‘फर्किन पाइएला भन्ने लागेकै थिएन’

होम कार्की

काठमाडौँ — ‘बाँचेर आइएला भन्ने मनले चिताएको थिएन,’ धरान १७ का ३८ वर्षीय राजु विष्टले भने, ‘हाम्रो भाग्य बलियो रहेछ ।’ टर्किस एयरलाइन्सको विमान बुधबार बिहान ८ बजे त्रिभुवन विमानस्थलमा अवतरण हुँदासम्म उनलाई नेपाल आइपुगिन्छ भन्ने लागेको रहेनछ । ‘फेरि कुन देशमा ल्यायो, अब कता लैजाने हो जस्तो लागेको थियो,’ उनले भने ।

उनीसँगै १५ युवा काठमाडौं उत्रिएका थिए । द्वन्द्वग्रस्त लिबियामा फसेका उनीहरूलाई अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम) ले उद्धार गरी टर्की हुँदै काठमाडौं पठाएको हो ।

राजुको मानसपटलमा अझै सामुन्ने झरेको बमको तस्बिर घुमिरहेको छ । ‘लिबियाको सात महिने बसाइले मेरो दिमाग हल्लाइदियो,’ प्रवासी नेपाल समन्वय समितिको सेल्टरमा भेटिएका विष्टले कान्तिपुरसँग भने, ‘ती दिन सम्झँदा अत्यास लाग्छ, छाती फुलेर आउँछ ।’

राजुसहित गुजरा नगरपालिका ८, रौतहटका २५ वर्षीय अजयकुमार चौधरी, धरान ११ का ३३ वर्षीय प्रकाश विश्वकर्मा, कटारी १, उदयपुरका ३४ वर्षीय मनोहर कार्की, चन्द्रपुर १३, रौतहटका २३ वर्षीय जयराम धमी, लिसंखुपाखर १, सिन्धुपाल्चोकका २८ वर्षीय कृष्ण कोइराला र धरान १३ का २१ वर्षीय सनम विश्वकर्मा त्रिपोलीस्थित इन्जिरामा अंगुर खेती गर्ने फर्ममा पुगेका थिए ।

इन्जिरा त्रिपोलीको मुख्य सहरबाट गाडीमा एक घण्टा दूरीमा रहेको गाउँ हो । गाउँमा पातला घर थिए । ती पनि प्रायः रित्ता । इन्जिरा कृषि क्षेत्र हो । ‘हामीलाई अंगुर फार्ममा खटाइएको थियो । झन्डै ६ किमि फराकिलो फार्ममा अग्लो पर्खाल लगाइएको थियो,’ कृष्ण कोइरालाले भने, ‘खेतीका मालिक लिबियन थिए । काम गर्ने हामी ६ जना नेपाली र केही सुडानी थिए ।’

दलालले उनीहरूलाई दूध डेरीमा काम गर्ने भनेर पठाएका थिए । त्यो पनि श्रम स्वीकृतिबिनै । ‘दुबईको भिसा बोकेर काठमाडौंबाटै उडेको हो । त्यहाँ अरू समूह पनि लिबियाको प्रतीक्षामा बसेका रहेछन् । एक महिना बसेपछि मात्रै लिबिया पठाए,’ मनोहरले भने, ‘त्यहाँ जानु गैरकानुनी हो भन्ने दुबई पुगेपछि थाहा पायौं । त्यहींबाट फर्किन खोज्दा पैसा फस्ने डर देखाइयो । उता पुगेपछि झन् भुमरीमा फस्यौं ।’

