कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

किन भाग्छन् किशोरकिशोरी ?

राजेन्द्र मानन्धर

दोलखा — तीन किशोरी हराएको सूचना पाउनासाथ प्रहरी खोजीमा खटिए । चौबीस घण्टापछि चरिकोटस्थित खोर्थली जंगलमा तिनीहरू सकुशल भेटिए । बयानमा उनीहरूले प्रहरीलाई भने, ‘घरदेखि स्कुलसम्म असुरक्षाका अनगिन्ती समस्या भोगेकाले के गरुँ–गरुँ भएर रातभर जंगलमै बितायौं ।’ जीवन त्याग्नेसम्मका निष्कर्षमा पुगेका तिनीहरूलाई प्रहरीले सम्झाउँदै आफन्तलाई बुझायो ।

किशोरकिशोरी उमेरसम्म पहिलो आश्रय आफ्नो घरपरिवार हो । दोस्रो स्कुल र शिक्षक हुन् । दुवैतिरबाट माया नपाउने र दुर्व्यवहारको भागीदार हुने यो उमेर समूहबाट गम्भीर र अनौठा क्रियाकलाप हुन थालेको छ । प्रहरी तथ्यांकमा यस आर्थिक वर्षमा ३१ किशोरकिशोरीले घर छाडेर भाग्न खोजे ।


प्रहरीको फन्दामा परेपछि उनीहरूमध्ये कतिपयले घर फर्कन इच्छा नदेखाएको पाइयो । कतिपयलाई बाबुआमाले घर फर्काउनसमेत अनिच्छा देखाएको भेटियो । आठ र नौ कक्षामा अध्ययन गर्ने १५ देखि १६ वर्षका तीन किशोरी दोस्रो पटक घरबाट भागेका थिए ।


जिल्ला प्रहरी प्रमुख डीएसपी वासुदेव पाठकले घर, समाज र स्कुलमा माया, हौसला र आड नपाएपछि किशोरकिशोरी उमेर समूह असुरिक्षत हुने क्रम बढेको बताए । त्यसरी नै १० देखि १२ वर्षका तीन जना किशोरी भागेको अर्को दिन फेला परेको उनले बताए ।


घरबाट भागेर रातभर हिंड्ने, अरूको घरमा गएर बास खोज्ने, जे पायो त्यही खाइदिने समस्या किशोर र किशोरीमा बढ्दै गएको प्रहरीले तयार पारेको विवरणमा उल्लेख छ । विवरणमा किशोर १५ जना र किशोरी १३ जनाले त्यस्तो क्रियाकलाप देखाएको पाइएको प्रनाउ पाठकले जनाए ।


घरेलु किचलोका सिकार भएका किशोरकिशोरीमध्ये धेरैले गलत बाटो रोजेको पाइएको छ । बाआमाका झगडाले उनीहरूलाई घरमा हीनताबोध बढेको अनुसन्धानले देखाएको छ । गरिबी र यौन हिंसाले किशोरकिशोरी घर छाड्न बाध्य भएको बयानमा उल्लेख छ ।


हाडनाताभित्रको यौन दुर्व्यवहारले पनि तिनीहरूमा समस्या थपिएको छ । विद्यालयभित्र पनि यौन हिंसा र अपमानका कारण किशोरकिशोरीमा विचलन बढ्दै गएको प्रहरीले सञ्चालन गरेको ‘फायर ब्याक’ सर्भेक्षणले देखाएको छ ।


जिल्लाबाहिर जाने मुख्य नाका खरिढुंगा चेक पोस्टले १० जना किशोरकिशोरीलाई नियन्त्रणमा लिई आफन्तलाई बुझाएका छन् । चोरी गरी भाग्ने किशोरको संख्या पनि बढिरहेको छ । बा–आमा दुवै गुमाएकाहरूले त्यस्तो अपराध गर्ने गरेको प्रहरी रेकर्डमा छ । सबैतिरबाट खुसी छिनिएका १६ वर्षमुनिका दुई जना आफन्तबाटै मारिएका छन् ।


दुई जना जबरजस्ती करणीमा परेका छन् । अपांगताका कारण आफ्नै बाबुबाट मारिनुपरेका घटनालाई प्रहरीले जघन्य अपराधका रूपमा लिएको छ । काका पर्नेबाट १० वर्षका बालकको हत्या भएको प्रहरी प्रतिवेदनमा छ ।

प्रकाशित : जेष्ठ १४, २०७६ ०७:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?