कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

डेंगु संक्रमित बढेको बढ्यै, २६ दिनमा ३१४ जना संक्रमित

घर गए पूर्वाञ्चल इन्जिनियरिङका विद्यार्थी
प्रदीप मेन्याङ्बो

(सुनसरी) — डेंगु महामारी फैलिएपछि एडिज एजिप्टाइ र एडिज एल्बो पिकस जातिको मच्छरको अण्डा, लार्भा र प्युपा नष्ट गर्न व्यापक रूपमा सर्च एन्ड डेस्ट्रोय अभियान जारी राखे पनि संक्रमितको संख्या दिनदिनै बढेको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आइतबार साँझ पाँच बजेसम्म उपचार गर्न पुगेकामध्ये ३ सय १४ जनामा संक्रमण पोजेटिभ देखिएको छ ।

डेंगु संक्रमित बढेको बढ्यै, २६ दिनमा ३१४ जना संक्रमित

प्रतिष्ठानमा अस्पताल सहायक निर्देशक डा. विकास साहले भने, 'पछिल्लो तीन दिनमा मात्र १०२ जना संक्रमित उपचारका लागि आएका छन् । उनीहरू सबै धरानका हुन् ।'


अत्यधिक ज्वरो आएपछि उपचारका लागि आएका १ हजार १९ जनामध्ये १ सय १४ जनामा डेंगु भाइरल भेटिएको हो । उनका अनुसार तीमध्ये २५ जना आइतबार आकस्मिक कक्षमा आएका नयाँ संक्रमित हुन् । चिकित्सकले धरानमा फैलिएको डेंगु टाइप टु भएको र एडिस एजिप्टाइ तथा एडिज एल्बो पिकस जातिको लामखुट्टेको टोकाइबाट संक्रमण फैलिएको बताएका छन् ।


यसैबीच धरानस्थित पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसमा ६० बढी विद्यार्थी डेंगु संक्रमित भएकाले क्याम्पस प्रशासनले पाँच दिन बिदा गरेको छ । क्याम्पस प्रमुख ओमप्रकाश ढकालले भने, 'धरान-१५ र ८ मा सबैभन्दा बढी संक्रमित देखिएका छन् । हाम्रो क्याम्पस धरान- ८ मा पर्ने भए पनि यी दुई वडाको बीचमा पर्छ । विद्यार्थी पनि वडा १५ र वडा ८ कै घरमा कोठा भाडामा लिएर बस्ने गरेकाले विद्यार्थी नै बढी संक्रमित छन् ।' उपमहानगरपालिकाले पनि यी दुवै वडालाई पाँच दिनअघि नै स्वास्थ्य संकटग्रस्त क्षेत्र घोषणा गरिसकेको छ ।


डेंगुको महामारी फैलिएपछि क्याम्पसका सिभिल इन्जिनियरिङ, मेकानिकल इन्जिनियरिङ, इलेक्टि्रकल इन्जिनियरिङ, कृषि इन्जिनियरिङ, कम्प्युटर इन्जिनियरिङमा अध्ययनरत विद्यार्थीले कक्षा छाडेर घर जानेक्रम बढेको छ । 'क्याम्पस आसपासमा डेंगु नियन्त्रण गर्न १९ सदस्यीय समिति पनि गठन गरिएको छ,' उनले भने ।


धरान उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख तथा डेंगु नियन्त्रणका लागि बनेको र्‍यापिड रेस्पोन्स टिमका सदस्य रामबाबु यादवले धरानमा सर्च एन्ड डेस्ट्रोय अभियानलाई प्रभावकारी बनाउन थप १० वटा टोली गठन गरेको बताए । आइतबारदेखि नै धरानका विभिन्न शैक्षिक संस्थामा सचेतना अभियान चलाउन सुरु गरिएको छ ।


उनले भने, 'प्रत्येक टोलीमा बीपी कोइराला स्वस्थ्य विज्ञान प्रतिष्ठानका इन्टर्न चिकित्सक र चिकित्साशास्त्र अध्ययनरत एमबीबीएसका विद्यार्थी २ जना रहने गरी टोली गठन गरिएको छ । त्यो टोलीले स्थानीय समुदायसँग समन्वय गरेर डेंगुका अण्डा, लार्भा र प्युपा नष्ट गर्ने अभियान चलाउनेछ ।'

प्रकाशित : जेष्ठ २६, २०७६ २१:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?