उनीहरूसँगै गएको अर्को समूहमा भानु ५, तनहुँका २८ वर्षीय पूर्णबहादुर गुरुङ, धरान १३ का २६ वर्षीय राजु विश्वकर्मा, रुपापोखरी लमजुङका २३ वर्षीय अमृत गुरुङ, बाह्रदशी ७ झापाका २६ वर्षीय शेखर खरेल, बेंसीसहर २, लमजुङका ४० वर्षीय गुप्तबहादुर विक, घोराही १० का ३२ वर्षीय भुवन आचार्य, तनहुँका ५२ वर्षीय बुद्धिबहादुर अधिकारी र सैनामैना १०, रूपन्देहीका ३० वर्षीय गणेश थापामगर थिए । उनीहरूलाई त्रिपोलीकै सिदिसैया सहरमा गैंती–बेल्चाको काम लगाइएको थियो । एकआपसमा भेटघाट हुन सकेको थिएन ।

पहिलो समूह फार्म पुग्दा अंगुर टिपिसकिएको थियो । जानेबित्तिकै गोडमेल गर्ने जिम्मेवारी दिइयो । ‘मनले काम गर्न मानेको थिएन, साहुले काम नगर्ने भए ३ हजार डलर दिनुपर्ने सर्त राख्यो,’ शेखरले भने, ‘त्यत्रो पैसा कसरी तिर्नु ?’

सुत्ने कोठा केही थिएन । उडुसै उडुसले भरिएको थोत्रा म्याट थिए । कोठामा पंखा थिएन । पकाउनेभाँडा र मरमसला थिएन । सुडानीसँग भएका भाँडा प्रयोग गर्नपाएँ । ‘खेतीभित्र छिरेपछि हामीलाई सिमकार्ड दिइएन, कोहीलाई केही सुनाउनै पाएनौं,’ विष्टले भने, ‘पूरै बन्धकजस्तो भयौं ।’
सरकारविहीन देशउनीहरूले लिबियन सरकारको उपस्थिति कतै देखेनन् । ‘जसले जे गरे पनि हुने, अनेक थरी बन्दुकधारी समूह, सबैले आआफ्नै क्षेत्र कब्जा गरी बसेका,’ विष्टले भने, ‘जताततै लुटपाट र हत्याहिंसा ।’

जतिखेर पनि बम पडकिरहन्थ्यो । गोलाको वर्षा भइरहन्थ्यो । ‘नमाज पढ्ने बेला मात्रै हो गोलीबारुदको आवाज नआउने,’ चौधरीले भने, ‘सुत्ने बेला कानमा एयरफोन कोच्थ्यौं ।’
उनीहरू काम गरिरहेको छेउमै बम खस्थ्यो । ‘भाग्य बलियो रहेछ र बाँच्यौं,’ उनले भने, ‘कुन ठाउँमा कतिखेर कसले हानेको बम खस्छ, थाहै नहुने । कति टाढाबाट कसलाई हानेको केही ठम्याउनै नसकिने ।’

सहरका बैंकहरू बन्द थिए । ‘चार महिनापछि मालिकले तलब दियो, एक हजार डलर आउनुपर्ने, दुई सय डलर मात्रै पायौं,’ उनले भने, ‘एकजना लिबियनको साथ लागेर पैसा पठाउन बैंकमा पुग्यौं तर कालोबजार रहेछ । एक लाख रुपैयाँ पठाउँदा २५/३० हजार कमिसनमै जान्थ्यो ।’

भागेर आईओएमको सेल्टर
उनीहरूलाई पठाउने सबै दलाल सम्पर्कविहीन थिए । मालिक फर्काउन तयार थिएनन् । गणेश थापामगरले इजिप्टस्थित नेपाली दूतावाससँग सम्पर्क बढाए ।

दूतावासका कन्सुलर सुजन बिडारीले लिबियामा रहेका नेपाली शान्ति सेना र आईओएमसँग समन्वय गरिरहे । ‘बाटोमा निस्कनै खतरा थियो, सेना हामी भएको ठाउँमा आउन नसक्ने, हामी सेनाले भनेका ठाउँमा जान नसक्ने स्थिति थियो,’ थापाले भने, ‘त्यसैगरी एक महिना बित्यो ।’

