गरिन्छ भन्ने विषयमा छलफल भएको बताइन् ।


सभाबाट निर्णय भएअनुसार न्यायिक समितिका पदाधिकारी, उद्योग वाणिज्य संघका प्रतिनिधिले महकालीको अनुगमन र छलफल गरेको उनको भनाइ छ । ‘त्यसपछि वडाको बजेटबाट भारतका ऐतिहासिक स्थलको अवलोकन भ्रमण गरेका हौं,’ उनले भनिन्, ‘अवलोकनबाट धेरै कुरा जानकारी लिएर फर्केका छौं ।’


मथुराको कृष्ण मन्दिर, दिल्ली र आगराको ताजमहल भ्रमण गरेको टोलीका एक सदस्यले बताए । ‘भारत भ्रमण सार्वजनिक नगर्ने सहमतिअनुसार फेसबुकमा समेत फोटो अपलोड नगरिएको हो,’ उनले भने । नगरपालिका टोलीले विगतमा अनुगमन गर्दा तत्कालै फेसबुकमा फोटो खिचेर अपलोड गर्ने गरिन्थ्यो ।


उपप्रमुख गिरीले अनुगमन, छलफल गर्ने नगरपालिकाको अधिकार क्षेत्रभित्र भएकाले सोहीअनुसार भ्रमण गरेको दाबी गरिन् । गुलरियाको वार्षिक बजेटमध्ये २५ लाख रुपैयाँ अनुगमन भ्रमणका लागि छुट्याइएको छ ।

प्रकाशित : जेष्ठ ७, २०७६ १०:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?