कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बजेट भाषण: यस्तो छ वन तथा वातावरण क्षेत्रका कार्यक्रमहरू

काठमाडौँ — सरकारले मौसम पूर्वानुमान कार्यलाई थप व्यवस्थित र आधुनिक बनाउने भएको छ । मौसम पूर्वानुमानलाई छिटो छरितो बनाउने योजना सरकारले अघि सारेको छ । आधुनिक तथा स्वचालित जल तथा मौसम प्रणाली विकास गरिने सरकारको योजना छ ।

बजेट भाषण: यस्तो छ वन तथा वातावरण क्षेत्रका कार्यक्रमहरू

आर्थिक वर्ष २०७६/७७को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री युवराज खतिवडाले सुर्खेतमा रहेको मौसमी राडारलाई आगामी आर्थिक वर्षबाट पूर्ण रूपमा सञ्चालनमा ल्याइने बताए । सरकारले पाल्पा र उदयपुरमा मौसमी राडार स्थापनाका लागि ६९ करोड बजेट विनियोजन गरेको छ ।


सरकारले आगामी आर्थिक वर्षलाई वृक्षारोपण वर्षको रूपमा मनाउने भएको छ । काष्ठ,गैरकाष्ठ, फलफुल तथा जडीबुटीका बिरुवाहरू रोपेर वृक्षारोपण वर्षको रूपमा मनाइने अर्थमन्त्री खतिवडाले बताए । खाली क्षेत्रमा फलफुल र बिरुवाहरू रोप्न सबै क्षेत्रहरूलाई प्रोत्साहन गर्ने योजना अघि सारिएको छ । जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्रलाई कम्पनीको ढाँचामा लैजाने सरकारको योजना छ । हरेक प्रदेशमा एउटा जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्र स्थापना गरिने मन्त्री खतिवडाले बताए ।


पुराना वनस्पति उद्यानको स्तरोन्नती र नयाँ वनस्पति उद्यान निर्माणका लागि बजेट विनियोजन गरिएको छ । प्रकृतिमा आधारित पर्यटन गन्तव्यको रूपमा संरक्षित क्षेत्रहरूलाई विकास गर्ने सरकारको योजना छ ।

मावनवन्यजन्तु द्वन्द्व न्यूनिकरणका लागि सरकारले मध्यवर्ती क्षेत्रमा सुरक्षाको प्रत्याभूति दिलाउनका लागि सुरक्षा चेक पोस्टको स्थापना गर्ने भएको छ । दुर्लभ तथा लोपन्मुख वन्यजन्तुहरू सम्बन्धी कार्य योजना निर्माण गरी गणना गरिने सरकारको योजना छ । आगामी आर्थिक वर्षमा वन्यजन्तु पाल्नका लागि नमुना अभ्यास गरिने अर्थमन्त्री खतिवडाले बताए ।


ताल तलैयाको विकास र गुरुयोजना बनाइने र राष्ट्रपति चुरे कार्यक्रमको संरचनात्मक सुधार गर्ने सरकारको तयारी छ । चुरे कार्यत्रमका लागि सरकारले १ अर्ब ७४ करोड बजेट विनियोजन गरेको छ । चुरे र भावर क्षेत्रमा ११६ वटा पोखरी निर्माण लागि बजेट विनियोजन गरिएको छ ।


प्रदूषण नियन्त्रणका लागि सरकार गम्भीर भएको उल्लेख अर्थमन्त्री खतिवडाले प्रदूषण नियन्त्रणका लागि वातावरणीय मापदण्डहरूको परिमार्जन र नयाँ मापदण्ड निर्माण गरिने सरकारको योजना सुनाए । तीन वटै तहरुमा जलवायु परिर्वतन र अनुकूलन सम्बन्धीका कार्यक्रमहरू सञ्चालन गरिने अर्थमन्त्री खतिवडाले बताए ।


वन तथा वातावरण क्षेत्रमा सरकारले आगामी आर्थिक वर्षमा १५ अर्ब ४९ करोड बजेट विनियोजन गरेको छ ।

प्रकाशित : जेष्ठ १५, २०७६ १७:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?