जोखिम लिएर आएमा सेल्टरमा राखेर नेपाल पठाउन आईओएम तयार भयो । दुई समूह एकै ठाउँमा भेट्ने अवस्था पनि थिएन । ‘मालिकलाई थाहा नदिई हामीले ट्याक्सी खोज्यौं, बाटोमा जे पनि हुने अवस्था थियो । हामीसँग लिबियाको भिसाको म्याद सकिइसकेको थियो । प्रहरीले समाते जेल हाल्थ्यो । निकै जोखिम मोलेर आईओएमको ठेगानामा गयौं,’ कोइरालाले भने, ‘धन्न बाटामा कुनै सशस्त्र समूहसँग भेट भएन ।’

उनीहरू जेठ २ गते बिहीबार आईओएमको सेल्टरमा पुग्न सफल भए । सेल्टरमा बस्ने र खाने सुविधा थियो । आईओएमले नै नेपालसम्मको टिकटको व्यवस्था गरिदियो । ‘मालिकले रोक्ने प्रयास गरेको थियो, आईओएमले मानेन, टर्कीसम्म पुर्‍याउन उनीहरूकै मान्छे आए,’ गुरुङले भने, ‘काठमाडौं आइपुगेपछि मात्रै मन चंगा भयो ।’

दलाल कसरी पक्रने ?
यो टोलीलाई लिबियासम्म पुर्‍याउने मुख्य एजेन्ट टंकीसिनवारी ३, मोरङका केशव लम्साल र देवेन्द्र उप्रेती हुन् । उनीहरूलाई चितवनका मंग्रा महतो, खोटाङका राहुल भनिने तीर्थबहादुर विश्वकर्मा, रूपन्देहीका अमरबहादुर बगाले, रुकुमका दीपककिशोर श्रेष्ठ र झापाका शेखरनाथ प्रसाईंले मान्छे उपलब्ध गराएका हुन् ।

दुबई र लिबिया बस्ने अरू एजेन्ट पनि सक्रिय छन् । यो टोलीबाट उनीहरूले झन्डै ७० लाख रुपैयाँ उठाएका थिए । एजेन्टलाई २ लाख ८० हजारदेखि बढीमा ५ लाख १८ हजार रुपैयाँसम्म दिइएको छ । पीडितले एजेन्टविरुद्ध महानगरीय अपराध महाशाखामा उजुरी दिएका छन् ।

अधिकांशले सयकडा ५ रुपैयाँको ब्याजमा ऋण लिएका थिए । ‘आफ्नो देश आइपुगियो, रित्तो हात अब कसरी घर फिर्ने ?’ रौतहटका जयरामले भने, ‘घरमा पुग्नेबित्तिकै साहु आइपुग्छ । घर पनि जाऊँ कि नजाऊँ भइरहेको छ ।’

प्रकाशित : जेष्ठ ११, २०७६ ०८:१८
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

मोदी सरकार गठनमा जुटे

सुरेशराज न्यौपाने

नयाँदिल्ली — भारतको तल्लो सदन लोकसभा निर्वाचनको अन्तिम नतिजा सार्वजनिक भएसँगै नयाँ सरकार गठनको पहल सुरु भएको छ ।

भारतीय लोकसभा चुनावमा जित हासिल गरेपछि तेलंगना राज्यमा शुक्रबार खुसी मनाउँदै भाजपा समर्थक । तस्बिर : एपी

शुक्रबार केही अनौपचारिक छलफल भएपछि सरकारमा जाने अनुहारबारेमा पनि अड्कलबाजी हुन थालेको छ । हालै भएको १७ औं लोकसभा निर्वाचनमा भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए) ले अत्यधिक बहुमत ल्याएको छ ।

अन्तिम मतपरिणामअनुसार एनडीएले ३५० सिट जितेको छ । भाजपा एक्लैको ३०२ सिट छ । विपक्षी गठबन्धनले ८२ सिट जितेको छ । कंग्रेस ५२ सिटमा सीमित भएको छ । भाजपा र एनडीएको ऐतिहासिक जितसँगै नरेन्द्र मोदीले विश्वकै ठूलो लोकतन्त्रको पुनः नेतृत्व गर्नेर् निश्चित छ । उनी शनिबार दलको नेता छनोट हुने जनाइएको छ । नयाँ सरकारको औपचारिक शपथ कार्यक्रम मे ३० का लागि तोकिएको छ ।

