कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

पाहुनालाई दुई किलो स्याउ

राजबहादुर शाही

मुगु — छायानाथ नगरपालिकाको वामगाउँ घुम्न जाँदा जोकोहीले दुई किलो स्याउ निःशुल्क पाउने भएका छन् । स्याउबारीमा गएर आफैँ स्याउ टिप्नसमेत पाइनेछ ।

स्याउ खेती प्रवर्द्धन गर्दै पर्यटकीय आकर्षण बढाउन वडा कार्यालयले स्याउ उपहार दिने निर्णय गरेको हो । ‘यहाँ उत्पादन हुने स्याउ बढी गुणस्तरीय भएकाले देशभर प्रचारप्रसार गर्न खोजेका छौँ,’ वडा नम्बर १२ का अध्यक्ष नन्दलाल बडुवालले भने, ‘पाहुनाप्रति आत्मीयता देखाउन पनि स्याउ उपहार दिन्छौँ ।’ वडा कार्यालयको यो निर्णय यसै वर्षबाट लागू हुनेछ ।


वाम छायानाथ रारा नगरपालिकामा सबैभन्दा बढी स्याउ उत्पादन हुने गाउँ हो । रारा घुम्न आएका पर्यटक वामगाउँ पुग्ने गरेका छन् । समुद्र सतहदेखि करिब २६ सय मिटर उचाइमा रहेको वाम, फोइपाटा, दर्ख्यालाबाडा, डाँडागाउँलगायत बस्तीका स्याउ रसिलो हुने स्थानीयको भनाइ छ ।


यी गाउँमा भदौदेखि चैतसम्म स्याउ पाइन्छ । स्थानीयका अनुसार वामगाउँमा एक किलो स्याउको मूल्य ३० रुपैयाँ छ । भदौदेखि गाउँमा आउने पाहुनालाई स्याउबारीमा घुमाउनेसमेत स्थानीयको योजना छ ।


स्थानीय जौला बडुवालका अनुसार कात्तिक/मंसिरमा बारीको स्याउ टिपेर भण्डार गर्ने र अनुकूल समय मिलाएर चैतसम्म बिक्री गर्ने गरिएको छ ।


वडा कार्यालयले पर्यटकीय गतिविधि बढाउन परम्परागत शैलीमा निर्माण भएका घरलाई यथावत् राखी थप व्यवस्थित बनाउन पनि पहल सुरु गरेको जनाएको छ । जिल्ला सदरमुकाम गमगढीबाट पैदल तीन घण्टामा वामगाउँ पुगिन्छ ।


गमगढीदेखि वाम हुँदै चंखेली–हुम्ला दार्मसम्म सडक निर्माण भएपछि स्याउले बजार पाउन थालेको स्थानीयले बताए । गाउँमा सडक सञ्जाल जोडिएपछि वडा कार्यालयले एक घर एक स्याउ बगैँचा अभियान पनि सुरु गरेको छ । गत वर्ष वडा कार्यालयले २ हजार ८ सय स्याउको बोट किसानलाई वितरण गरेको थियो । बाँझो जमिनमा घेरबारा गर्दै स्याउ रोप्ने अभियानमा यहाँका किसान लागेका छन् । गाउँमा सडक सञ्जाल जोडिएपछि वडा कार्यालयले एक घर एक स्याउ बगैँचा अभियान पनि सुरु गरेको हो ।


गत वर्ष वडा कार्यालयले २ हजार ८ सय स्याउको बोट किसानलाई वितरण गरेको थियो । बाँझो जमिनमा घेरबारा गर्दै स्याउ रोप्ने अभियानमा यहाँका किसान लागेका छन् ।


वाम क्षेत्रमा करिब १२ सय मेट्रिक टन बढी स्याउ उत्पादन हुने छायानाथ रारा नगरपालिकाका कृषि शाखा अधिकृत केबी रोकायाले बताए । वामगाउँको स्वादिलो र अर्गानिक स्याउको प्रवर्द्धन जरुरी रहेको उनले बताए । गाउँमा ३ सय ३८ घरधुरी छन् । एक परिवारले स्याउ बिक्री गरी सिजनमा कम्तीमा ४० हजार रुपैयाँ कमाउने गरेको रोकायाले जानकारी दिए । स्थानीयले स्याउको चाना र वाइनसमेत बनाउने गरेका छन् ।

प्रकाशित : जेष्ठ २८, २०७६ ०७:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?