कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कान्तिपुर हिसान शैक्षिक मेला जेठ ९ देखि

काठमाडौँ — ‘उत्कृष्ट शिक्षा नेपालमै’ नाराका साथ कान्तिपुर हिसान शैक्षिक मेला जेठ ९ देखि हुने भएको छ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) र कान्तिपुर पब्लिकेसन्सको संयुक्त आयोजना हुने मेलाको यो छैटौं संस्करण हो ।

कान्तिपुर हिसान शैक्षिक मेला जेठ ९ देखि

‘कान्तिपुर हिसान एडुफेयर २०१९’ नामकरण गरिएको मेला चार दिन काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा हुनेछ । माध्यमिक विद्यालयदेखि विश्वविद्यालयस्तरको शिक्षा हासिल गर्ने विद्यार्थीलाई लक्षित गरी मेला आयोजना गरिएको हो ।

‘नेपालमै सञ्चालित शिक्षालयले दिने गुणस्तरीय तथा उत्कृष्ट शिक्षाका बारेमा सत्य, तथ्य र यथार्थ जानकारी गराउँछौं,’ मेलाका संयोजक युवराज शर्माले सोमबार आयोजित पत्रकार सम्मेलनमा भने, ‘विद्यार्थी तथा अभिभावकलाई नेपालमै पनि उत्कृष्ट शिक्षा पाइन्छ भन्ने विषयमा परामर्श दिन मेला आयोजना गरिएको हो ।’

कान्तिपुर पब्लिकेसन्सका एजीएम महेश स्वाँरले नेपालमै उत्कृष्ट शिक्षा भन्ने नारालाई व्यवहारमा साबित गर्न हिसानसित सहकार्य जारी रहेको बताए । ‘नेपालमै उत्कृष्ट शिक्षाको अवसर सिर्जना गर्ने शिक्षालयको प्रयासलाई आमसञ्चारको साथ महत्त्वपूर्ण छ,’ उनले भने, ‘हामी आम अभिभावक, विद्यार्थी र सरोकार पक्षले सत्य, तथ्य सूचना पाउन सकून् भन्ने पक्षमा प्रतिबद्ध छौं ।’

हिसानका अध्यक्ष रमेशकुमार सिलवालले शिक्षा र स्वास्थ्य संवैधानिक मौलिक अधिकार भएको उल्लेख गर्दै यसको गुणस्तरप्रति निजी क्षेत्र सधैं सचेत रहेको बताए ।

‘शैक्षिक मेला आयोजना नभएसम्म शैक्षिक संस्थाहरूबीच अस्वस्थ प्रतिस्पर्धा थियो,’ उनले भने, ‘हामीले गरेका गुणस्तरीय र अनुकरणीय शैक्षिक क्रियाकलाप पारदर्शी ढंगले अघि बढेका छन् । हरेक वर्ष १ लाख १२ हजार विद्यार्थीलाई स्वदेशमै गुणस्तरीय शिक्षा दिन सफल छौं । ठूलो धनराशि बिदेसिनबाट रोकेका छौं ।’ अब विदेशबाट नेपालमा पढन आउने वातावरण निर्माण गर्नेसमेत सिलवालले दाबी गरे ।

मेलामा त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, सुदूरपश्चिमाञ्चल विश्वविद्यालय, प्राविधिक तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) को सम्बन्धनमा सञ्चालित १ सय ५० भन्दा बढी शैक्षिक संस्थाको सहभागिता रहनेछ ।

विभिन्न संस्थाको प्रस्तुतिका साथै विज्ञहरूको सहभागिता शिक्षा तथा प्रविधिलगायत विविध शैक्षिक जानकारीमूलक र विषयगत सेमिनारसमेत हुनेछ । प्रवेश निःशुल्क हुनेछ । विभिन्न कलेजहरूले निःशुल्क छात्रवृत्तिसमेत दिने जनाइएको छ ।

प्रकाशित : जेष्ठ ७, २०७६ १०:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?