ऐतिहासिक जित दिलाउन अहंभूमिकाखेलेका प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ सरकारको फ्रक्रिया सुरु गरेका छन् । मोदीले शुत्रबार साँझ डाकेको मन्त्रिपरिषद्को अन्तिम बैठकले १६ औं लोकसभाको औपचारिक विघटनका लागि राष्ट्रपति रामनाथ कोविन्दसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । त्यसलगत्तै मोदीले राष्ट्रपति कोविन्दलाई भेटेर लोकसभा विघटन सिफारिसको निर्णय पेस गरेका थिए । राष्ट्रपति कोविन्दले मन्त्रिपरिषद्को सिफारिसका आधारमा लोकसभा विघटनको घोषणा गरेसँगै नयाँ सरकार गठबन्धनको बाटो खुल्नेछ ।

सरकार गठनको पहल सुरु भएसँगै मन्त्री परिषद्को स्वरूप र त्यसमा अटाउने सम्भावित अनुहारबारे चर्चा सुरु भएको छ । पार्टी अध्यक्ष अमित शाहलाई गृह, रक्षा र विदेशमध्ये एउटा महत्त्वपूर्ण जिम्मेवारी दिने सम्भावना रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । तर अध्यक्ष शाहले आफू अझै पनि पार्टीकोनेतृत्व सम्हाल्ने इच्छा देखाएको बताइन्छ । ‘उहाँले पार्टी नै हाँक्छु भन्नुभएको छ तर अन्तिम निर्णय मोदीमै निर्भर छ,’ पार्टी निकट स्रोतले कान्तिपुरलाई भन्यो ।

बेरोजगारी, बढ्दो व्यापार घाटा र अमेरिकाको इरानमाथिको नाकाबन्दीजस्ता घटनाले भारतीय अर्थतन्त्रमाथि निरन्तर दबाब बढ्दो छ । त्यसलाई सामना गर्दै अभिमतअनुरूप अर्थतन्त्रलाई तीव्र गति दिने चुनौती अब बन्ने अर्थमन्त्रीको काँधमा हुनेछ । उक्त जिम्मेवारी कसले पाउने भन्नेमा पनि विशेष चासो छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार स्वास्थ्यका कारण देखाउँदै अरुण जेटलीले सरकारमा जान अनिच्छा देखाएपछि अर्थ मन्त्रालयको जिम्मेवारी कसको काँधमा जाने यकिन छैन । यसअघिका रेल तथा कोइलामन्त्री पीयूष गोयल अर्थका लागि दाबेदार ठानिएका छन् । केही समयअघि क्यान्सर रोगको उपचारका लागि जेटली अमेरिका गएका बेला गोयलले नै मोदीका सरकारका तर्फबाट अन्तरिम बजेट पेस गरेका थिए ।

त्यसैगरी, विपक्षी भारतीय राष्ट्रिय कंग्रेस अध्यक्ष राहुल गान्धीलाई उनको पारिवारिक लोकसभा सिटमा पराजित गरेर सनसनी मच्चाएकी स्मृति इरानीले पनि आकर्षक पोर्टफोलियो पाउनेछिन् । अघिल्लो सरकारमा मन्त्री रहेका धर्मेन्द प्रधान, निर्मला सिथारमण, सुरेश प्रभु, राजनाथ सिंहलगायत पनि नयाँ सरकारमा पनि दोहोरिने स्रोतको भनाइ छ ।

बंगालमा वामको पत्तासाफ
पश्चिम बंगालमा ३३ वर्ष एकछक्र शासन गरेका वामशत्तिको १७ औं लोकसभा निर्वाचनमा पत्तासाफ भएको छ । पाँच वर्षअघिको चुनावमा २ सिट मात्र जित्न सफल वामशक्तिहरूले यसपटक राज्यको ४२ लोकसभा सिटमा वाम उम्मेदारले सबैमा लज्जास्पद हार व्यहोरेका छन् ।

