कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मन्दिरमा लुट्न आएका ८ जना भारतीय लुटेरा हतियारसहित पक्राउ

सन्तोष सिंह

जनकपुर — भारतबाट हतियार सहित मन्दिरमा लुट्न आएका ८ जना भारतीय हतियारधारी समूहलाई प्रहरीले पक्राउ गरेको छ । पूर्व सूचनाको आधारमा धनुषा प्रहरीले कुख्यात भारतीय लुटेराहरूलाई पक्राउ गर्न सफल भएको दाबी गरेको छ ।

मन्दिरमा लुट्न आएका ८ जना भारतीय लुटेरा हतियारसहित पक्राउ

बुधवार साँझ सवा ९ बजे जनकपुर उप महानगरपालिका–८ बिहार कुण्डस्थित जानकी बिहारका महन्थ नारायण शरणको निवासमा लुटपाट गर्न आएका ८ भारतीय लुटेरालाई प्रहरीले पक्राउ गरेको हो । मन्दिरको गहना र रुपैयाँ लुट्न आएक लुटेरालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले बताए ।


जनकपुरको महावीर चोकस्थित लभलि होटेलमा बसेर मन्दिर लुटपाट गर्ने योजना बनाएका समूहबाट प्रहरीले पेस्तोल १ थान, नलकुटवा एक थान, धारिलो खुकुरी १ थान बरामद भएको छ । प्रहरीका अनुसार लुटेरा समूहबाट मेड इन युएसए १११०–७.६५ एमएम लेखिएको पेस्तोलबाट लोड भएको २ थान गोली र २ राउन्ड एसएलआरको गोली सहित एउटा कटुवा पेस्तोल फेला पारेको छ ।


लुटपाटको सूचना पाएर मन्दिर निगरानी गर्न पुगेका प्रहरी टोलीले ७ जना लुटेरालाई एकै साथ समूहमै पक्राउ गरेको हो, प्रहरी उपरीक्षक खनालले भने,‘पक्राउ परेका एक एक जना गोली फायर गरी भाग्न खोज्दा प्रहरीलाई समेत फायरिङ गरे । जवाफी फायरिङमा एक जना घाइते भएका छन् ।’ प्रहरीको गोली लागेर घाइते भएका भारत बिहार समस्तीपुरका २० वर्षीय रबि मल्लिक डोमको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।


बुधवार दिउँसो भारतीय नम्बरप्लेटको दुईवटा मोटर साइकल र एक स्कुटर चढेर आएका ८ जनाले दिउँसैदेखि होटेलमा बसेर लुटपाटको योजना बनाएका थिए । पक्राउ पर्नेहरूमा भारत बिहार समस्तीपुरका २० वर्षीय साहिल रजक, २४ वर्षीय अजित कुमार सिंह, २७ वर्षीय सुजित कुमार राय, ३० वर्षीय अमित कुमार सिंह, २० वर्षीय अमित कुमार यादव, ३२ वर्षीय रञ्जित कुमार भगत र ३८ वर्षीय पप्पु भन्ने सञ्जय कुमार सुमनलाई प्रहरीले पक्राउ गरेको छ ।


सुमनलाई महोत्तरी प्रहरीको सहयोगमा नेपाल भारत सिमाना मटिहानिबाट पक्राउ गरिएको प्रहरी उपरीक्षक खनालले बताए । हतियार सहित ७ जनाको समूह लुटपाट गर्न जाँदा सुमन होटेलमै बसेका थिए । लुटपाट गर्न गएका ७ जना पक्राउ परेको जानकारी पाएर स्कुटी लिएर भाग्दै गर्दा मटिहानिबाट उनलाई महोत्तरी प्रहरीले पक्राउ गरेका थियो ।


भारतमै लुटपाट गर्ने हतियारधारी लुटेराहरूले यसअघि पनि जनकपुरको लभली होटेलमा खानपिन गरेका थिए । उनीहरू केही दिन पहिला आएर लुटपाट गर्ने स्थानमा समेत पुगेका थिए ।


प्रारम्भिक अनुसन्धानमा भारतीय लुटेरा रुपैयाँ र गहना लुट्न आएको मात्र खुलेको प्रहरीले जनाएको छ । जनकपुरसम्म हतियार कसरी ल्याएको र स्थानीय स्तरमा संलग्न व्यक्तिको बारेमा अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक खनालले बताए ।


खुल्ला सिमानाका कारण कुन नाकाबाट हतियार सहित लुटेराहरू जनकपुर आएको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


बिहीबार पत्रकार सम्मेलन गरी जिल्ला प्रहरी कार्यालयमा सार्वजनिक गरिएका भारतीय लुटेराहरूलाई डाँका उद्योग र हातहतियार खरखजना मुद्दा दर्ता गरी अनुसन्धान अगाडी बढाइएको प्रहरी उपरीक्षक खनालले बताए । हतियारधारी पक्राउ गर्न जिल्ला प्रहहरी कार्यालय,सङ्घीय प्रहरी कार्यालय र प्रदेश प्रहरी कार्यालयबाट टोली खटेको थियो ।


बुधवार साँझ हावाहुरी र वर्षा भइरहेको बेला हतियारधारी समूह महन्तको निवासमा लुटपाट गर्न प्रवेश गरेपछि सादा पोसाकमा हतियार सहित परिचालन भएका प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो ।

प्रकाशित : जेष्ठ ९, २०७६ १५:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?