धरानमा गोली प्रहार गरी नगद लुटपाट
धरान — धरान उपमहानगरपालिका–४ स्थित साउने सिरान खोरिया बस्तीमा अज्ञात समूहले गोली प्रहार गरी एक वित्तीय संस्थाका कर्मचारीबाट नगद लुटेको छ ।
गोली प्रहारबाट जीवन विकास संस्था लघुवित्तमा कार्यरत मोरङ धनपालथानका २९ वर्षीय शम्भु गच्छदार घाइते भएका छन् । पेट र बायाँ कुइनामा गोली लागेका उनको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उनी खतरामुक्त रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।
मोरङ केराबारी लामिटारबाट पैसा सङ्कलन गरी कार्यालय फर्कने क्रममा दुईवटा मोटरसाइकलमा आएका तीनजनाको समूहले गोली प्रहार गरेको जनाइएको छ । लुटेरा समूहले गच्छदारको साथमा भएको ४ लाख रुपैयाँ लुटेको प्रहरीले जनाएको छ ।
लुट्ने समूहको खोजी भइरहेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपानेले बताए । घटनास्थल भानु चोकदेखि १४ किलोमिटर पूर्वमा पर्छ ।
प्रकाशित : जेष्ठ १२, २०७६ १५:१७