२ आयोजनाको सडक एउटै 

भूषण यादव

वीरगन्ज — वीरगन्ज-कलैया हुलाकी सडकसँगै जोडिएको फेटा गाउँपालिकाको भलुही चोकदेखि भरवलिया र विनवलिया हुँदै शिव मन्दिरसम्मको बाटोमा माटो तथा ग्राभेलसहित कालोपत्रेका लागि तराई मधेस समृद्धि कार्यक्रमले चालु आर्थिक वर्षमा ५० लाख रुपैयाँ छुट्याएको छ । 

सोही सडक खण्डको बीच भागमा पर्ने करिब एक किलोमिटर मनगढवादेखि विनवलियामा बारा क्षेत्र नम्बर ४ का सांसद एकवाल मियाँको स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमबाट १५ लाख रुपैयाँ बराबरको उपभोक्ता समितिमार्फत माटो पुरेर ग्राभेल भर्ने काम भएको छ ।

तराई मधेस समृद्धि कार्यक्रम केन्द्रीय समन्वय एकाइले स्थानीय तहबाट माग भएबमोजिमका कार्यक्रम गत मंसिर २५ मा स्वीकृत गरी कार्यान्वयनका लागि पत्राचार गरेको थियो ।

फेटा गाउँपालिकाले फागुन २० मा उक्त सडक खण्ड माटो तथा ग्राभेलसहित कालोपत्रेका लागि बोलपत्र आह्वान गरेको थियो । बाराको अशोक कन्स्ट्रक्सनले २८ लाख रुपैयाँमा ठेक्का सकार गरेको छ ।

एउटै सडक खण्डमा दुईवटा आयोजनाले बजेट खर्चिंदा अनियमितता हुने स्थानीयले आरोप लगाएका छन् । उपभोक्ता समिति अध्यक्ष किशोरी राउत आफ्नो योजना पहिले बनेको दाबी गर्छन् । ‘माटो पुरेर ग्राभेल गर्ने काम सम्पन्न भएको छ,’ उनले भने, ‘अब सम्याउन मात्र बाँकी छ, तराई मधेस समृद्धिले स्वीकृत गर्नुभन्दा अगाडि नै हाम्रो योजना बनेको थियो ।’

उपभोक्ता समितिले ग्राभेल हालेको वडाध्यक्ष जयप्रकाश दासले चालु आर्थिक वर्षमा तराई मधेस समृद्धि कार्यक्रमले छुट्याएको रकमबाट यहाँसम्मको सडक निर्माण गर्न नसकिने भएकाले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमले १५ लाख रुपैयाँ खर्चेको बताए । जबकि गत वैशाख २६ मा गाउँ कार्यपालिकाले अपुग रकमका लागि तराई मधेस समृद्धि कार्यक्रमबाट माग गर्ने गरेको निर्णयमा वडाध्यक्ष दासले समेत हस्ताक्षर गरेका छन् ।

‘तराई मधेस समृद्धि कार्यक्रमबाट आगामी आर्थिक वर्षमा आउने बजेटबाट उपभोक्ताले गरेको ग्राभेलमा कालोपत्रे मात्र गर्छौं,’ उनले भने, ‘एउटै आयोजनामा बजेट दोहोरिँदा अनियमितता हुँदैन ।’

वर्षातमा स्थानीयले आवतजावतमा समस्या भौग्दै आएका थिए । गाउँपालिकाले गत मंसिर ७ गते बाटोमा माटो तथा ग्राभेलसहित कालोपत्रेका लागि स्थानीय तहबाट बेहोरिने १० प्रतिशतबाहेक ४ करोड ५० लाख रुपैयाँ माग गरेको थियो । तराई मधेस समृद्धि कार्यक्रमको केन्द्रीय एकाइले उक्त कार्यक्रम स्वीकृत गरी पहिलो आवमा ५० लाख रुपैयाँ विनियोजन गरेको थियो ।


रकम अपुग भएपछि गत वैशाख २६ मा फेटा गाउँपालिकाको गाउँ कार्यपालिकाले तराई मधेस समृद्धि कार्यक्रमको केन्द्रीय समन्वय एकाइबाट आगामी आर्थिक वर्षका लागि गाउँपालिकाबाट १० प्रतिशत रकम सुनिश्चित गरी सोही सडक खण्डका लागि ५ करोड रुपैयाँ माग गर्ने निर्णय गरेको छ ।

तराई मधेस समृद्धि कार्यक्रम सञ्चालन कार्यविधि ०७५ अनुसार चालु आव ०७५/७६ का लागि तराई मधेस समृद्धि कार्यक्रम केन्द्रीय समन्वय एकाइबाट तराई मधेसका २१ जिल्लाका सबै स्थानीय तहमा आयोजना सञ्चालनमा रहेका छन् । तराई मधेसका आर्थिक, सामाजिक रूपले पछाडि परेका वर्ग र समुदायको आर्थिक, सामाजिक रूपान्तरणका लागि कार्यक्रम सञ्चालनमा आएको हो ।

प्रकाशित : जेष्ठ २२, २०७६ ०९:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनबारे संसदीय छानबिन समिति गठन गर्ने/नगर्ने विवादले प्रतिनिधि सभा फेरि अवरुद्ध भएको छ । संसद् चलाउन के गर्नुपर्ला ?