कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

बर्सेनि पहिरोको पिरलो

आनन्द गौतम

ताप्लेजुङ — चार वर्षअघिको कुरा हो, पहिरोमा परी मिक्वाखोलाको लिवाङ, खोक्लिङ र मेरिङदेन गाउँपालिकामा २९ जनाले ज्यान गुमाए । २० जना बेपत्ता भए । त्यो पहिरोलाई थिङलावु, लिङतेप, खाम्लुङ र सान्थाक्राका बासिन्दाले अहिलेसम्म भुलेका छैनन् । बेपत्ताहरूको समेत अत्तोपत्तो छैन । 

बेपत्ता सबै पहिरोमा पुरिएको र नभेटिने निष्कर्षमा पुगेपछि स्थानीय प्रशासनको सिफारिसमा गृह मन्त्रालयले उनीहरूका परिवारलाई पनि मृतकका परिवारले पाउनेसरहको सुविधा दियो । किरिया खर्च र राहत रकम उपलब्ध गरायो । पहिरोको जोखिमबाट भने जिल्लाले अहिलेसम्म मुक्ति पाएको छैन ।


ताप्लेजुङ, पाँचथर, तेह्रथुम, संखुवासभा जस्ता हिमाली तथा पहाडी जिल्ला पहिरोको उच्च जोखिममा छन् । जलवायु परिवर्तनको असर र मानवीय गतिविधिका कारण जोखिम बढदो छ । जथाभावी सडक निर्माण र विस्तारका कारण जोखिम झन् थपिँदै गएको मैवाखोला गाउँपाालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश अधिकारी बताउँछन् ।


विकासका नाममा गाउँमा विनाश भित्रने गरेको सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रीय सदस्य कृष्ण ओझाको तर्क छ । जलवायु परिवर्तनका कारण समय समयमा खण्डवृष्टि हुँदा यसको जोखिम अझ बढी रहेको उनको भनाइ छ ।


‘एउटै वडामा पनि एक ठाउँमा पानी पर्छ, नजिकैको अर्को ठाउँमा परेको हुँदैन,’ उनले भने, ‘लेकमा परेको पानी र भलबाढी औलमा पुग्दा त्यहाँका मान्छेले थाहै नपाई क्षति हुने अवस्था हुन्छ ।’


महाभारत पर्वतले बनेको भूभागको जमिन कटान भई भूक्षय हुने गरेको छ । महाभारत पर्वतबाट बग्ने ठाडा खोला, पर्ती जमिनलाई खेतीयोग्य बनाउनु र भस्मे फँडानीका कारण पनि पहिरोको जोखिम बढेको सरोकारवालाको भनाइ छ । सर्वसाधारणले खोला, धाराको पानी कटाएर कमसल माटो भएको जमिन र पहिरोमा लगाइदिने गर्दा पनि पहिरोको जोखिम बढेको मोती मावि खोक्लिङका प्रधानाध्यापक विश्व लिम्बूले बताए ।


जेठदेखि असोज पहिलो सातासम्म हुने वर्षाले ताप्लेजुङमा प्रत्येक वर्ष जनधनको क्षति निम्त्याउँदै आएको छ । १९८२ सालदेखि वर्षैपिच्छेजसो पहिरो गइरहन्छ । यसले ठूलै मानवीय क्षति पुर्‍याएको छ ।

फुङलिङ नगरपालिका ९ हाङदेवाको हिरेवा, चिनेवा र फुरुम्बु, पाथीभरा, याङवरक १ नाङखोल्याङको खोक्से, थुम्बेदिन, फक्तालुङ गाउँपालिकाको लिङखिम र थिवा पहिरो जाने चर्चित क्षेत्र हुन् । सिरिजंघा १ सिनाम, याम्फुदिन, आङ्खोप आठराई, त्रिवेणीको निघुरादिन र फूलबारीको पहिरो तथा मिक्वाखोलाको लिवाङ, खोक्लिङको पहिरोलाई मानवीय क्षति पुर्‍याउने ठूलो पहिरोका रूपमा लिइन्छ । तर यो ठाउँ सुरक्षित र यो असुरक्षित भन्ने अवस्थामा कुनै पनि गाउँपालिका नरहेको जिल्ला रेडक्रसका सभापति इन्द्र गुरुङ बताउँछन् ।


नदी थुनिएला भन्ने डर

नेपाल र चीनको सिमाना फक्ताङलुङ गाउँपालिका ७ ओलाङचुङगोलाबाट सुरु भएको तमोर नदी सप्तकोसीमा पुगेर टुंगिन्छ । घुन्सा, काबेली, मेवा र मैवा जस्ता ठूला खोला पनि यही नदीमा मिसिन्छन् । तर यी नदी तथा खोला सबैभन्दा ठूलो संकट निम्त्याउने साधन बन्ने जोखिम पनि छ । यसको सबैभन्दा बढी जोखिम नदी आसपासका बासिन्दालाई छ ।


यसअघि तमोर, मित्लुङ र मैवाखोला एकएक पटक थुनिइसकेका छन् । लामो समयसम्म थुनिन नपाएको र खोलो आफैँ खुलेपछि त्यसले मानवीय क्षति भने भएन । जिल्लाको पूर्वमा याम्फुदिन बजारदेखि पाँचथरको काबेलीसम्मका बजार नदी किनारसँगै मिलेर बनेका छन् ।


उत्तरमा ओलाङचुङगोलाको बस्तीदेखि दोभान हुँदै धनकुटाको लेगुवाघाटसम्मै नदी किनारमा बस्ती छन् । घुन्सा, फले, संग्रान्ती जस्ता बजार पनि खोला किनारमै छन् । सूचनाको पूर्ण पहुँचमा नरहेको र लेकाली क्षेत्रमा पातलो बस्ती भएका कारण माथिल्लो भेगमा खोलो थुनिएको जानकारी तल्लो क्षेत्रका बासिन्दालाई गराउन कठिन छ ।


हिमाली क्षेत्रका ओलाङचुङगोला र घुन्सामा रहेको प्रहरी चौकीमा नियमित चल्ने सञ्चार उपकरणसमेत छैनन् । हिमाली क्षेत्रका कतिपय स्थानमा पहिरो गइरहने कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषदका अध्यक्ष खगेन्द्र फेम्बू बताउँछन् ।

प्रकाशित : जेष्ठ २८, २०७६ ०७:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?