अवस्था कस्तोसम्म रर्‍यो भने वाम उम्मेदवारमध्ये जादवपुरबाट चुनाव लडेका भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) विकास रञ्जन भट्टाचार्यले मात्र जमानत जोगाउन सके । हारसँगै भारतकै कम्युनिस्ट पार्टीको अस्तित्वमाथि नै प्रश्न खडा झएको छ ।

बंगालमा वामशक्तिले सन् १९७७ देखि २०११ सम्म करिब ३३ वर्ष निरन्तर शासन गरेका थिए । सुरुवाती वर्षमा गरिब र मजदुर लक्षित समतामूलक कार्यत्रमहरू लागू गरेर लोकप्रिय बनेका वामशक्तिहरू शासनकालको पछिल्लो कालखण्डमा राज्यमा बढ्दो भ्रष्टाचार, सिन्डिकेट, असुरक्षाका कारण अलोकप्रिय बन्न पुगे ।

वामशक्तिप्रतिको बढ्दो अलोकप्रियताको फाइदा उठाउँदै सन् २०११ को विधानसभा चुनावमा ममता बनर्जीको तृणमूल कंग्रेस (टीएमसी) ले २२७ सिट जितेर सत्तामा पुगेको थियो । टीएमसीको उक्त जितसँगै तीन दशकभन्दा बढी पश्चिम बंगालमा शासन गरेको वाममोर्चा सक्ताबाट बाहिरिएको थियो ।

हारसँगै वामशत्ति प्रभाव क्रमशः घट्दै गएको देखिन्छ । राजनीतिक विश्लेषकहरूको भनाइमा ३३ वर्षको शासनका कारण पश्चिम बंगालका मतदातामा वामशक्तिप्रति मोह भंग भएकाले ऊनीहरूको क्रमशः कमजोर बन्दै गएका हुन् । वामशक्ति कमजोर हुने क्रमसँगै त्यसको प्रत्यक्ष लाभ टीएमसीले लिँदै गयो ।

त्यसैको फलस्वरूप टीएमसी सन् २०११ यता लगातार सरकारको नेतृत्व गर्दै आएको छ । तर, यसपटकको लोकसभा निर्वाचन परिणामले आगामी दिन टीएमसीका लागि पनि सहज नहुने देखाएको छ । किनभने पाँच वर्षअघि दुइटा मात्र सिट जितेको भाजपाले यो निर्वाचनमा १८ वटा जितेर टीएमसीलाई कडा टक्कर दिएको छ । सिट मात्र होइन, भाजपाको कुल मत प्रतिशत पनि उल्लेख्य वृद्धि भएको छ ।

अघिल्लो चुनावमा १७ प्रतिशत मात्र मत प्राप्त गरेको भाजपाले यसपटक ४० प्रतिशत मत हासिल गरेको छ । जुन टीएमसीको भन्दा करिब चार प्रतिशतले मात्र कम हो । भाजपाले ऐतिहासिक जित हात पार्नुका पछाडि आक्रमक संगठन विस्तारसँगै उक्त पार्टीप्रति परम्परागत वाम मतदाताहरूको बढ्दो आकर्षणलाई पनि प्रमुख कारण ठानिएको छ ।

राज्यमा टीएमसी र वामशक्तिबीच निकै तीतो सम्बन्ध छ । त्यही कारण परम्परागत रूपमा वाम पार्टीहरूलाई समर्थन गर्दै आएका मतदाताले पनि यसपटक टीएमसीलाई पराजित गर्न सक्ने ठानेर भाजपालाई मत दिएको बुझिन्छ । यो चुनावमा वामशक्तिको लज्जास्पद हार हुनुका पछाडि यही प्रमुख कारण रहेको राजनीतिक विश्लेषकहरूको बुझाइ छ ।

प्रकाशित : जेष्ठ ११, २०७६ ०८:१४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT