२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७८

बाँदरमुढे घटनाको १४ वर्ष : अधुरै रह्यो सहमति

रमेशकुमार पौडेल

चितवन — तत्कालीन विद्रोही माओवादीले यात्रुले खचाखच बसलाई ताकेर गरेको बम विस्फोटमा परी ३८ जनाको घटनास्थलमै ज्यान गएको बिहीबार १४ वर्ष पुग्दै छ । घटनापछि न्याय नपाएको पीडितले गुनासो गरेको गर्‍यै छन् । सशस्त्र द्वन्द्वका नेतृत्वकर्ता पुष्पकमल दाहालले गत संसदीय चुनावका बेलामा घटनापीडितसँग गरेका तीनबुँदे लिखित सहमति पनि अलपत्र छ । 

चितवनको निर्वाचन क्षेत्र नम्बर ३ मा पर्छ बाँदरमुढे । दाहाल सोही क्षेत्रबाट निर्वाचित सांसद हुन् । संसदीय निर्वाचनको अन्तिम चुनावी सभा माडीमा आयोजना हुँदा दाहालले ०७४ मंसिर १७ गते पीडितसँग लिखित सहमति गरेका थिए । सहमतिमा मृतकमा आश्रित परिवारका लागि काम गर्न सक्नेलाई रोजगार तथा स्वरोजगार, नसक्नेलाई जीवनवृत्ति र बालबालिका पढाउने उल्लेख थियो ।

घाइतेको अवस्था हेरी औषधोपचारको व्यवस्था, काम गर्न सक्नेलाई रोजगारी र नसक्नेलाई जीवनवृत्ति उपलब्ध गराउने सहमतिको प्रतिबद्धता थियो । घटनामा ज्यान गुमाएकाहरूको सम्झनामा बाँदरमुढे क्षेत्रमा १० बिघा जमिनमा स्मारक, ऐतिहासिक नमुना संग्रहालय र चिडियाघर निर्माण गरेर माडीकै प्रमुख पर्यटकीय स्थल बनाउने पनि भनिएको थियो ।


घटना भएको माडी बाँदरमुढे खोलामा पीडितले बनाएको सानो स्मारकको रङ खुइलिँदै गएको छ । काँसले स्मारकलाई छोप्न थालेको छ । घटनास्थलदेखि करिब २० किलोमिटर पूर्वदक्षिणमा छ, तिलबहादुर चेपाङ राजुको घर । माडी ठोरी हुलाकी सडकदेखि भित्र दक्षिणतर्फ चार किलोमिटर पैदल हिँडेपछि सानो खोलो आउँछ । त्यो खोलो तरेपछि आउने जंगल आडैको खोँचमा छ उनको घर ।


उनकी आमा पदमकुमारी चेपाङको घर पनि आडैमा छ । त्योबाहेक नजिकै एउटा घर छ । अरू घर परपर छन् । जंगल आडको ऐलानी जग्गामा उनीहरू दशकौंअघि आएर बसेका हुन् । पल्लो गाउँको एक जना व्यक्तिले राजुलाई राहदानी बनाए अरब पठाइदिने आशा देखाए तर नागरिकता पनि बनेको थिएन । बहिनी मीना चेपाङका हातमा खिल गडेको थियो । आफ्नो नगारिकता बनाउन, बहिनीको उपचार गर्न उनी भरतपुर जान निस्किए ।


दाजुबहिनीसँगै बाबु सुनबहादुर चेपाङ पनि भरतपुर जान लागे । ज्वाइँ रवीन्द्र चौधरी पनि उनीहरूसँगै मिसिए । २०६२ साल जेठ २३ गते सोमबारको त्यो बिहान उनीहरू चढेको बस खचाखच भरिएको थियो । त्यही बस बाँदरमुढेमा विस्फोटको सिकार भयो ।

