कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

२५ वर्षअघिको त्यो दुलाल परिवार हत्या काण्ड

आनन्द गौतम

ताप्लेजुङ — मिक्लाजुङमा सोमबार राति दुई परिवारको हत्या भएको घटनाले पाँचथरकै लुङ्‌रुपामा २५ वर्षअघि भएको घटना सम्झाएको छ । साविकको लुङ्‌रुपा गाविस-९, टिम्बुरेमा रहेका दुलाल परिवारको हत्या भएको थियो । १० वर्षअघि ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारमा श्रीमान् र श्रीमतीको हत्या गरिएको थियो । हत्याका मुख्य अभियुक्त दशकपछि यसै वर्ष पक्राउ परेका छन् ।

२५ वर्षअघिको त्यो दुलाल परिवार हत्या काण्ड

दुलाल परिवार हत्या

२०५० वैशाख १७ गते बेलुका कुवेरप्रसाद दुलालको घरमा खानपिनको तयारी हुँदै थियो । तत्कालीन नेकपा एमालेका सचिव रहेका कुवेरलाई पार्टीको बैठक छ भनी गाउँघरकै मान्छे बोलाउन आए ।


रातको समयमा खोलापारि नांगिनमा पुर्‍याएर पानी बगाउने कुलोमा उनको हत्या गरिएको थियो । कुवेरलाई मारेर फर्किएपछि त्यही समूहले श्रीमती सरस्वती, छोरी कृष्ण दुलालसँगै छोराहरू उमेश र उद्धवको हत्या गरेको दुलाल परिवारका सदस्य होमले बताए ।


घरमा नभएकाले बाँचेका दुई छोरी ज्ञानु र मनुमध्ये एकको गत वर्ष अमेरिकामा मृत्यु भएको छ । पारिवारिक हत्याका अभियुक्त पत्ता लगाउन प्रहरीले कुकुरको सहयोग लिनुपरेको थियो ।


कुकुरले कुवेरका दाजु पर्ने ओमनाथलाई संकेत गरेपछि पुरानो रिसइबीका कारण हत्या गरेको स्विकारेका थिए । ओमनाथले आर्थिक प्रलोभनमा पारेर हत्या गराउन लगाएको हत्यामा संलग्न समूहले बयान दिएको थियो । यो घटनामा सामूहिक बलात्कारसमेत भएको थियो ।


अदालतले उनीहरूलाई जनही २० वर्ष कैद सजाय सुनाएको थियो । उनीहरू ३ वर्षअघि कैद भुक्तान गरी जेलबाट छुटेका छन् ।


प्रहरीलाई चुनौती


ताप्लेजुङ, पाँचथर, तेह्रथुममा हतियार प्रहारका घटना बारम्बार दोहोरिरहेका छन् । यस्ता आकस्मिक घटना प्रहरीका लागि चुनौती बनेका छन् । ताप्लेजुङमा हतियार प्रहारकै कारण सप्तरी घर भएका सिनियर अहेब छेदीलाल साह, कालिकोट घर भएका वनरक्षक ज्ञानेन्द्रबहादुर शाहीले ज्यान गुमाउनुपर्‍यो । सुनियोजित नभएर यी आकस्मिक घटना भएको प्रहरीले ठहर गरेको थियो ।


छेदीलालको जाँडको निगार खाएर मातेकाहरूले हत्या गरेका थिए भने वनरक्षकको सिमाना छुट्याउने क्रममा आवेशमा आएका युवाले हत्या गरेका थिए । छोराले बाबु, दाजुले भाइ, भाइले दाजुजस्ता पारिवारिक हत्याका घटना निकै छन् ।


प्रहरी नायब उपरीक्षक सञ्जयसिंह थापा मादक पदार्थको अलावा मानवीय संवेदनहीनता र निराशावादी सोचका कारण समाजमा हिंसाका शृंखला बढिरहेको बताउँछन् ।


प्रकाशित : जेष्ठ ८, २०७६ १०:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?