बसभित्र बसेका राजुका बाबु सुनबहादुर, बहिनी मीना र ज्वाइँ रवीन्द्रको घटनास्थलमै ज्यान गयो । राजु बसको छतमा थिए ।


विस्फोटपछि उछिट्टिएर उनी भुइँमा बजारिए । राजु घाइते मात्रै भए तर परिवारका तीन जना गुमे । नेता दाहालसँग सहमति भएको भन्ने सुने पनि आफूहरूले केही नपाएको राजुको भनाइ छ । ‘बाँदरमुढे घटनापछि पासपोर्ट बनाएर म मलेसिया गएँ । सोमबार बस विस्फोटमा परेको थियो । आइतबार आएपछि म त जहिल्यै बिरामी हुने । कहिलेकाहीँ हप्ता दिनसम्म बिरामी हुने भएपछि फर्केर आएँ,’ उनले भने ।


पहिला नथाकी एक घण्टा कोदालो चलाउने राजु अहिले पाँच मिनेट खनेपछि कामै गर्न सक्दैनन् । ‘चोट देखिँदैन । त्यसैले घाइते भनेर कसैले पत्याउँदैनन् तर न सिधा हिँड्न सकिन्छ, न काम गर्नै,’ उनले भने । दाहालसँग भएको सहमतिअनुसार काम गर्न नसके जीवनवृत्ति र काम गर्न चाहे रोजगार वा स्वरोजगारको अवसर पाउनुपर्ने हो । उनी पनि सहयोग भए कुखुरा पाल्न वा पसल चलाउन चाहन्छन् ।


दाहालसँगको सहमति कार्यान्वयन गराउन नगरपालिकाले समन्वय गर्नुपर्छ । सहमति कार्यान्वयन हुने र पीडितलाई केही रकम उपलब्ध गराउने माडी नगरपालिकाका मेयर ठाकुरप्रसाद ढकालको भनाइ छ । ‘सानो पसल राख्न सकून् वा बाख्रा–कुखुरा पाल्न सहयोग होस् भनेर यो वर्ष नगरपालिकाले प्रतिपरिवार एक लाख रुपैयाँ सहयोग गर्न २५ लाख छुट्याएको छ,’ उनले भने । त्यो रकमका लागि ६० परिवारले निवेदन दिएका थिए ।


‘त्यसमध्ये २५ परिवार छनोट गरेर हामीले एकदुई दिनभित्रै रकम दिँदै छौं,’ ढकालले भने । बाँदरमुढे घटना पीडितका परिवारका बालबालिकालाई पढाइमा सघाउन माडीभरका स्कुललाई भनेको र तीन वटा विद्यालयले १० जना बालबालिकालाई सहयोग गरेका छन् ।


विस्फोटमा परेर ३८ जनाको घटनास्थलमै ज्यान गएको थियो भने ७२ जना घाइते भएका थिए । त्यसैले उनीहरूमा आश्रित व्यक्ति र बालबालिका सयौं छन् । तत्कालीन माओवादीले यो घटनालाई सशस्त्र संघर्षका क्रममा पार्टीबाट भएको सबैभन्दा ठूलो गल्ती मान्ने गरेको छ । ‘तर पीडितले न न्याय पाए, न माओवादीले नै दिने भनेको राहत पाए,’ बाँदरमुढे घटना पीडित समितिका उपाध्यक्ष कृष्णप्रसाद अधिकारीले भने ।


स्मारक बनाउने सम्बन्धमा काम अघि बढेको ढकाल बताउँछन् । ‘बाँदरमुढेमा स्मारक बनाउन विस्तृत परियोजना रिपोर्ट (डीपीआर) तयार भएको छ । यसअनुसार स्मारक र चिडियाघर बनाउन १० करोड रुपैयाँ आवश्यक पर्दो रहेछ । आउँदो वर्ष बजेटको व्यवस्था भएर काम सुरु होला,’ उनले भने ।

प्रकाशित : जेष्ठ २३, २०७६ ०८:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?